उपत्यका बाहिर साओमीका स्मार्टफोन वितरण गर्ने टेली डारेक्टको व्यापार बढेर ५.६१ अर्ब
साउन २५, २०८२ १८:३२
काठमाडौँ । काठमाडौँ उपत्यका बाहिरका लागि साओमीको स्मार्टफोन तथा एक्सेसरिजको आधिकारिक वितरक टेली डाइरेक्ट प्रालि (टीडीपीएल) को व्यापार २७ प्रतिशतले बढेको छ । हेलिओ चिपसेटमा आधारिक साओमी स्मार्टफोनको बिक्री बढ्दा कम्पनीको व्यापार पनि वृद्धि भएको हो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालकाअनुसार टेली डाइरेक्टले सन् २०२४/२५ मा ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार गरेको छ । त्यसअघि २०२३/२४ मा ४ अर्ब ४३ करोड र २०२२/२३ मा ६ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो ।
टीडीपीएल सन् २०१० देखि नेपालको स्मार्टफोन डिस्ट्रिब्यूटरशिप व्यापारमा छ । त्यतिबेला कम्पनीले नोकिया र कलर्स ब्रान्डको डिस्ट्रिब्युटरको रूपमा काम गरेको थियो । सन् २०१९ मा टीडीपीएलले चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीसँग डिस्ट्रिब्यूटरशिपको सम्झौता गरेपछि भने नोकिया र कलर्सलाई व्यापारिक घराना रमेश कर्पले फरक कम्पनीमार्फत बेच्न थाल्यो ।
कलर्स ब्रान्ड अहिले अस्तित्वमा छैन । रमेश कर्पको इन हाउस (Original Equipment Manufacturer) (ओईएम) ब्रान्ड थियो कलर्स । अर्थात् आफैँले उत्पादन गर्ने मोबाइल फोन । रमेश कर्पको लगानी रहेको टेली डाइरेक्ट सेप्टेम्बर २०१८ देखि नेपालमा साओमी स्मार्टफोन र एक्सेसरिजको आधिकारिक वितरक (Non-Exclusive) बनेको हो ।
टीडीपीएल र साओमीबिच नन्-एक्सक्लुसिभ एन्ड शर्ट-टर्म सम्झौता भएको छ । यसको मतलब टीडीपीएल र साओमीबिच भएको सम्झौता वार्षिक रूपमा नवीकरण हुनुपर्छ । टीडीपीएल नेपालमा साओमीका उत्पादन बिक्री गर्न पाउने दुई आधिकारिक वितरक मध्येको एक हो ।
अर्को व्यापारिक घराना शारडा ग्रुपको वत्सल इम्पेक्स प्रालि काठमाडौँ उपत्यकामा साओमीका स्मार्टफोन बिक्री गराउने आधिकारिक वितरक हो । यसका १४ ओटा डिलर र एक सयभन्दा बढी रिटेलर सञ्चालनमा छन् ।
टेली डाइरेक्टलाई काठमाडौँ उपत्यका बाहिर मात्रै साओमीका उत्पादन बिक्री गर्न पाउने अधिकार छ । रेटिङ प्रतिवेदनअनुसार सन् २०२४/२५ मा नेपालमा साओमी स्मार्टफोनको कूल बजार हिस्सा २८ प्रतिशत छ । साओमीसँग देशभर ३२ डिलर छन् भने प्रमुख सहरहरूमा १३ सय भन्दा बढी आउटलेट सञ्चालनमा छन् ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १८:३२
