साओमी वाच एस-५ सार्वजनिक, एमोलेड डिस्प्लेसहित २१ दिनसम्म टिक्ने ब्याट्री !
जेठ १५, २०८३ १४:३७
काठमाडौँ । साओमीको नयाँ स्मार्ट वाच एस-५ ४६-एमएम सार्वजनिक भएको छ । हाइपर-ओएस ३ मा चल्ने यो आकर्षक डिजाइनको घडी शक्तिशाली ब्याट्री र एड्भान्स फिटनेस फिचरसहित विश्व बजारमा आएको हो ।
यो घडीमा १.४८ इन्चको एमोलेड डिस्प्ले छ । जसको रिजोल्युसन ४८०x४८० पिक्सेल र उच्चतम् ब्राइटनेस २५०० निट्स रहेको छ । यसको बेजल्स अघिल्लो संस्करणको तुलनामा ४० प्रतिशतले घटाएर २.६ एमएम बनाइएको छ ।
३१६-एल स्टेनलेस स्टिल फ्रेम र स्टेनलेस स्टिल क्राउन रहेको यो घडीको तौल जम्मा ४६ ग्राम र मोटाइ १०.९९ एमएम छ । पानीका थोपाहरूले स्क्रिनमा अनावश्यक टच हुन नदिने यसमा वेट-टच प्रोटेक्सन प्रविधि पनि समावेश गरिएको छ ।
यो स्मार्टवाचमा ८१५ एमएएचको ब्याट्री राखिएको छ । जुन हलुका प्रयोगमा २१ दिनसम्म, सामान्य प्रयोगमा १४ दिन र अलवेज-अन डिस्प्ले अन गर्दा ९ दिनसम्म टिक्छ ।
यसले १५० भन्दा बढी स्पोर्ट्स मोडहरू सपोर्ट गर्छ । आउटडोर एक्टिभिटीका लागि यसमा डुअल-ब्यान्ड फाइभ-सिस्टम GNSS चिप राखिएको छ । जसले अफलाइन म्याप, रुट नेभिगेसन र ब्याकट्र्याकिङ (पुरानै बाटो फिर्ता आउने) सुविधा दिन्छ ।
यसमा प्यासन मोड पनि छ । जसले खेलकुद प्रतियोगिताहरू हेर्दा ताली बजाएको वा हात हल्लाएको आधारमा क्यालोरी गणना गर्छ । स्किइङ मोडमा फल डिटेक्सन फिचर छ । जसले प्रयोगकर्ता लडेको ६० सेकेन्डसम्म कुनै प्रतिक्रिया नदिएमा स्वतः आपत्कालीन सम्पर्कमा कल गर्छ ।
नयाँ फोर-एलईडी र फोर-पीडी सेन्सरका कारण यसमा मुटुको धड्कन मापन ९८.४ प्रतिशत शुद्ध रहेको दाबी गरिएको छ । रगतमा अक्सिजनको मात्रा, तनाव र निद्राको अनुगमनका लागि एड्भान्स एल्गोरिदम प्रयोग गरिएको छ ।
साओमी वाच एस-५ ब्ल्याक, सिल्भर, जङ्गल ग्रिन र सेरामिक ब्लु रङमा उपलब्ध छ । ब्ल्याक र सिल्भर मोडेलको मूल्य १७९.९९ युरो (करिब ३२ हजार रुपैयाँ) तोकिएको छ भने विशेष स्ट्र्याप भएका ग्रिन र ब्लु मोडेलको मूल्य १९९.९९ युरो (करिब ३५ हजार ५०० रुपैयाँ) रहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १४:३७
