हेटौँडा, दमौली र बिर्तामोडमा सञ्चालनमा आए साओमीका ३ नयाँ आधिकारिक सर्भिस सेन्टर
मंसिर २९, २०८२ १९:२१
काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । क्रमशः २६, २७ र २९ मङ्सिरमा यी सर्भिस सेन्टर सञ्चालनमा ल्याइएका हुन् ।
साओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वसनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित नयाँ सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ । जसमार्फत साओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) लगायतका उपकरणहरूको मर्मत तथा प्राविधिक सहयोग प्रदान गरिनेछ ।
कम्पनीका अनुसार सबै सर्भिस सेन्टरमा साओमीका जेन्युन स्पेयर पार्ट्स र आधिकारिक मर्मत प्रक्रिया अपनाइने भएकाले ग्राहकले गुणस्तरीय, भरपर्दो र दीर्घकालीन सुरक्षित सेवा प्राप्त गर्ने छन् । यी तीनै सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रालि मार्फत सञ्चालन हुनेछन् ।
टेलिडाइरेक्ट नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक वितरक तथा सर्भिस, ग्राहक सहयोग र भरपर्दो सेवा प्रदान गर्दै आएको अनुभवी सेवा प्रदायक कम्पनी पनि हो । सर्भिस सेन्टर उद्घाटनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकहरूलाई उद्घाटन भएको मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।
साथै ती स्थानका ग्राहकले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड तथा वारेन्टी बाहिरका स्पेयर पार्ट्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र वारेन्टी बाहिरका स्पेयर पार्ट्समा सर्भिस शुल्क नलाग्ने सुविधा पनि प्राप्त गर्ने छन् ।
यी तीनै सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू नियुक्त गरिएको साओमी नेपालले जनाएको छ । दक्ष प्राविधिकहरूले साधारण समस्या समाधानदेखि जटिल प्राविधिक मर्मसम्मका सेवाहरू कम्पनीका आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । ग्राहकले तत्काल सल्लाह, मर्मत तथा सेवा सुविधाका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १९:२१
