सूचना प्रविधिको तीव्र विकाससँगै अहिले ‘डिजिटल रूपान्तरण’ पदावली निकै प्रचलित भएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सबै संघसंस्थाले आफ्ना नीति तथा योजनाहरूमा डिजिटल रूपान्तरण शब्द समावेश गरेको पाइन्छ । यो विषयमा केन्द्रीय स्तरमा मात्र नभई स्थानीय तहमा पनि चर्चा-परिचर्चा हुन थालेको छ ।
प्रायः संघसंस्थाले भौतिक कागजातलाई स्क्यान गरेर डिजिटल फाइलमा बदल्नु नै डिजिटल रूपान्तरणको अन्तिम गन्तव्य हो भन्ने भ्रम पालेका हुन्छन्, तर वास्तविकता त्यस्तो होइन । यो त केवल सुरुवाती चरण मात्र हो ।
यदि सही विधि र प्रविधिबाट डिजिटल रूपान्तरणको योजना बनाइएन भने यसले अर्को एउटा ‘डिजिटल जङ्क ड्रअर’ (Digital Junk Drawer) मात्र तयार पार्छ । जसले भौतिक रूपमा यत्रतत्र छरिएका फाइलहरूको भर्चुअल थुप्रो मात्र सिर्जना गर्छ । वास्तविक डिजिटल रूपान्तरण एक फराकिलो प्रक्रिया हो । यो कुनै एउटा परियोजना मात्र होइन; यसका लागि प्रविधिभन्दा माथि उठेर उपयुक्त विधि, प्रक्रिया, सुशासन (गभर्नेन्स) र संगठनात्मक कार्य संस्कृतिको समेत रूपान्तरण आवश्यक पर्छ ।
यस यात्राको सुरुवात साधारण डिजिटाइजेसनबाट इन्टेलिजेन्ट (मसिन-रिडेबल) डेटा सिर्जना गर्ने प्रक्रियाबाट हुन्छ । यसका लागि विभिन्न प्रविधिगत चरणहरू आवश्यक छन्, जस्तै; कागजात स्क्यान गर्ने, अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) प्रविधिमार्फत तस्बिरमा भएको पाठ्यसामग्रीलाई सम्पादनयोग्य पाठमा रूपान्तरण गर्ने । साथै शीर्षक, अनुच्छेद, तालिका जस्ता संरचनात्मक तत्त्वहरू छुट्याउने जस्ता कार्य पनि यही प्रक्रियामा पर्छन् ।
यी कार्यका अतिरिक्त कागजातको मेटाडेटा सिर्जना गर्ने, ट्यागिङ गर्ने, एनोटेसन गर्ने जस्ता प्रक्रिया अवलम्बन गर्नुपर्छ । पाठ्यसामग्री र अन्य सूचनाको सूचकाङ्क प्रणाली विकास गरेर स्थिर कागजातलाई संरचनामा आधारित भई खोज्न मिल्ने तथा उक्त खोज र प्रशोधनबाट कार्यान्वयनयोग्य जानकारीमा बदल्न सक्ने गरी तयार गरिन्छ । यी उपायबिना डिजिटाइजेसन केवल डिजिटल कागजातको थुप्रोमा मात्र सीमित हुन्छ । यी उपायहरूको अवलम्बनसँगै स्मार्ट निर्णय र स्वचालनका लागि बलियो आधारस्तम्भ तयार हुन्छ ।
डिजिटल रूपान्तरणका लागि प्रविधि मात्र पर्याप्त हुँदैन । सफल रूपान्तरणका लागि डेटाको मानक निर्धारण गर्ने र डेटाको अखण्डता सुनिश्चित गर्ने विधि तयार गर्नुपर्छ । डेटा पहुँच निर्धारण गर्ने, डेटाको स्वरूप तयार गर्ने, नामकरणका विधि र नियमहरू बनाउने तथा प्रमाणीकरणका प्रक्रियाहरूले यसलाई सहज बनाउँछन् ।
यसरी तयार गरिएका सूचना प्रणालीमा सूचनाको एकरूपता सुनिश्चित हुन्छ र कार्यसम्पादनका लागि भरपर्दो आधार तयार हुन्छ । यस्ता प्रणाली विश्लेषण र स्वचालनका लागि उपयुक्त हुन्छन्, जसले असंगत डेटाका कारण सिर्जना हुने अव्यवस्थित डिजिटल वातावरणलाई रोक्छ र कार्यक्षमता तथा निर्णय प्रक्रियामा सकारात्मक प्रभाव पार्छ ।
एकपटक इन्टेलिजेन्ट (मसिन-रिडेबल) डेटा तयार भएपछि संस्थाहरूले आफ्ना कार्यसम्पादन प्रक्रियाहरूलाई नयाँ दृष्टिकोणबाट पुनःकल्पना गर्न सक्छन् । यहीँबाट रूपान्तरण, अर्थात् कागजमा आधारित सोचबाट ‘डिजिटल-प्रथम’ सोचतर्फ जाने प्रस्थानबिन्दु तयार हुन्छ । यसको अर्थ मूलभूत रूपमा संघसंस्था वा कार्यालयहरूको कार्यप्रवाहको पुनःसंरचना गर्नु हो । जस्तै: सिफारिस प्राप्त गर्ने स्वचालित प्रणाली, बिल स्वीकृतिको प्रक्रिया स्वचालन, नयाँ ग्राहक वा कर्मचारीको सहज डिजिटल अनबोर्डिङ, वास्तविक समयमा आपूर्ति शृङ्खला व्यवस्थापन र भौगोलिक सीमाभन्दा पर सहकार्य गर्न सक्ने डिजिटल कार्यक्षेत्रहरू तयार हुन्छन् । पूर्णतया डिजिटल वातावरणमा सञ्चालन गर्दा गति, पारदर्शिता, दक्षता र अमूल्य परिचालन अन्तर्दृष्टि प्राप्त हुन्छ ।
रूपान्तरणको अन्तिम तह शासन (गभर्नेन्स), सुरक्षा (सेक्युरिटी) र संस्थाको कार्य संस्कृति (वर्क कल्चर) मा केन्द्रित हुन्छ । प्रयोगकर्ताको स्पष्ट पहुँच नीति, डेटा सुरक्षा र गोपनीयताका स्पष्ट नीतिहरू, तथा अन्तर-संस्था सूचना साझेदारी गर्ने स्पष्ट नीतिहरूले व्यवस्थित ढंगले कार्यसम्पादन गर्न सहयोग गर्छन् । बलियो साइबर सुरक्षा व्यवस्थाले संवेदनशील सम्पत्तिहरूको रक्षा गर्छ । त्यति नै महत्त्वपूर्ण पक्ष सांस्कृतिक रूपान्तरण हो । कर्मचारीलाई तालिम दिनु, अधिकार सम्पन्न बनाउनु, अनुकूलनशीलता प्रोत्साहित गर्नु र डेटा-आधारित योजना तथा निर्णय प्रक्रियाको अवलम्बन गर्ने कुराले रूपान्तरणलाई दिगो बनाउन सहयोग गर्छन् । यदि सांस्कृतिक अपनत्व भएन भने सबैभन्दा उन्नत प्रणालीहरूले पनि आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्दैनन् ।
अतः डिजिटल रूपान्तरण कुनै गन्तव्य होइन, यो एक निरन्तर यात्रा हो । यसको सुरुवात इन्टेलिजेन्ट (मसिन-रिडेबल) डेटा रूपान्तरणबाट हुन्छ, तर यो प्रक्रिया नवप्रवर्तन, नीति सुदृढीकरण र सांस्कृतिक परिवर्तनसम्म फैलिन्छ । यस समग्र दृष्टिकोणलाई आत्मसात गर्ने संघसंस्था र कार्यालयहरूले स्क्यानरको सीमाभन्दा बाहिर गएर आफ्नो वास्तविक क्षमता उद्घाटन गर्न सक्छन् ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १३:९
