डेलिभरीका लागि नेपाल हिँड्यो रियरह्विल ड्राइभ र ६०० किमि रेन्ज भएको लिपमोटर इलेक्ट्रिक एसयूभी
भदौ १, २०८२ १९:४७
काठमाडौँ । लामो समयदेखि प्रतीक्षा गरिएको इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी १०’ चीनबाट नेपालतर्फ लागेको छ । नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्स प्रालिले गाडीको पहिलो खेप नेपालतर्फ हिँडिसकेको र छिट्टै ग्राहकलाई डेलिभरी गरिने घोषणा गरेको हो ।
हालै काठमाडौँमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा यो गाडीले अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । सोही एक्स्पोमा उल्लेख्य सङ्ख्यामा अग्रिम बुकिङ भएपछि कम्पनीले ग्राहकको माग पूरा गर्न गाडी नेपाल ल्याउन लागेको हो ।
“लिपमोटर बी १० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरेको जानकारी दिन पाउँदा हामी उत्साहित छौँ," साङ्ग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने, "उत्कृष्ट रेन्ज, अत्याधुनिक फिचर र प्रिमियम डिजाइनसहितको बी १० ले नेपालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्नेछ भन्ने हाम्रो विश्वास छ । यसको डेलिभरी छिट्टै सुरु हुनेछ ।”
लिपमोटर बी १० मा १६० किलोवाट क्षमताको रियर-ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट-आवरको ब्याट्री जडान गरिएको छ । यसले एक पटकको फुल चार्जमा ६०० किमि (सीएलटीसी) र ४६० किमि (डब्लूएलटीपी) सम्मको रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ ।
यस एसयूभीमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । त्यसका साथै यसमा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सुविधासहितको ३६०-डिग्री क्यामेरा, हिटिङ र भेन्टिलेसनसहितको प्रिमियम लेदरेट सिट र आफ्नो सेग्मेन्टको सबैभन्दा ठुलो प्यानारोमिक सनरुफ रहेको छ ।
कम्पनीका अनुसार बी १० ले अत्याधुनिक प्रविधि र प्रिमियम आरामको संयोजनलाई प्राथमिकता दिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १, २०८२ २०:०
