एनआईसी एसिया बैँकले लिलाम गर्ने सम्पत्ति खरिद गर्न चाहनेहरूका लागि छुट्टै अनलाइन पोर्टल
भदौ २, २०८२ १९:२५
काठमाडौँ । एनआईसी एसिया बैँक लिमिटेडले लिलामी सम्बन्धी सेवाका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ । बैङ्किङ सम्पत्ति, बैँकको नाममा रहेको गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले बैँकले यो पोर्टल तयार पारेको हो ।
यस पोर्टलमा बैँकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएका छन् । यसका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो नक्सा एवम् उक्त सम्पत्तिको लोकेसन पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी पनि लिन सकिन्छ । यसका लागि सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध मेसेज बक्समा आफ्नो पूरा नाम, ईमेल एड्रेस, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी मेसेज समेत पठाउनु पर्ने हुन्छ ।
बैँकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा लिलाम बिक्री लगायतका सूचनाहरू प्रकाशित हुने गरेका छन् । जहाँबाट इच्छुक ग्राहकले आफूले भाग लिन चाहेको लिलाम बढाबढमा सहभागी हुन सक्नेछन्
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ २०:१८
