फ्याक्टचेक: गुगल स्ट्रिट भ्युले डेटिङ बसेको जोडीको फोटो देखिएको भन्दै लोकल गाइडको फोटो भाइरल
भदौ ४, २०८२ १७:५
काठमाडौँ । नेपालमा हालै गुगल म्याप्सको स्ट्रिट भ्यु सेवा सुरु भएपछि डेटिङ बसेका जोडीहरूको फोटो देखिन थालेको भन्दै केही दिनयता एउटा फोटो भाइरल छ । फेसबुक, इन्स्टाग्राम, एक्सलगायतका सामाजिक सञ्जाल अकाउन्टहरूबाट उक्त फोटो शेयर भइरहेको छ ।
तर, टेकपाना फ्याक्टचेकले गरेको तथ्य-जाँचका क्रममा उक्त फोटो गुगलको स्ट्रिट भ्युले नभई लोकल गाइडले पहिले नै राखेको पाइएको छ । गुगलले यही १५ अगस्टदेखि मात्रै नेपालमा स्ट्रिट भ्यु सुरु गरेको थियो । जबकि सामाजिक सञ्जालहरूमा भाइरल जोडीको फोटो सन् २०२४ मार्चमै गुगलका एक लोकल गाइडले अपलोड गरेका थिए । सोही फोटोलाई ‘Street View’ पछि देखिएको तस्बिर भन्दै भ्रम फैलाइएको हो ।
दाबी
अगस्ट १७ (सोमबार) २०२५ राति ८:१२ बजे ‘एनईबी रिजल्ट’ नामक फेसबुक पेजले एउटा पोस्ट राखेको देखियो । उक्त पोस्टमा राखिएको फोटोमा एक जोडी अँगालो हाल्दै डेटिङ बसेको जस्तो देखिन्छ । फोटोको माथिल्लो भागमा उक्त जोडी देखिन्छ भने तल्लो भागमा गुगल म्याप्सको नेभिगेसन सेक्सन जोडिएको स्क्रिनशट छ । उक्त पोस्टको क्याप्सनमा “Google ले नेपाल को Street Map Update गरेपछि डेटिङ बसेको फोटोहरू पनि देखिन थालेको छ ।” लेखिएको छ । यो सामग्री तयार पार्दासम्म त्यसमा ३४ सय रियाक्सन र १५१ कमेन्ट आएका छन् भने पोस्ट ३२ पटक शेयर भएको छ ।
हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट:
अनुसन्धान
टेकपाना तथ्य-जाँच टिमले यो दाबीको विषयमा अनुसन्धान गर्दा एउटै फोटो फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको पाइयो । एनईबी रिजल्ट नामक फेसबुक पेजमा यो पोस्ट भेटिएपछि यस सम्बन्धी अन्य पोस्ट खोज्न फेसबुकको सर्चबारमा “google डेटिङ” किवर्ड हालेर हेर्यौँ । त्यसक्रममा १६ अगस्ट २०२५ को राति ९:४४ बजे नै ‘Santosh Parajuli - सन्तोष पराजुली’ नाम गरेको फेसबुक पेजले “Google ले नेपाल को street map update गरेपछि लुकेर डेटिङ बसेको फोटो देखिएपछि अर्घाखाचि का एक जोडि लाइ तनाब भएको छ” भन्दै पोस्ट गरेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१ सय रियाक्सन, १३२ ओटा कमेन्ट आएका छन् भने २१ पटक शेयर भएको छ ।
हेर्नुस्, उक्त पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट:
यस्तै, त्यही दिन राति ९:१० बजे रुटिन अफ एक्स लभरले पनि उस्तै पोस्ट हालेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा दुई हजार रियाक्सन, ८४ ओटा कमेन्ट आएका छन् भने २५ पटक पोस्ट शेयर भएको छ ।
हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट:
त्यस्तै, सोही दिन राति ११:१७ बजे अपडेट जापान नामक फेसबुक पेजले पनि हुबहु पोस्ट हालेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १७ सय रियाक्सन, १०१ ओटा कमेन्ट आएका छन् भने २१ पटक पोस्ट शेयर भएको छ ।
हेर्नुस् उक्त पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट:
यस्तै, दाबीसहितका पोस्ट अरू फेसबुक पेजका साथै इन्स्टा, एक्समा पनि फैलिएको छ । यी सबै पोस्टहरूमा हालिएको फोटोको तल्लो भागमा अर्घाखाँचीको ‘श्री सुपादेउराली मन्दिर’ उल्लेख छ । त्यसपछि हामी गुगल म्याप्सको स्ट्रिट भ्यु हेर्दै सोही मन्दिर पुग्यौँ । स्ट्रिट भ्यु मोड अन गरेपछि मन्दिरसँगै जोडिएर बनेको सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डमा नीलो रङ्गको लाइन देखियो । गुगलले आफैँ खिचेका फोटोहरू आपसमा जोडेर स्ट्रिट भ्यु तयार पार्छ, जुन नीलो रङ्गमा देखिन्छ ।
त्यसपछि हामीले भाइरल भइरहेको डेटिङको फोटो स्ट्रिट भ्युमा खोज्यौँ । दाबीकर्ताहरूले स्ट्रिट भ्युमार्फत डेटिङमा बसेका जोडी भन्दै पोस्ट शेयर गरेका छन् । सन्धिखर्क-गोरुसिङ्गे सडकखण्ड अन्तर्गत पर्ने सुपादेउराली मन्दिरलाई बिचमा पारेर हामीले रोयल अर्घाखाँची गेस्ट हाउसदेखि काछीखोला पुलसम्म स्ट्रिट भ्युबाट नेभिगेट गर्दासमेत भाइरल भइरहेको जोडीको फोटो पत्ता लागेन ।
त्यसपछि हामीले मन्दिर छेउछाउका ल्यान्डमार्क तर्फ खोजी अघि बढायौँ । मन्दिर छेउछाउ लाहुरे टाँसिएको भिर, सुपा देउरालीको झोलुङ्गे पुल, तरङ्ग झरना र काछीखोला पुल गुगल म्याप्समा ल्यान्डमार्कका रूपमा रहँदै त्यसको फोटोसहितका विवरण अपलोड भएका छन् । हेर्नुस् फोटोमा :
त्यसपछि भाइरल फोटो सुपा देउरालीको झोलुङ्गे पुलमा खिचिएको पत्ता लाग्यो । गुगल म्याप्समा पुललाई “Simple Suspension Bridge, Supa Deurali” नाम दिएर विवरण अपलोड गरिएको छ । स्ट्रिट भ्यु अन गर्दा झोलुङ्गे पुलमा नीलो रङको ‘सर्कल’ देखिन्छ । जुन तलको फोटोमा रातो घेराभित्र देखाइएको छ । जसलाई गुगल म्याप्सले “Photo Sphere” इमेजको रूपमा वर्गीकरण गरेको छ ।
गुगल म्याप्सले स्ट्रिट भ्यु फोटोको प्रकार र त्यसको विवरणको विषयमा व्याख्या गरेको छ । गुगल म्याप्सले स्ट्रिट भ्यु अन्तर्गत तीन प्रकारमा फोटोलाई समावेश गरेको छ । स्ट्रिट भ्यु फिचरको सङ्केत भने अटुट तथा अविच्छिन्न नीलो लाइनले गर्छ । हेर्नुस् फोटोमा :
नीलो रङ्गमा देखिने थोप्लाले ‘फोटो पाथ’ लाई जनाउँछ भने नीलो रङ्गको सर्कलले फोटो स्फेयर फिचरलाई सङ्केत गर्छ । गुगल म्याप्सले फोटो पाथ फिचरलाई हटाइसकेको छ । जसका कारण अब दुई ओटा फिचरलाई गुगल म्याप्सले स्ट्रिट भ्यु फोटो अन्तर्गत राखेको छ । दुवैलाई स्ट्रिट भ्यु अन्तर्गत राखे पनि गुगलको स्ट्रिट भ्यु र फोटो स्फेयरमा निकै भिन्नता छ ।
स्ट्रिट भ्यु फिचर भन्नाले नजिकै भएका अनेकौँ ३६० फोटोहरू नेभिगेसनमार्फत् आपसमा जोडिन्छन् । ती फोटोहरू गुगल आफैँले वा स्ट्रिट भ्यु गाइड (Contributors) को सहयोगमा सङ्कलन गरेको हुन सक्छ ।
यस्तै, फोटो स्फेयर फिचर भन्नाले एउटा ३६० फोटोलाई जनाउँछ । अर्थात् एउटा ३६० फोटो नजिक अरू फोटो नभए त्यसैलाई फोटो स्फेयर फिचरको रूपमा गुगल म्याप्सले देखाउँछ ।
अब फेरि झोलुङ्गे पुलतिरै फर्कौँ । गुगल म्याप्समा झोलुङ्गे पुलको ल्यान्डमार्कमा क्लिक गर्दा स्क्रिनको तल्लो दायाँ भागमा ३६० तस्बिर देखिन्छ । त्यहाँ क्लिक गरेपछि ठ्याक्कै देखिन्छ, सामाजिक सञ्जालमा भाइरल भइरहेको जोडीको फोटो । मास्क लगाएका युवकले युवतीको काँधमा हात राखेर अँगालोमा राखेको जस्तो देखिन्छ । फोटो ३६० डिग्री रोटेट हुन्छ । किनभने ३६० फोटोबाहेक अरू फोटो गुगल म्याप्सको स्ट्रिट भ्यु अन्तर्गत पर्दैनन् ।
जोडी बसेको वर महिलाले बोक्ने ह्यान्ड ब्याग र एक जोर चप्पल देखिन्छ । झोलुङ्गे पुलको सुरुआतमै एकजना महिला सेल्फी खिचिरहेको अवस्थामा देखिन्छिन् । तर, क्यामेराको मोसन नमिल्दा ती महिलाको स्वरूप बिग्रिएको देखिन्छ । झोलुङ्गे पुलमा केही मान्छे वारपार गर्दै गरेको देखिन्छ । फोटोलाई अझै देब्रे घुमाउँदा एकजना बालिका झोलुङ्गे पुलतिर हिँडेर आउँदै गरेको देखिन्छ भने उनको पछाडि केही अरू मानिसहरू बसेर गफ गरिरहेको जस्तो देखिन्छ । फोटोलाई अझै देब्रे घुमाउँदा अस्थायी रूपमा बनाइएको छाप्रोमा चिप्स, गुट्कासहितका सामान बेच्न राखेको देखिन्छ । त्योसँगै एक जना महिला बसेकी छन् । फोटो हेर्दा उनले नै त्यो पसल सञ्चालन गरिरहेको जस्तो देखिन्छ ।
भाइरल बनाइएको यो तस्बिर गुगल आफैँले खिचेर गुगल म्याप्समा अपलोड गरेको भने होइन । अमित कुमार नामक व्यक्तिले मार्च २०२४ मा यो ३६० डिग्री फोटो गुगल म्याप्समा अपलोड गरेका हुन् । अमित गुगल म्याप्सको लेभल ७ लोकल गाइड हुन् । उनले उक्त झोलुङ्गे पुलका अन्य दुई फोटो समेत अपलोड गरेका छन्, हेर्नुस् माथिको तस्बिर ।
लोकल गाइड्स गुगलको ग्लोबल कम्युनिटी हो, जसमा गुगल म्याप्समा रिभ्यु लेख्ने, फोटो शेयर गर्ने, कुनै प्रश्नको उत्तर दिने, कुनै स्थान थप्ने वा सम्पादन गर्ने र फ्याक्ट चेक गर्ने जोकोही हुन सक्छन् । अर्थात् गुगल म्याप्स उपलब्ध भएका विश्वका जुनसुकै देशका व्यक्ति लोकल गाइड बन्न सक्छन् ।
गुगल म्यापको ‘Simple Suspension Bridge, Supa Deurali’ को लोकेसनमा दुई ओटा Street View & 360° फोटोहरू देखिन्छन् । जसमा एउटा लोकल गाइड अमित कुमारले खिचेको हो भने अर्को सोही पुलमुनि गुगलको स्ट्रिट भ्यु क्यामेरामा कैद भएको स्ट्रिट भ्यु । जुन तलको कोलाजमा बायाँतर्फ रहेका दुई ओटा फोटोमा देख्न सकिन्छ । सजिलोको लागि अब यी दुई तस्बिरहरूलाई तुलना गरेर हेरौँ:
(१) दुवैलाई Street View & 360° भनिए पनि माथिको पहिलो कोलाजको दायाँ तर्फको हाइलाइटमा अमित कुमारको नाम देखिन्छ भने तल्लो कोलाजमा गुगल स्ट्रिट भ्यु भनेर उल्लेख छ ।
(२) त्यस्तै पहिलो कोलाजमा फोटो खिचिएको मिति मार्च २०२४ छ भने गुगल स्ट्रिट भ्युको फोटो अगस्ट २०२४ मा खिचिएको हो ।
(३) पहिलो कोलाजमा देखिएको अमित कुमारले खिचेको फोटोमा कपीराइट लाग्न सक्ने भनिएको छ । तर दोस्रो फोटोमा ‘कपिराइट २०२५ गुगल’ (©2025 google) भनेर लेखिएको छ ।
त्यसैगरी, गुगल म्याप्सले स्ट्रिट भ्यु इमेजका लागि छुट्टाछुट्टै पोलिसी नै बनाएको छ । जसलाई गुगल_कन्टिब्युटेड स्ट्रिट भ्यु इमेजरी पोलिसी र म्याप्स युजर कन्ट्रिब्युटेड कन्टेन्ट पोलिसी भनिएको छ ।
गुगल कन्ट्रिब्युटेड स्ट्रिट भ्युको पोलिसीमा फोटोहरूले मुख्यतयाः तीन ओटा मापदण्ड पुरा गर्नुपर्छ । स्ट्रिट भ्युमा प्रयोग हुने कुनै पनि फोटो रियल टाइमका खिचिएका हुँदैनन् । सबै फोटोहरू पहिला नै खिचिएका हुन्छन् । अर्को भनेको गुगलले व्यक्तिगत गोपनीयता रक्षा गर्न ‘ब्लरिङ’ को सुविधा दिएको छ । व्यक्तिको अनुहार, सवारीसाधनको नम्बर प्लेट ब्लर बनाउन गुगलले छुट्टै प्रविधि प्रयोग गरिरहेको छ । यदि कसैले घर, सवारीसाधन, व्यक्तिगत शरीरलाई ब्लर गर्न चाह्यो भने गुगलमा रिपोर्ट गर्न छुट्टै टुल पनि उपलब्ध छ ।
त्यसैगरी, गुगलले अनुचित कन्टेन्ट भनेर आठ ओटा गतिविधि स्ट्रिट भ्यु इमेजमा स्वीकार गर्दैन । बौद्धिक सम्पत्ति उल्लङ्घन, यौनजन्य सामग्री, गैरकानुनी, खतरनाक वा हिंसात्मक सामग्री, दुर्व्यवहार तथा धम्की, घृणा फैलाउने अभिव्यक्ति, आतङ्कवादी सामग्री, बालबालिकाको सुरक्षालाई जोखिममा पर्ने र व्यक्तिगत पहिचान खुल्ने सूचना बाहिरिने गरी स्ट्रिट भ्युमा कुनै पनि तस्बिर प्रयोग गर्न पाइँदैन ।
भाइरल भएको फोटो गुगलले आफ्नो स्ट्रिट भ्युका लागि तोकेको गुगल कन्ट्रिब्युटेड पोलिसीको मापदण्ड अनुरूप छैन । गुगल आफैँले सन्धिखर्क-गोरुसिङ्गे सडकखण्ड र सुपादेउराली मन्दिरमा देखिएका मान्छेहरूको अनुहार र सवारीसाधनको नम्बर प्लेट ब्लर गरेको छ । तर, झोलुङ्गे पुलमा लोकल गाइड अमित कुमारले अपलोड गरेको फोटोमा देखिने कुनै पनि व्यक्तिको अनुहार ब्लर गरिएको छैन ।
दाबी
गुगलले नेपालको स्ट्रिट म्याप अपडेट गरेपछि अर्घाखाँचीमा लुकेर डेटिङ बसेका जोडीको फोटो देखियो ।
दाबीकर्ता
एनईबी रिजल्ट, Santosh Parajuli - सन्तोष पराजुली, रुटिन अफ एक्स लभर, अपडेट जापानलगायतका फेसबुक पेज, इन्स्टाग्राम र एक्स प्रयोगकर्ता ।
तथ्य
अर्घाखाँचीको सुपा देउराली झोलुङ्गे पुलमा डेटिङ बसे जस्तो देखिने फोटो फेसबुक पेजहरूले दाबी गरेजस्तो नेपालमा गुगल स्ट्रिट भ्यु अपडेट आएपछि खिचिएको फोटो होइन । गुगलले १५ अगस्ट २०२५ देखि मात्रै नेपालमा स्ट्रिट भ्यु सुरु गरेको थियो । जबकि फेसबुक पेजलगायतका सामाजिक सञ्जालमा सन् २०२४ मार्चमा गुगलका लोकल गाइडले अपलोड गरेको फोटोलाई Street Map Update गरेपछिको तस्बिर भन्नु भ्रामक ठहर्छ ।
त्यसमाथि गुगलको स्ट्रिट भ्यु फिचर हुनलाई एउटा मात्रै ३६० फोटो भएर पुग्दैन । धेरै ३६० फोटोहरू जोडिएपछि एउटा फोटोबाट अर्कोमा नेभिगेट गर्न सकिने भए मात्रै स्ट्रिट भ्यु फिचर हुने गुगलको स्पष्ट व्याख्या छ । लोकल गाइडले खिचेको फोटो स्ट्रिट भ्यु अन्तर्गत देखिए पनि त्यो फोटो स्फेयरको रूपमा रहन्छ । यस्तो फोटोमा खिच्ने व्यक्तिले कपिराइट लगाउन सक्छ । तर गुगलको वास्तविक स्ट्रिट भ्यु हुनको लागि गुगल स्वयँ वा गुगलका स्ट्रिट भ्यु गाइडले खिचेको हुनुपर्छ र त्यस्तो फोटोमा गुगलको कपिराइट हुन्छ ।
सुपा देउराली झोलुङ्गे पुलमा खिचिएको तस्बिरलाई गुगलले “फोटो स्फेयर” भनेर वर्णन गरेको छ । त्यहाँ एउटा ३६० फोटो मात्रै छ । एउटा ३६० फोटो नजिक अरू फोटो नभए त्यसलाई फोटो स्फेयर फिचर भनिन्छ ।
निष्कर्ष
फेसबुक पेजसहित विभिन्न सामाजिक सञ्जालहरूमा गुगलले स्ट्रिट भ्यु अपडेट गरेपछि डेटिङ बसेका जोडीहरूको फोटो देखिन थाल्यो भन्नु भ्रामक रहेको टेकपाना फ्याक्टचेकबाट पुष्टि हुन्छ । टेकपाना तथ्यजाँचका क्रममा सो फोटो गुगलले नभई अमित कुमार नाम गरेका लोकल गाइडले मार्च २०२४ मा खिचेर गुगल म्यापमा अपलोड गरेका हुन् । जब कि सो भाइरल फोटो भएको स्थान नजिकैको सडकमा गुगलले उक्त फोटो अपलोड भएको ५ महिनापछि अगस्ट २०२४ मा आफ्नो क्यामेरा सहितको स्ट्रिट भ्यु कार मार्फत फोटोहरू कैद गरेको थियो । जसलाई यही १५ अगस्ट २०२५ मा मात्रै औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १४:२८
