अब फेसबुक-इन्स्टाग्राम प्रयोगकर्ताको फिडमा मिडजर्नी एआईले बनाएका तस्विरको बाढी आउने
भदौ ८, २०८२ १४:५७
काठमाडौँ । मेटाले मिडजर्नीसँग साझेदारी गर्ने भएको छ । मिडजर्नीको 'एस्थेटिक टेक्नोलोजी'लाई आफ्ना मोडल र उत्पादनहरूमा प्रयोग गर्नका लागि मेटाले लाइसेन्स लिने भएको हो ।
मेटाका नयाँ प्रमुख एआई अधिकारी अलेक्जेन्डर वाङले शुक्रबार यस्तो घोषणा गरेका हुन् । यो साझेदारीमा दुई कम्पनीका अनुसन्धान टोलीहरूबिच प्राविधिक सहकार्य पनि समावेश हुनेछ ।
यो कदम मेटाको एआई 'सुपरइन्टेलिजेन्स' क्षमता बढाउने महत्त्वाकाङ्क्षी योजनाको एक हिस्सा भएको बताइएको छ । जसले कम्पनीलाई ओपनएआई र गुगल जस्ता प्रतिस्पर्धीहरूलाई टक्कर दिन मद्दत गर्नेछ ।
वाङले मिडजर्नीको प्रशंसा गर्दै भनेका छन्, "हामी मिडजर्नीबाट अविश्वसनीय रूपमा प्रभावित छौँ । उनीहरूले प्राविधिक र सौन्दर्य उत्कृष्टताको वास्तविक उपलब्धि हासिल गरेका छन् र हामी उनीहरूसँग नजिकबाट काम गर्न पाउँदा उत्साहित छौँ ।"
एस्थेटिक प्रविधिको लाइसेन्सिङबाट मेटाले मिडजर्नीको प्रविधिलाई आफ्ना विभिन्न उत्पादनहरूमा एकीकृत गर्नेछ । जसले एआईबाट तयार गरिएका तस्बिर र भिडिओहरूको गुणस्तर सुधार्ने अपेक्षा गरिएको छ ।
यो साझेदारीमा मिडजर्नी उत्पादन प्रयोग गर्ने मात्र नभई दुवै पक्षका अनुसन्धान टोलीहरूबिच प्राविधिक सहकार्य गर्ने विषय पनि समावेश छ । सहकार्य अन्तर्गत मेटा एआई एप एआईबाट सिर्जना गरिएका तस्बिर र भिडिओको फिड वरिपरि बनाइने छ । फेसबुकमा नयाँ पोस्ट बनाउँदा एआई तस्बिरहरू सिर्जना गर्ने बटन थपिनेछ ।
यसैगरी ह्वाट्सएप र इन्स्टाग्रामको च्याट भित्रै एआई तस्बिर सिर्जना गर्ने विकल्पहरू उपलब्ध हुनेछन् । प्रयोगकर्तालाई अझ राम्रा देखिने फोटो र भिडिओहरू बनाउन मद्दत गर्न मेटा मिडजर्नीको प्रविधिमा निर्भर रहने अपेक्षा गरिएको छ ।
मेटाले पछिल्लो समय एआईमा ठुलो लगानी गरिरहेको छ । जसअन्तर्गत मार्क जुकरबर्गले व्यक्तिगत रूपमा अन्य कम्पनीहरूबाट एआई अनुसन्धानकर्ताहरूलाई आकर्षक प्रस्ताव दिएर तानिरहेका छन् । अलेक्जेन्डर वाङ आफैँ पनि स्केल एआईका सह-संस्थापक थिए । उनको कम्पनीको ४९ प्रतिशत हिस्सा १४.३ अर्ब डलरमा अधिग्रहण गरेपछि उनी मेटामा सामेल भएका हुन् ।
मिडजर्नीका संस्थापक तथा सीईओ डेभिड होल्जका अनुसार यो साझेदारीपछि पनि मिडजर्नी एक स्वतन्त्र, समुदाय-समर्थित अनुसन्धान प्रयोगशालाको रूपमा रहनेछ । जसका 'कुनै लगानीकर्ता छैनन्' ।
पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १४:५७
