close

अपाङ्गता भएका व्यक्तिहरूका लागि समाधान खोज्न एआई फर पिपल विथ डिसेबिलिटी ह्याकाथन आयोजना हुँदै

टेकपाना टेकपाना

भदौ ८, २०८२ १९:५९

अपाङ्गता भएका व्यक्तिहरूका लागि समाधान खोज्न एआई फर पिपल विथ डिसेबिलिटी ह्याकाथन आयोजना हुँदै

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउने उद्देश्यका साथ एआई फर पिपल विथ डिसेबिलिटी (आइडा) नामक रेसिडेन्सियल ह्याकाथन आयोजना हुने भएको छ । प्रतीक इनोभेसन र डेभ कम्युनिटी नेपालसँगको सहकार्यमा एआईको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरूले सामना गर्ने समस्याहरूको समाधान खोज्न उक्त ह्याकाथनको आयोजना हुन लागिएको हो । 

आइतबार (२४ अगस्ट) देखि ह्याकाथनमामा सहभागीता जनाउन चाहने व्यक्तिहरूका लागि आवेदन खुला गरिएको छ । २६ सेप्टेम्बरसम्म इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आइडाको वेबसाइटमा गएर समूह दर्ताका लागि अनलाइन आवेदन दिन सकिन्छ । त्यसपछि सेमिफाइनल र वर्कशपहरू अनलाइन माध्यमबाट नै सञ्चालन हुनेछन् । ह्याकाथनको सेमिफाइनल ६ र ७ नोभेम्बरमा सञ्चालन हुने कार्य तालिका छ । 

१०, ११ र १२ नोभेम्बरमा काठमाडौँस्थित सनवे कलेजमा ४८ घण्टा लामो रेसिडेन्सियल ह्याकाथन आयोजना हुनेछ । १५ र १६ नोभेम्बरमा भने कन्फरेन्स र १७ नोभेम्बरमा फिनाले आयोजना भएर आइडा समाप्त हुने आयोजकले जनाएको छ । कन्फेरेन्स र फिनालेका लागि भने स्थान तय भइ नसकेको बताइएको छ ऽ 

उक्त ह्याकाथनमा चार ओटा थिम राखिएका छन् । सबै व्यक्तिहरूका लागि यात्रा र सञ्चार सहज बनाउन स्मार्ट आवतजावत तथा सञ्चार प्रविधि, मानिसको विचार र भावना बुझेर प्रतिक्रिया दिने प्रविधि विकास गर्न ‘कग्निटिभ हेल्थ एन्ड इमोसन अवेर एआई’, बुढापाका र फरक क्षमताका व्यक्तिहरूलाई विशेष ध्यान दिँदै डिजिटल हेरचाह गर्न तथा स्वतन्त्र जीवनयापनमा सहयोग गर्ने उपकरण र प्रविधि बनाउन ‘डिजिटल केयर गिभर एन्ड एआई कम्प्यानियन’ र कुनैपनि क्षमता वा भुगोलका कारणले गुणस्तरीय अवसर पाउनबाट रोक्न ‘एआई पावर्ड एजुकेसन फर द डेफ एन्ड स्पिच एम्पेयर्ड’ थिम राखिएको हो ।  

१८ वर्ष वा सो भन्दा बढी उमेर समूहका व्यक्तिहरूले नि:शुल्क ह्याकाथनका लागि समूह दर्ता गराउन सक्नेछन् । सेमिफाइनलमा छनोट भएपछि भने टोलीले पाँच हजार रुपैयाँ शुल्क तिरेर दर्ता हुनुपर्छ । तर, अपाङ्गता भएका व्यक्तिहरू समावेश भएको टोलीका लागि भने दर्ता शुल्क मिनाहा गरिएको छ । सेमिफाइनलमा सहभागी हुने टोलीमध्ये आठ टोली फिनालेमा पुग्नेछन् । ती मध्ये उत्कृष्ट तीन टोलीले पुरस्कार राशि पाउनेछन् । 

ह्याकाथनमा एक लाख २० हजार नगद पुरस्कार रहेको छ ।  जसमा प्रथम विजेताले ५० हजार, फर्स्ट रनर अपले ३० हजार र सेकेन्ड रनर अपले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै बेस्ट इनोभेसन ट्र्याक अवार्डमा २० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । यस्तै मर्चेन्डाइच र होस्टिङ/एडब्लूएस जस्ता क्रेडिटहरू पनि प्रदान गरिने भएकाले प्रतियोगिताको प्राइज पुल दुई लाख ५० हजार रहेको आयोजकको दाबी छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १६:५४