नेपालमा २० हजार रुपैयाँमै जीवनभर स्टारलिङ्क इन्टरनेट दिने भन्दै भ्रामक विज्ञापन प्रचार
भदौ १०, २०८२ २०:२७
काठमाडौँ । नेपालमा सञ्चालन अनुमति नै नपाएको स्याटलाइट इन्टरनेट सेवा ‘स्टारलिङ्क’को नाममा सामाजिक सञ्जालमार्फत ठगी भइरहेको पाइएको छ । फेसबुकमा आकर्षक विज्ञापन गरेर प्रयोगकर्तालाई २० हजार रुपैयाँमै आजीवन (लाइफटाइम) इन्टरनेट दिने प्रलोभन देखाई ठगी गर्ने प्रयास भएको हो ।
‘स्टारलिङ्क ग्लोबल’ नामक फेसबुक पेजले ‘अन्तिम मौका’ भन्दै स्टारलिङ्कको नयाँ उत्पादन ‘स्टारलिङ्क मिनी’ सार्वजनिक भएको र नेपालमा उपलब्ध रहेको भ्रामक विज्ञापन गरिरहेको छ । विज्ञापनमा कुनै मासिक शुल्क नलाग्ने, जहाँसुकै सजिलै जडान गर्न सकिने, बोक्न मिल्ने, उच्च गतिको इन्टरनेट चल्ने र विशेषगरी दुर्गम क्षेत्रका लागि उपयुक्त हुने जस्ता आकर्षक दाबी गरिएका छन् । यसमा प्रयोग गरिएको नेपाली भाषा अङ्ग्रेजीबाट अनुवादित देखिन्छन् । अर्थात् स्टारलिङ्कको अङ्रेजी विज्ञापन वा पोस्टलाई आधार बनाइ नेपाली शब्दहरू राखेर प्रलोभनमा पार्न खोजेको देखिन्छ ।
उक्त विज्ञापनमा दिइएको लिङ्कमा क्लिक गर्दा स्टारलिङ्कको आधिकारिक वेबसाइट जस्तै देखिने नक्कली वेबसाइट खुल्छ । यूआरएल भने ‘हबग्रिडएक्सेसएनपी डट साइट’ छ । यो पनि निःशुल्क लिन सकिने डोमेन हो ।
उक्त वेबसाइटमा सीमित अवधिका लागि एक पटक सेटअप शुल्क तिरेपछि आजीवन असीमित इन्टरनेट चलाउन सकिने उल्लेख छ ।
ठगीका लागि दुई किसिमका अफर राखिएका छन् । पहिलो ‘स्टारलिङ्क मिनी’ (लाइफटाइम प्याकेज) । यसको शुल्क २० हजार ६०० रुपैयाँ तोकिएको छ । जसमा असीमित इन्टरनेट, एक वर्षको वारेन्टी र विश्वभर निःशुल्क ढुवानी हुने भनिएको छ । अर्को छ वार्षिक प्याकेज । यस अन्तर्गत १० हजार ९०० रुपैयाँमा एक वर्षका लागि ५० जीबी डेटा दिइने अर्को प्याकेज पनि देखाइएको छ ।
वेबसाइटमा रहेको ‘अर्डर गर्नुहोस्’ बटनमा क्लिक गरेपछि ‘ईको अफर’ नामक अर्कै वेबसाइटको भुक्तानी पेजमा रिडाइरेक्ट हुन्छ । त्यहाँ गुगल पे, शप पे र क्रेडिट कार्डजस्ता अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमार्फत रकम तिर्न भनिएको छ ।
वास्तवमा नेपाल दूरसञ्चार प्राधिकरणले स्टारलिङ्कलाई नेपालमा सेवा सञ्चालनको अनुमति दिएको छैन । आधिकारिक रूपमा सेवा सुरु नै नभएको अवस्थामा हार्डवेयर खरिद गरेर मात्र इन्टरनेट चलाउन सम्भव हुँदैन । नेपाली प्रयोगकर्तालाई झुक्याउने उद्देश्यले नै नक्कली वेबसाइट र आकर्षक अफर तयार पारिएको स्पष्ट देखिन्छ ।
पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ २२:२३
