close

काठमाडौंमा नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न

टेकपाना टेकपाना

भदौ ११, २०८२ १०:४६

काठमाडौंमा नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न

काठमाडौँ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई जिम्मेवार, नैतिक र दूरदर्शी विकास तथा प्रयोगबारे राष्ट्रिय संवाद  चलाउन नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न भएको छ । गत शनिबार भएको यस कार्यक्रममा प्रविधि क्षेत्रका ६० भन्दा बढी अनुभवी व्यक्ति, विद्यार्थी र एआई पारखीको सहभागिता थियो ।

नेपाली आईटी कम्पनी ‘एनोभेटर्स’ र बेलायस्थित गैर-नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्ट’ को संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा वक्ताले जिम्मेवार र नैतिक एआई विकासको महत्वबारे सूचनामूलक प्रस्तुति दिएका थिए ।

भेलाको मुख्य आकर्षण नेपाल सरकारका पूर्व सचिव मधु कुमार मरासिनीको किनोट प्रस्तुती रह्यो । उनले ‘एआई गभर्नेन्स: एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधार’ शीर्षकमा आफ्ना विचार प्रस्तुत गर्दै प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे प्रकाश पारे । मरासिनीले नवीनतम प्रविधि अँगाल्दै अघि बढ्नुपर्ने र सबै नागरिकलाई डिजिटल प्रविधिको प्रयोगबारे बुझाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “नेपाल एआई गभर्नेन्समा पछाडि पर्नु हुँदैन । सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्छ ।”

चन्दन गुप्ता

नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीलाई नेपालको ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको यात्रामा फर्काए । उनले वि.सं. २०२८ को जनगणनाको नतिजा प्रशोधन गर्न नेपाल भित्र्याइएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटरसँग गरेको काम, राष्ट्रिय कम्प्युटर केन्द्रमा उनको भूमिका र पछि प्रमुख निर्वाचन आयुक्तको रूपमा नेपालको निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन गरेको प्रयासको बारेमा जानकारी दिँदै सहभागीलाई प्रभावित पारे । उनको प्रस्तुतिले नेपालमा प्रविधि र नयाँ विचारलाई डोर्याउने प्रारम्भिक प्रयासको प्रेरणादायक स्मरण गराएको थियो ।

मधुकुमार मरासिनी

‘सिंगापुर एआई सुरक्षा हब’ को प्रतिनिधित्व गर्दै भर्चुअल माध्यमबाट सहभागी भएकी भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एसियामा अपनाइएका उत्कृष्ट अभ्यास र एआई सुरक्षा तथा जिम्मेवार एआई विकासलाई बढावा दिन सिंगापुरमा भइरहेका सहयोगात्मक प्रयासहरूबारे जानकारी दिइन् । अतिथि वक्ता प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीलाई एआई युगका लागि तयार रहन, एआईमा हुने विभेद र असमानताको सामना, जिम्मेवार एआई तथा दैनिक काममा एआईको नैतिक एवम् जिम्मेवारपूर्ण प्रयोगबारे उपयोगी सीप प्रदान गरे । कार्यक्रममा प्रतिक दाहालले हालका लार्ज ल्याङ्गविज मोडल (एलएलएम) हरूसँग सम्बन्धित जोखिमबारे पनि संक्षिप्त कुरा राखे ।

प्रकृति भट्टराई

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन एआई सम्बन्धित एक अन्तरक्रियात्मक हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो जसमा दुई विजेतालाई २०० अमेरिकी डलर बराबरको ‘पर्प्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’ को ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरियो ।

यस कार्यक्रमले नेपालमा सुरक्षित र जिम्मेवार एआई भविष्य निर्माणका लागि आवश्यक निरन्तर संवाद र सहकार्यका लागि उत्प्रेरकको काम गरेको आयोजकले जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १०:४६