काठमाडौँ । दक्षिण कोरियाले विद्यालय समयमा कक्षा कोठामा मोबाइल फोन र स्मार्ट डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । स्मार्टफोन लतका हानिकारक प्रभावहरू नियन्त्रण गर्ने उद्देश्यका साथ यस्तो कदम चालिएको हो ।
यो कानुन सन् २०२६ को मार्च महिनामा सुरु हुने नयाँ शैक्षिक सत्रदेखि लागु हुनेछ । नयाँ कानुनले कक्षाको समयमा फोन प्रयोगमा प्रतिबन्ध लगाए पनि यसले शिक्षकहरूलाई विद्यालय परिसरमा विद्यार्थीहरूलाई फोन प्रयोग गर्नबाट समेत रोक्ने अधिकार प्रदान गर्दछ ।
यद्यपि अपाङ्गता भएका वा विशेष शैक्षिक आवश्यकता भएका विद्यार्थीहरूलाई सहायक उपकरणहरू प्रयोग गर्न दिइनेछ । शैक्षिक उद्देश्यका लागि वा आपत्कालीन अवस्थामा पनि फोन प्रयोग गर्न सकिने गरी अपवादका व्यवस्था गरिएका छन् ।
दक्षिण कोरिया यस्तो प्रतिबन्धलाई कानुनमा नै समावेश गर्ने सीमित देशहरूमध्ये एक हो । फिनल्याण्ड र फ्रान्स जस्ता केही देशहरूले साना बच्चाहरूका लागि विद्यालयहरूमा मात्र प्रतिबन्ध लगाएका छन् । जबकि इटाली, नेदरल्याण्ड र चीन जस्ता देशहरूले सबै विद्यालयहरूमा फोन प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।
यस्तो छ प्रतिबन्धको कारण
सांसद, अभिभावक र शिक्षकले स्मार्टफोनको प्रयोगबाट विद्यार्थीहरूको शैक्षिक प्रदर्शनमा असर गरिरहेको र उनीहरूले पढाइमा लगाउन सक्ने समय खेर गएको तर्क गरेका छन् । सन् २०२४ को सरकारी सर्वेक्षण अनुसार दक्षिण कोरियाका ५ करोड १० लाख मानिसमध्ये लगभग एक चौथाइ आफ्नो फोनमा धेरै निर्भर छन् । यो आँकडा १० देखि १९ वर्षका युवाहरूको सन्दर्भमा ४३% भन्दा बढी छ र यो निरन्तर बढिरहेको छ ।
एक तिहाइभन्दा बढी किशोर किशोरीहरूले सामाजिक सञ्जालमा भिडिओहरू हेर्दै बिताउने समय नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको बताएका छन् । बीबीसीले एक अभिभावक चोई युन-यङको भनाई राखेको छ, जो १४ वर्षीया छोराकी आमा हुन् । उनले भनेकी छिन्, "आजकल बच्चाहरू आफ्नो स्मार्टफोन छोड्न सक्दैनन् जस्तो देखिन्छ ।" स्मार्टफोनले विद्यार्थीहरूलाई पढाइ, मित्रता बनाउने र अन्य गतिविधिहरूमा ध्यान केन्द्रित गर्न बाधा पुर्याइरहेकोमा उनी जस्ता अभिभावकहरूको चिन्ता छ ।
विपक्षी पिपल पावर पार्टीका सांसद चो जुङ-हुनलेले यो विधेयक पेस गरेका थिए । उनले स्मार्टफोन लतले विद्यार्थीहरूको दिमागी विकास र भावनात्मक वृद्धिमा अत्यन्त हानिकारक प्रभाव पार्ने महत्त्वपूर्ण वैज्ञानिक र चिकित्सा प्रमाण रहेको बताएका छन् ।
यद्यपि धेरैजसो दक्षिण कोरियाली विद्यालयहरूले पहिलेदेखि नै कुनै न कुनै रूपमा स्मार्टफोनमाथि प्रतिबन्ध लगाइसकेका छन् । कतिपयले यो विधेयकले फोनहरूलाई भन्दा पनि देशकै तीव्र प्रतिस्पर्धी कलेज प्रवेश परीक्षा सुनुङलाई लक्षित गरेको विश्वास गरेका छन् ।
सुनुङ आठ घण्टा लामो परीक्षा हो, जसले धेरै कोरियालीहरूको भविष्य निर्धारण गर्ने मानिन्छ । यसको स्कोरले उनीहरू कुन विश्वविद्यालयमा जाने र उनीहरूको रोजगारीको सम्भावना तथा आय निर्धारण गर्छ । कोरियाली विद्यार्थीहरू आफ्नो विद्यालयको पहिलो दिनदेखि नै यो परीक्षाको लागि तयारी थाल्छन् ।
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ ९:४०
