close

फेसबुकमा लाइभ भिडिओ देखाउँदै लट्रीका नाममा ठगी धन्दा, कसरी फस्दैछन् नेपाली ?

टेकपाना टेकपाना

भदौ १४, २०८२ १२:२४

फेसबुकमा लाइभ भिडिओ देखाउँदै लट्रीका नाममा ठगी धन्दा, कसरी फस्दैछन् नेपाली ?

काठमाडौँ । काठमाडौँको एक विद्यालयमा पढाउने शिक्षिका सरस्वती शर्मा (नाम परिवर्तन) फेसबुक स्क्रोल गरिरहेकी थिइन् । फेसबुकमा ‘लक्की ड्र’ नाम लेखिएको पेज लाइभ आएको देखियो । झन्डै ५०० बढीले उक्त लाइभ भिडिओ हेरिरहेका थिए । 

भिडिओमा एक युवक हातमा कार्ड लिएर स्क्र्याच गरिरहेका देखिन्थे । कुनै व्यक्तिको नाम दिएर बधाई छ भन्दै नाम लिइरहेका थिए । 

सरस्वतीले केहीबेर भिडिओ हेरिन् । तर उनलाई खासै रुचि लागेन । फेरि स्क्रोल गर्न थालिन् । तीन-चार ओटा पोस्ट फिडमा देखिएपछि फेरि त्यस्तै तर फरक अकाउन्टबाट लाइभ भिडिओ दोहोरियो । उनले त्यसलाई पनि बेवास्ता गरिन् । तेस्रो पटक पटक पनि त्यस्तै भिडिओ देखा पर्‍यो । त्यस बखत पनि उनले भिडिओ बेवास्ता गरिन् । चौथो पटकसम्म देखिएपछि भने उनलाई त्यसप्रति जिज्ञासा जाग्यो । र, कमेन्टमा दिइएको लिङ्क क्लिक गरेर मेसेन्जरमा मेसेज पठाइन् ।

“फेसबुक चलाउँदा एउटा मान्छेले कार्ड स्क्र्याच गरेको लाइभ भिडिओ देखियो, त्यसमा ५०० जतिले लाइभ हेर्दै थिए,” सम्झना भन्छिन्, “सुरुमा त ठगी हो भनेर वास्ता गरिनँ । तर, त्यस्तै भिडिओ चार-पाँच ओटा देखिएपछि के रहेछ बुझौं भन्ने लाग्यो ।”

उनले मेसेज पठाउनासाथ मेसेन्जरमा तुरुन्तै रिप्लाई आइहाल्यो । त्यसमा उनीहरूले चार किसिमका कार्ड हुने बताए । पहिलो र सस्तो कार्डको मूल्य १८ हजार, रातो कार्डको ३० हजार, सेतो कार्डको ३८ हजार ६०० र भीआईपी कार्डको ४५ हजार २०० रुपैयाँ भनियो । 

सरस्वतीलाई परीक्षण गर्न सस्तो कार्ड जाँच गर्न मन लाग्यो । र, उनले सस्तो कार्ड लिने बताइन् । उनलाई सुरुमा त्यसको १० प्रतिशत अर्थात् १८०० रुपैयाँ तिर्न भनियो । र, त्यसबापत ५० ओटा कार्ड उपलब्ध गराउने बताइयो । “१० प्रतिशत तिर्नुपर्छ, त्यो भनेको १८०० रुपैयाँ तिर्नु भनेर क्यूआर कोड दिए । मैले पैसा पठाएँ, अनि फेरि लाइभ हेर्न थालेँ,” उनी आफू ठगिने प्रक्रियाको चर्चा गर्छिन् । 

सरस्वतीले रकम पठाइसकेपछि उनलाई एउटा कोड नम्बर दिइयो र लाइभ हेर्न भनियो ।

उनी लाइभ हेर्न थालिन् । लाइभमा देखिएका व्यक्तिले सरस्वतीको नाम लिए र उनको नाममा ५० ओटा कार्ड लिएर एकएक गरी स्क्रयाच गर्न थाले । केही नपरेको बेला चिनियाँ अक्षरमा ‘सहभागी हुनुभएकोमा धन्यवाद’ लेखेको देखिन्थ्यो । यसरी १८ औं कार्ड स्क्रयाच गर्दासम्म उनलाई ६ लाख रुपैयाँ लट्री परिसकेको बताइएको थियो ।

बाँकी विवरण बुझ्न उनलाई मेसेन्जरमा च्याट गर्न भनियो । “मलाई त सुरुमा अहिले लट्री टिकेट लिए पनि केही महिनापछि नतिजा आउँछ होला जस्तो लागेको थियो,” उनी भन्छिन्, “तर, एकछिनमै कार्ड स्क्रयाच गरेर जितेको रकम यति भयो भनेर भन्यो । त्यो रकम अहिले नै पाउनुहुन्छ, तर पहिले मेसेन्जरमा च्याट गर्नु भन्यो ।”

अब त रकम आउँछ होला भन्ने आशमा रहेकी सरस्वतीले मेसेन्जरमा आफ्नो कुरा राखिन् । उनलाई पहिले १० प्रतिशत मात्र तिरेकाले लिमिट सकिएको र पूरै ५० ओटा कार्ड स्क्राच गरिसकेपछि मात्र सबै रकम पाइने भनियो । 

उनले थप रकम केमा पठाउने भन्दा उनलाई त्यसअघि पठाएको क्यूआर कोड पठाइयो । र, रकम पठाएर स्क्रिनशट पठाउन भनियो । उनले त्यसै गरिन् । त्यसपछि फेरि लाइभमै जोइन हुन भनियो । लाइभमा देखिने व्यक्तिले त्यही प्रक्रिया दोहोर्‍याए । अन्तिममा हिसाब गर्दा उनले ४२ लाख रुपैयाँ बढी जितेकी थिइन् । फोनमा उक्त रकम देखाएर उनलाई स्क्रिनशट लिएर मेसेन्जरमा सम्पर्क गर्न भनियो । सरस्वतीले त्यसरी नै स्क्रिनशट लिएर पठाइन् । 

त्यसपछि असली खेल सुरु भयो । सरस्वतीलाई उक्त रकम दाबी गर्नका लागि दुई ओटा विकल्प भएको बताइयो । एउटा जितेको रकमको दुई प्रतिशत कर तिर्न र अर्को विकल्प कार्यालयमै सम्पर्क गर्न । पहिले लाइभमा कार्यालय बुटवल भएको बताइएको थियो । काठमाडौँकी सरस्वतीले बरु बुटवल नै जान्छु भनेर कार्यालय जाने विकल्प छानिन् । तर, त्यस लगत्तै उनलाई कार्यालय चीनको राजधानी बेइजिङमा भएको बताइएको र कम्पनीको लोकेसन पठाइयो । “म काठमाडौँको मान्छे कहाँ बेइजिङ पुग्न सक्छु र ?,” उनी शंका गर्छिन्, “यो गाह्रो पार्ने उनीहरूको तरिका हो भन्ने मैले बुझें ।”

काठमाडौंकी एक सामान्य शिक्षिका कसरी चीन पुग्नु । उनले दोस्रो विकल्पबारे बुझ्न खोजिन् । त्यस बापत उनलाई ८४ हजार रुपैयाँ तिर्नुपर्ने भनियो । यसअघि शंकै शंकाको घेरामा परेर १८ हजार गुमाइसकेकी सरस्वतीलाई यो ८४ हजार पनि गुम्छ भन्ने लागिसकेको थियो । र, उनले ‘मलाई ठग्नुभयो भन्दै’ मेसेज पठाइन् ।

तर, ती कर्मचारीले विश्वस्त बनाउँदै अरू व्यक्तिले पुरस्कार लिएको फोटो पठाए । तर, सरस्वतीलाई यो सरासर ठगी हो भन्ने थाहा भइसकेको थियो । त्यसपछि उनले आफू प्रहरी कार्यालयमा जाने बताइन् । रिसको झोँकमा उनलाई मेसेन्जरमा अश्लील भिडिओ पठाइदिए । अहिले पीडित सरस्वती काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय धाइरहेकी छिन् ।

कसरी हुन्छ ठगी ?

यस घटनामा अनलाइन ठगले फेसबुकलाई प्रमुख हतियार बनाएका छन् । भिडिओमा अगाडि लट्री दर्शाउने टेक्स्ट तथा सिन बनाइएको छ । कसैले जितेको बेला उत्साहित बनाउन बेल बजाइन्छ । त्यसरी सुरुवातमा प्रयोगकर्ताले अस्वीकार गरे पनि त्यसपछि भने प्रयोगकर्ताको फिडमा बारम्बार त्यही किसिमको लाइभ भिडिओ देखिन्छ । 

बारम्बार लाइभ भिडिओ देखिएपछि प्रयोगकर्ता उत्साहित भएर प्रयास गर्न खोज्छन् । लाइभ भिडिओमा लट्री खेल्न उत्साहित बनाउँदै जितेका भनिएका व्यक्तिको नाम लिइन्छ । रकम कसरी व्यक्तिको खातामा पठाइएको भन्ने प्रमाण पनि देखाइन्छ । 

विगत एक वर्षदेखि सञ्चालन गर्दै आएकाले यो प्लेटफर्म विश्वसनीय भएको आभास गराइन्छ । कार्यालय भएको ठाउँको नाम पनि भनिन्छ । यसरी प्रयोगकर्तालाई विश्वस्त बनाइन्छ । र, कार्ड किन्न प्रेरित गरिन्छ । 

कार्ड किन्न भन्दै उपलब्ध गराइने वालेट तथा बैंकका क्यूआर कोड पनि भाडामा लिने गर्छन् । गाउँका सर्वसाधारण व्यक्तिलाई खाता खोल्न लगाउने र केही रकमको लोभ देखाएर मोबाइल बैंकिङको एक्सेस लिन्छन् । त्यसपछि यसरी सर्वसाधारण नै यस्ता घटनामा मुछिने गरेका छन् ।

लट्री, जुवा, सट्टेबाजी नेपालमा पूर्ण प्रतिबन्धित छन् । यी अवैध प्लेटफर्ममा सर्वसाधारण ठगिँदा उनीहरूको उजुरी लिनुभन्दा उनीहरू माथि नै जुवा खेलेको भन्दै मुद्दा चलाउन पर्ने अवस्था आएको छ ।

व्यापक रूपमा यसरी लट्रीका नाममा अनलाइन ठगी गर्ने गिरोह सक्रिय भएपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति नै जारी गर्दै सर्वसाधारणलाई सचेत बनाएको थियो । त्यसपछि पनि पीडितहरू निरन्तर साइबर ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, भद्रकालीमा पीडित पुग्ने गरेका छन् । 

सामाजिक सञ्जालमा आउने विज्ञापनलाई नै आधार मानेर विश्वास गरी रकम नपठाउन काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्य सुझाव दिन्छन् । “यो लट्री स्क्याम अहिले बढी नै सञ्चालनमा भएको देखिएको छ,” प्रहरी उपरीक्षक आचार्य भन्छन्, “यसमा कसको संलग्नता छ भन्ने अनुसन्धान भइरहेको छ । तर, मुख्य कुरा भनेको आमसर्वसाधारणले सामाजिक सञ्जालमा देखिने लट्री, चिठ्ठा जस्ता चिज बेवास्ता गर्नुपर्छ ।”

साइबर ब्युरोले पनि सामाजिक सञ्जाल फेसबुकबाट सञ्चालन भइरहेका यस्ता ठगी धन्धा बन्द गर्न फेसबुकसँग समन्वय गरिरहेको छ । “हामीले यसरी लट्रीका नाममा ठग्न खोज्नेहरूको सूची बनाएर फेसबुकलाई पठाएका छौं,” ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी भन्छन्, “यी अनेक थरीका ठगीका घटना देखिन्छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता आफैँ सचेत हुनु नै बच्ने उत्तम तरिका हो ।”

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १२:२४