टिकटक डाइरेक्ट मेसेजमा नयाँ सुविधा, अब भ्वाइस नोट र फोटो-भिडिओ पनि पठाउन मिल्ने
भदौ १४, २०८२ १५:२४
काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले प्रयोगकर्ताका लागि नयाँ मेसेज सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले डाइरेक्ट मेसेज (डीएम) मार्फत भ्वाइस नोट पठाउन सक्नुका साथै एकैपटक नौ ओटासम्म फोटो वा भिडिओ शेयर गर्न सक्ने भएका छन् ।
कम्पनीका अनुसार प्रयोगकर्ताले अधिकतम ६० सेकेन्ड लामो अडियो मेसेज रेकर्ड गरी पठाउन सक्नेछन् । यसअघि ह्वाट्सएप, इन्स्टाग्राम र एप्पल मेसेजजस्ता प्लेटफर्मले भ्वाइस नोट सुविधा दिँदै आएका थिए ।
फोटो र भिडिओ पठाउने सुविधा अन्तर्गत प्रयोगकर्ताले क्यामेराबाट खिचेको वा ग्यालरीमा रहेको सामग्री छान्न सक्नेछन् । मेसेज पठाउनुअघि एडिट गर्ने विकल्प पनि उपलब्ध हुनेछ । तर पहिलो पटक मेसेज पठाउँदा प्रयोगकर्ताले आफ्नै खिचेका फोटो वा भिडिओ पठाउन नपाउने र केवल टिकटकमै रहेको सामग्री पठाउन सक्ने व्यवस्था गरिएको छ ।
सुरक्षाका लागि १६ वर्षमुनिका प्रयोगकर्ताका लागि डीएम सुविधा उपलब्ध छैन । १६ देखि १८ वर्षसम्मका प्रयोगकर्ताको सुरक्षाका लागि नग्नता भएको आशंका गरिएको फोटो वा भिडिओ स्वतः ब्लक हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
टिकटकले यो नयाँ सुविधा क्रमशः सबै प्रयोगकर्तासम्म विस्तार गर्ने बताएको छ । कम्पनीले यसलाई प्रयोगकर्ताबिच नियमित संवाद बढाउन र अन्य सोसल एपजस्तै मेसेज सेवामा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १५:२४
