काठमाडौँ । सरकारलाई एनसेलले लाइसेन्स नवीकरणको दोस्रो किस्ता रकम बुझाएको छ । कम्पनीले वार्षिक १० प्रतिशत ब्याजसहित एक साता अघि नै नेपाल दूरसञ्चार प्राधिकरणको खातामा नवीकरण बापतको किस्ता रकम जम्मा गरेको हो ।
एनसेलले ६ भदौमा नवीकरणको दोस्रो किस्ताबापत ब्याजसहित तीन अर्ब २९ करोड रुपैयाँ तिरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । “असारमा २ अर्ब तिरेको एनसेलले बाँकी ३ अर्ब २९ करोड रुपैयाँ बुझाएको हो,” अर्यालले भने ।
१५ भदौसम्म नवीकरण शुल्क बुझाउनुपर्नेमा एनसेलले २६ असारमै दुई अर्ब रुपैयाँ र ६ भदौमा ब्याजसहित बाँकी तीन अर्ब २९ करोड रुपैयाँ तिरेको छ । प्राधिकरणले खुमलटारको जग्गा खरिद गर्न एनसेलबाट दुई अर्ब रुपैयाँ अग्रिम भुक्तानी लिएर सार्वजनिक सेवा प्रसारण संस्था (तत्कालीन रेडियो नेपाल)को नाममा रहेको जग्गा खरिद गरेको थियो ।
१४ जेठ २०८१ मा चार अर्ब रुपैयाँ बुझाएको एनसेलले सोही वर्षको भदौमा थप एक अर्ब रुपैयाँ तिरेपछि पाँच वर्षका लागि कम्पनीको मोबाइल सेवाको लाइसेन्स नवीकरण भएको थियो । गत वर्ष एनसेलको जीएसएम मोबाइल सेवाको लाइसेन्स अवधि २० वर्ष पुरा भएको थियो । तर, घट्दो व्यापारका कारण एकै पटक २० अर्ब रुपैयाँ तिर्न नसक्ने भन्दै एनसेलले सरकारसँग किस्ताबन्दीको सुविधा मागेको थियो । एनसेलको माग सुनुवाइ गर्दै सरकारले चार किस्तामा ब्याजसहित नवीकरण दस्तुर तिर्ने सुविधा दिएको थियो ।
पछिल्लो अध्यावधिक: भदौ १५, २०८२ १९:४९
