close

अरू फोन पनि चार्ज गर्न सक्ने रेड्मी १५ नेपाली बजारमा, स्टोरेज २ टीबीसम्म बढाउन मिल्ने

टेकपाना टेकपाना

भदौ १८, २०८२ ११:५४

अरू फोन पनि चार्ज गर्न सक्ने रेड्मी १५ नेपाली बजारमा, स्टोरेज २ टीबीसम्म बढाउन मिल्ने

काठमाडौँ । साओमीले आफ्ना दुई नयाँ स्मार्टफोन रेड्मी १५ र रेड्मी १५ सी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहितका यी फोन बजारमा ल्याएको हो । 

कम्पनीका अनुसार रेड्मी १५ विशेषगरी लामो समयसम्म टिक्ने ब्याट्री र राम्रो पर्फर्मेन्स चाहने प्रयोगकर्तालाई  लक्षित गरी ल्याइएको छ । यसमा ७,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन दुई दिनसम्म आनन्दले टिक्ने दाबी गरिएको छ । यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा मोबाइल चार्ज गर्न सकिन्छ भने १८ वाटको रिभर्स चार्जिङ सुविधाको सहयोगमा आपत्कालीन अवस्थामा पावर बैँकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

फोनमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको रहेको छ । यसमा रहेको टीयूभी राइनल्यान्ड ट्रिपल आई-केयरको सुविधाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै आईपी ६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट फोनलाई जोगाउँछ । 

फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा सिस्टम र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । शक्तिशाली स्नापड्रागन ६८५ चिप, एड्भान्स हाइपर ओएस २ र गुगल जेमिनाईका साथ यसले गेमिङदेखि मल्टी टास्किङसम्मलाई सहज बनाउन सक्छ । साथै यसमा दुई टीबी सम्मको एक्सपान्डेबल स्टोरेजको सुविधा पनि छ ।

अनि कस्तो छ रेड्मी १५ सी ?

७.९९ एमएम स्लिम र प्रिमियम डिजाइनका कारण रेड्मी १५ सी पनि आकर्षक देखिन्छ । रेड्मी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६,००० एमएएच क्षमताको ब्याट्रीले दिनभर टिक्नसक्छ । यसमा ३३ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

यसमा ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेश रेट रहेको छ । जसले गेमिङ र स्क्रोलिङलाई सहज बनाउन सक्छ । मिडियाटेक हेलियो जी८१-अल्ट्रा प्रोसेसर भएको यो फोनले फास्ट र स्टेबल पर्फर्मेन्स सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यसमा पनि ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेका छन् ।

रेड्मी १५ सीमा एक टीबीसम्मको एक्सपान्डेबल स्टोरेज सुविधा, नवीनतम हाइपरओएस २  र गुगल एआईको सर्कल टु सर्च तथा जेमनाई जस्ता स्मार्ट फिचर पनि छन् । आईपी ६४ रेटिङ प्राप्त यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन सक्ने बताइएको छ । 

उपलब्ध कलर भेरियन्ट

रेड्मी १५ स्यान्डी पर्पल, टाइटन ग्रे र मिडनाइट ब्ल्याक गरी तीन वटा रङ्गमा उपलब्ध छ । यस्तै, रेड्मी १५ पनि मिडनाइट ब्ल्याक, मुनलाइट ब्लु र मिन्ट ग्रिन गरी तीन वटा कलर अप्सनमा रोजेर खरिद गर्न सकिनेछ । 

मूल्य र भेरियन्ट

रेड्मी १५ दुई ओटा भेरियन्टमा बजारमा आएको छ । जसको ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको २१ हजार ९९९ रुपैयाँ पर्नेछ । 

रेड्मी १५ सी भने तीन ओटा भेरियन्टमा आएको छ । जसको ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजलाई १६ हजार ४९९ रुपैयाँ पर्नेछ भने ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ ११:५५