close

डा. स्वर्णिम वाग्लेको नाम जोडेर हिन्दी अडियो भाइरल, रास्वपाले भन्यो- यो डिपफेक हो

टेकपाना टेकपाना

भदौ १८, २०८२ १४:३७

डा. स्वर्णिम वाग्लेको नाम जोडेर हिन्दी अडियो भाइरल, रास्वपाले भन्यो- यो डिपफेक हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आफ्ना नेतालाई लक्षित गरी सामाजिक सञ्जालमा ‘डिपफेक’ भ्वाइस रेकर्ड (नक्कली आवाज रेकर्ड) फैलाइएको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सदनभित्र रचनात्मक बहस गर्न नसकेपछि बाहिरबाट यसरी नेताहरूको चरित्रहत्या गर्ने प्रयास गरिएको आरोप लगाए ।

पछिल्लो समय रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नाम जोडेर एउटा हिन्दी भाषाको अडियो भाइरल भइरहेको छ । सोही अडियोलाई संकेत गर्दै सांसद ढकालले लोकतन्त्रमा विरोधका आवाजहरूलाई दबाउने शैली भइरहेको टिप्पणी गरे ।

“यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरूमाथि नसकेर हाम्रा नेताहरूको डिपफेक भ्वाइस रेकर्डहरू समेत बाहिर छरपस्ट पार्न थालिएको छ,” उनले भने, “म यो शैलीको, यो चरित्रको निन्दा गर्न चाहन्छु ।”

उक्त भाइरल अडियोमा भनिएको छ, “क्या करलेङ्गे । हम तो ए सब कुछ मिलालेङ्गे । आप चिन्ता मत किजिए । ८४ मे - in the coming election we will be the main force of this country. So आप लोग चिन्ता मत करिए । ए सब हो जाएगा ।”

यसैबिच रास्वपाका उपसभापति डा. वाग्ले आफ्नो नाम जोड्दै अडियो भाइरल भएपछि अहिले साइबर ब्युरो पुगेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ १४:५२