काठमाडौँ । नेपालमा यसै सातादेखि मेटाले औपचारिक रूपमा कन्टेन्ट मनिटाइजेसन सेवा सुरु गरेको छ । कम्पनीले आधिकारिक रूपमा नेपाललाई मनिटाइजेसनका लागि योग्य देशको सूचीमा राखेको छ । यससँगै अब नेपाली फेसबुक प्रयोगकर्ता विशेषगरी प्रोफेस्नल अकाउन्ट र पेज सञ्चालकले कन्टेन्ट राखेवापत आम्दानी गर्न सक्छन् ।
यहीबिच मनिटाइजेसन गर्ने वा कपिराइट लाग्यो भन्दै फेसबुक कब्जामा लिने गिरोहको सक्रियता पनि बढेको पाइएको छ । कमेडियन मनोज गजुरेलले मङ्गलबार बेलुकी फिशिङ ईमेल आएको बारे जानकारी दिएका थिए । “नेपालमा फेसबुक मनिटाइज्ड इनेबल भएपछि स्क्यामर/ह्याकरहरुको बिगबिगी बढ्दैछ । फेसबुकले नै पठाएको जस्तो फेक म्यासेज पठाएर स्क्याम गर्छन्,” उनले भनेका छन् ।
उनले राखेको स्क्रिनशटमा भाग्य शाह नामबाट ईमेल आएको देखिएको छ । त्यसमा ईमेल ieee.org को छ । आईईईई अर्थात् इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इन्जिनियरिङ जस्तो विश्वसनीय संस्थाको नाम जोडिएको ईमेलबाट कसरी फिशिङ लिङ्क आयो भन्ने विषयले शंका उब्जाइरहेको छ ।
साइबर सुरक्षा अनुसन्धानकर्ताले यसलाई स्पुफिङका रूपमा हेरेका छन् । ईमेल स्पुफिङ भनेको एक प्रकारको साइबर हमला हो, जसमा ह्याकरले ईमेल पठाउने व्यक्तिको ठेगाना (From address) नक्कली बनाउँछ । यसमा ईमेल प्राप्त गर्ने व्यक्तिलाई उक्त ईमेल कुनै विश्वासिलो स्रोत जस्तै: आफ्नो बैंक, सहकर्मी वा कुनै परिचित कम्पनीबाट आएको हो भन्ने भ्रम पारिन्छ । यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई झुक्याएर उनीहरूको व्यक्तिगत जानकारी चोर्नु, कम्प्युटरमा मालवेयर (भाइरस) फैलाउनु वा आर्थिक ठगी गर्नु हो ।
आईईईईमा आवद्ध भाग्य शाह नामका व्यक्ति खोज्दा फेसबुकमा एउटा अकाउन्ट फेला पर्यो । उनले आफूले ‘आईईईई स्टुडेन्ट च्याप्टर, एनआईटी सुरात’मा काम गरेको उल्लेख गरेका छन् । उक्त पेजमा जाँदा आईईईसँग सम्बन्धित भएको देखिएको छ । यिनै प्रयोगकर्ताको ईमेल ह्याक भएर फिशिङ ईमेल गएको हुन सक्ने देखिएको छ ।
त्यस्तै नेपालमा यही सातादेखि औपचारिक रूपमा सुरु भएको कन्टेन्ट मनिटाइजेसनलाई जोडेर स्क्यामरले फेसबुक (प्रोफाइल र पेज) कब्जामा लिने दाउ कसेको देखिन्छ । सामाजिक सञ्जालमा पोस्ट बुस्ट गरेर कन्टेन्ट मनिटाइजेसन सेटअप गरिदिने र त्यसका लागि पेजको एक्सेस दिनुपर्ने भन्दे पेज नियन्त्रणमा लिने गरेको देखिएकोछ । केही प्रयोगकर्ताले टिकटक र फेसबुकमा भिडिओ राख्दै यस्ता आश्वासनबाट जोगिन सुझाव दिएका छन् ।
कतिपय स्क्यामरले पेजमा रिभ्यु दिन्छन् । रिभ्युमा उनीहरूले पेज कस्तो लाग्यो भन्ने अनुभव बाँड्नुपर्ने हो । तर, पेज सञ्चालकलाई झुक्याउन ‘तपाईंको पेजले कपिराइट नियम उलङ्घन गरेको छ, यसरी सेटिङ नमिलाए पेज सधैंका लागि डिसेबल हुन्छ’ भन्ने चेतावनी दिइएको हुन्छ । प्रयोगकर्ताले उनीहरूकै निर्देशन मानेर क्याश डेटा उपलब्ध गराउँदा पेज ह्याक हुन्छ ।
स्क्यामरले ‘नोटिफिकेसन’, ‘मेटा फर बिजनेस’, ‘मेटा’ जस्ता नाम राखेर पेज बनाउँछन् । र, तिनै पेजबाट मेसेज पठाएर प्रयोगकर्ताको पेज डिसेबल हुन लागेको बताउँछन् । डराएर उनीहरूले भनेको निर्देशन दिने प्रयोगकर्ताको पेज ह्याक हुन्छ ।
पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ १८:२९
