close

सुरक्षित र भरपर्दो इन्टरनेटका लागि उपयोगी गुगल क्रोम ब्राउजरको सेक्योर डीएनएस

टेकपाना टेकपाना

भदौ २०, २०८२ ११:४३

सुरक्षित र भरपर्दो इन्टरनेटका लागि उपयोगी गुगल क्रोम ब्राउजरको सेक्योर डीएनएस

काठमाडौँ । इन्टरनेटको आजको युगमा डोमेन नेम सिस्टम (DNS) ले वेबसाइटका नामहरूलाई कम्प्युटरले बुझ्ने आईपी ठेगानाहरूमा अनुवाद गरेर महत्त्वपूर्ण भूमिका खेल्छ । यो प्रक्रियाले हामीलाई वेबसाइटहरू सजिलै पहुँच गर्न मद्दत गर्छ ।

गुगलले आफ्नो क्रोम ब्राउजरमा 'सुरक्षित डीएनएस' (Secure DNS) सुविधा उपलब्ध गराउँदै आएको छ । जसले डीएनएस-ओभर एचटीटीपीएस (डीओएच) प्रोटोकल प्रयोग गरी प्रयोगकर्ताहरूका लागि अझ सुरक्षित र गोप्य ब्राउजिङ अनुभव प्रदान गर्दछ ।

गुगल क्रोमको सेक्योर डीएनएसले कसरी काम गर्छ ?

परम्परागत रूपमा डीएनएस रिक्वेस्ट इन्क्रिप्ट नगरिएको (unencrypted) ढाँचामा पठाइन्थ्यो । जसले गर्दा एउटै नेटवर्कमा रहेका आक्रमणकारीहरूले प्रयोगकर्ताहरूको ब्राउजिङ गतिविधि निगरानी गर्न सक्थे वा प्रयोगकर्ताहरूलाई फिशिङ वेबसाइटहरूमा रिडाइरेक्ट गर्न सक्थे । क्रोमको सेक्योर डीएनएस सुविधाले एचटीटीपीएस प्रोटोकल प्रयोग गरेर डीएनएस सञ्चारलाई इन्क्रिप्ट गर्छ । जुन वेबसाइटहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न प्रयोग गरिने प्रोटोकल हो ।

एचटीटीपीएस (HTTPS) प्रोटोकलका विभिन्न फाइदाहरू छन् । क्रोमले सही डीएनएस सेवा प्रदायकसँग सञ्चार गरिरहेको कुरा प्रमाणित गर्न सक्छ । जसले आक्रमणकारीद्वारा नियन्त्रित नक्कली सेवा प्रदायकबाट जोगाउँछ ।

क्रोम ब्राउजरले डीएनएस सेवा प्रदायकबाट प्राप्त भएको प्रतिक्रियालाई नेटवर्कमा रहेका आक्रमणकारीहरूले छेडछाड नगरेको कुरा यकिन गर्न सक्छ । जसले फिशिङ आक्रमणहरूलाई रोक्छ ।

क्रोमले इन्क्रिप्टेड च्यानल मार्फत डीएनएस सेवा प्रदायकसँग सञ्चार गर्न सक्छ । यसको मतलब सार्वजनिक वाई-फाई जस्ता शेयर्ड कनेक्सनहरूमा आक्रमणकारीहरूले अब अन्य प्रयोगकर्ताहरूले कुन वेबसाइटहरू भिजिट गरिरहेका छन् भनेर निगरानी गर्न सक्दैनन् ।

'डीएनएस ओभर एचटीटीपीएस'ले पुरै इकोसिस्टमलाई नयाँ र भरपर्दो आधार प्रदान गर्दछ । जसले डीएनएसलाई डेलिभरी मेकानिजमको रूपमा प्रयोग गरेर थप सुधारहरू पछ्याउन सजिलो बनाउँछ ।

प्रयोगकर्ताहरूले क्रोमको सेटिङहरूमा गएर सेक्योर डीएनएस (Secure DNS) खोजेर यसलाई आफ्नो आवश्यकता अनुसार कन्फिगर गर्न सक्छन् । यसमा सुविधालाई पूर्ण रूपमा निष्क्रिय पार्ने, वा लोकप्रिय विकल्पहरू मध्येबाट विशिष्ट डीएनएस प्रदायक (DNS-over-HTTPS) छनौट गर्ने वा कस्टम प्रदायक (custom provider) राख्ने जस्ता विकल्पहरू छन् ।

क्रोम ब्राउजरमा यो सुविधा प्रयोग गर्न सेटिङबाट प्राइभेसी एन्ड सेक्युरिटी (Privacy and Security) हुँदै सेक्युरिटी (Security) मा गएर युज सेक्योर डीएनएसलाई अन गरी एड कस्टम डीएनएस सर्भिस प्रोभाइडर (Add custom DNS service provider) मा जानु पर्ने हुन्छ ।

क्रोममा उपलब्ध डीएनएस प्रदायक

क्रोममा सुरक्षित डीएनएस सेटिङ कन्फिगर गर्दा तपाईँले विभिन्न प्रदायकहरूबाट आफूलाई उपयुक्त विकल्प छनौट गर्न सक्नुहुन्छ । जसमध्ये एउटा क्लाउड फ्लेयर डीएनएस (1.1.1.1 र 1.0.0.1) पनि छ । यो आफ्नो उच्च गति र गोपनीयताका हिसाबले लोकप्रिय छ । यसले प्रयोगकर्ताको डेटा लग राख्दैन र साइबर खतराहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ । क्लाउड फ्लेयरको डीएनएसले सामाजिक सञ्जालमाथि लगाइएको सामान्य खाले प्रतिबन्ध र प्यारेन्टल कन्ट्रोललाई समेत सीमित पार्न वा बाइपास गर्न सक्छ ।

यसमा अर्को सेवा प्रदायक छ, गुगलको पब्लिक डीएनएस (8.8.8.8 र 8.8.4.4) । सबैभन्दा धेरै प्रयोग हुने र भरपर्दो डीएनएसमा पर्ने यो विकल्पले उच्चतम अपटाइम र छिटो डोमेन रिजोलुसन, डीएनए आक्रमण विरुद्धको बलियो सुरक्षा प्रदान गर्दछ । गुगलले यसबाट प्रयोगकर्ताका केही डेटा सङ्कलन गर्न सक्छ । यसले हाल नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलाई केही हदसम्म छल्न पनि सक्छ ।

यस बाहेक क्रोममा तपाईँले ओपन डीएनएस (208.67.222.222 र 208.67.220.220) पनि पाउन सक्नु हुन्छ । सिस्कोको स्वामित्वमा रहेको ओपन डीएनएसले फिल्टरिङका उत्कृष्ट विकल्प र थप सुरक्षा लेयर थप्ने सुविधा दिन्छ । यसले फिशिङ आक्रमण र मालवेयर विरुद्धको सुरक्षा पनि प्रदान गर्दछ । साथै प्यारेन्टल कन्ट्रोलको सुविधा पनि यसमा पाउन सकिन्छ । ओपन डीएनएसले पनि अहिलेको सामाजिक सञ्जाल प्रतिबन्धलाई सजिलै बाइपास गर्ने देखिन्छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ ११:४३