close

नेपालमा युट्युब-फेसबुक बन्द, कलाकारदेखि कन्टेन्ट क्रिएटरको रोजीरोटी सङ्कटमा

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

भदौ २१, २०८२ ९:५७

एआईबाट बनाइएको तस्बिर एआईबाट बनाइएको तस्बिर

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालका प्रमुख प्लेटफर्महरू युट्युब, फेसबुक, एक्स लगायत २६ ओटामा प्रतिबन्ध लगाएपछि फिल्म क्षेत्रको प्रचारप्रसारदेखि लिएर कन्टेन्ट क्रिएटरहरूको रोजीरोटीसम्ममा गम्भीर असर परेको छ । यस कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि समेत अङ्कुश लगाउन खोजिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएका बाहेक सबै सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सोही अनुसार टेलिकम अपरेटर र इन्टरनेट सेवा प्रदायकले धमाधम आफ्ना नेटवर्कबाट ती प्लेटफर्म निष्क्रिय गराउँदै लगेका छन् ।

फिल्म प्रमोसनमा अन्योलता

आगामी ३ असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी २’ को प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रतिबन्धले अन्योलता बढाएको निर्माता रामबाबु गुरुङले बताएका छन् । गुरुङका अनुसार चलचित्रको प्रमोसनका लागि सामाजिक सञ्जाल नै सबैभन्दा सर्वसुलभ, सस्तो र भरपर्दो माध्यम बनेको थियो, जुन बन्द हुँदा चलचित्रकर्मी र मिडियाकर्मीलाई सबैभन्दा धेरै असर परेको छ । ‘जारी २’ को टिजर र ‘अम्लरी फूल’ बोलको गीत युट्युबमा सार्वजनिक भइसके पनि बाँकी ट्रेलर र गीतहरू सार्वजनिक हुन बाँकी नै छन् । सामाजिक सञ्जाल बन्द हुँदा चलचित्रको प्रचारप्रसारमा नै असर पर्ने चिन्ता उनले व्यक्त गरे ।

यसैगरी, असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’ को पनि प्रचारप्रसार प्रभावित भएको छ । निर्माता सन्तोष सेनले चलचित्रको ‘आमा’ बोलको गीतको टिजर सार्वजनिक गरे पनि उक्त गीतलाई युट्युबमा ल्याउने तयारी सामाजिक सञ्जाल बन्द भएपछि स्थगन गरिएको जानकारी दिए । सामाजिक सञ्जालहरू सरकारसँग सम्पर्कमा आएर सूचीकरण भएपछि मात्र गीत सार्वजनिक गर्ने उनले बताएका छन् ।

कन्टेन्ट क्रिएसन र रोजीरोटीमा असर

गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटाका अनुसार सामाजिक सञ्जालको आगमनसँगै कलाकारहरूलाई स्वतन्त्र रूपमा आफ्नो कला प्रस्तुत गर्न र रोजीरोटी खोज्न सहज भएको थियो । तर सरकारको यो निर्णयले उक्त बाटो खोसिदिएको छ । उनले नेपाली युवा कलाकारहरूले युट्युब र फेसबुकजस्ता माध्यमबाट विदेशी डलर नेपाल भित्र्याएको र यो निर्णयले युवाहरूलाई देश छाड्न बाध्य पार्ने चिन्ता व्यक्त गरे । सरकारले विकल्प नदिई सामाजिक सञ्जाल बन्द गर्दा कला क्षेत्र नै निराश बनेको उनको भनाइ छ ।

युट्युब च्यानल ‘प्रोजेक्ट कुरा’ का सञ्चालक तथा कन्टेन्ट क्रिएटर सरोज कार्कीले सामाजिक सञ्जाल बन्द हुँदा एक जना क्रिएटरलाई मात्र नभई थमनेल बनाउने व्यक्ति, कन्टेन्ट इडिटर, रिसर्चर, स्क्रिप्ट राइटर लगायत ठुलो सङ्ख्याका व्यक्तिहरूको रोजगारीमा असर पर्ने निश्चित भएको बताए । उनले २० वर्षभन्दा कम उमेरका युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिरहेको सामाजिक सञ्जाल बन्द हुँदा धेरैको रोजीरोटी गुम्न सक्ने बताए ।

‘द नेपाली कमेन्ट’ का सञ्चालक तथा कन्टेन्ट क्रिएटर दिपेश त्रिपाठीले लामो भिडिओ बनाउने क्रिएटरहरूलाई सबैभन्दा बढी समस्या परेको बताए । उनले सामाजिक सञ्जाल बन्द हुँदा पेइड प्रमोसन र विज्ञापनमा पनि ठुलो असर परेको, ब्रान्डहरूसँग गरिएका वार्षिक सम्झौता र चाडपर्वमा गरिने क्याम्पेनहरू प्रभावित भएको जानकारी दिए । यसले कन्टेन्ट क्रिएटरलाई मात्र नभई ब्रान्डहरू र सानादेखि ठुला व्यवसायीहरूलाई समेत असर पुर्‍याएको उनको भनाइ छ ।

सङ्गीतकार अर्जुन पोखरेलले युट्युब नेपालमा दर्ता हुन आउनुपर्छ भन्नेमा आफू सहमत भए पनि यदि युट्युब दर्तामा आएन भने युट्युबबाटै रोजीरोटी गर्ने नेपाली कन्टेन्ट क्रिएटरलाई सरकारले कसरी सम्बोधन गर्छ र यसको विकल्प के हो भनी प्रश्न उठाए । उनले डिजिटल प्लेटफर्मबाट आउने आम्दानीमा सरकारले ५% कर काट्दा पनि अब आम्दानी घट्ने र यसले सरकारको राजस्वमा पनि असर पर्ने बताए ।

अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुशको चिन्ता

सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुनुलाई कन्टेन्टमाथि नै नियन्त्रणको प्रयास गरिएको कन्टेन्ट क्रिएटर त्रिपाठीको बुझाइ छ । उनले सामाजिक सञ्जाल नियमनका लागि बनेको निर्देशिका र सामाजिक सञ्जाल विधेयकमा उस्तै किसिमका विषयवस्तु समेटिएकाले यसले अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे ।

गायक बाँस्कोटाले पनि सामाजिक सञ्जाल बन्द गरेर सर्वसाधारणको बोलीलाई दबाउने तथा चेतना फैलिनबाट रोक्न खोजिएको देखिएको बताए । उनले यसलाई ‘अत्यन्तै अलोकप्रिय कदम’ भन्दै युवाहरू जागरुक भएको र परिवर्तन ल्याउन सक्ने भएकाले उनीहरूलाई सिन्डिकेट गर्न खोजिएको आशङ्का व्यक्त गरे ।

प्रोजेक्ट कुराका सञ्चालक सरोज कार्कीले आफूले पनि अभिव्यक्ति स्वतन्त्रता रोकिएको महसुस गरेको भन्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई पञ्चायतकालमा प्रेस बन्द गरिएका घटनासँग तुलना गरे । “केही सीमित मानिसहरूले सामाजिक सञ्जालमा नराम्रो गरे भन्ने आधारमा सम्पूर्ण प्लेटफर्म नै बन्द गरिनु पञ्चायतकालमा छापाखाना नै बन्द गरेजस्तो हो,” उनले भने । सामाजिक सञ्जाल नेपाल सरकारसँग सूचीकरण हुनु राम्रो भए पनि, विधेयक र निर्देशिकाको पालनामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सिधै प्रहार हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८२ ९:५७