close

भीपीएन प्रयोग नगर्न र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सघाउन सरकारको आग्रह

टेकपाना टेकपाना

भदौ २२, २०८२ १७:५६

भीपीएन प्रयोग नगर्न र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सघाउन सरकारको आग्रह

काठमाडौँ । नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, स्न्यापच्याट, मेसेन्जर लगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको सरकारले ती साइट चलाउन भीपीएन प्रयोग नगर्न भनेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

"नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सामाजिक सञ्जाल पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न नगराउनु समेत अनुरोध छ," मन्त्रालयले भनेको छ ।

"आम नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारले लिएको यस सम्बन्धी निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउन मन्त्रालय आम नागरिक तथा सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछ ।"

अदालतको आदेश र मन्त्रीपरिषद्‌को निर्णय बमोजिम तोकिएको समयमा सूचीकरणमा आएन ७ दिनको म्याद दिएको मन्त्रालयले १९ भदौदेखि विभिन्न २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस पश्चात् हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय भइसकेको मन्त्रालयले जनाएको छ । त्यस बाहेक एक्सर विच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराइ सकिएको उल्लेख छ । मन्त्रालयले सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आग्रह गरेको छ । 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १९:५७