close

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर सरकारले सञ्चार सम्पर्क खोसेपछि बिलखबन्दमा बुढा बुबाआमा

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ २२, २०८२ १८:१६

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर सरकारले सञ्चार सम्पर्क खोसेपछि बिलखबन्दमा बुढा बुबाआमा

काठमाडौँ । कालिकोटका ६५ वर्षीय अवकाश प्राप्त शिक्षक कर्णबहादुर शाहीका लागि फेसबुक मेसेन्जर केवल एउटा एप थिएन, त्यो त उनका आफन्तसँग जोडिने साधन थियो । अवकाश प्राप्त जिन्दगी, रित्तो गाउँमा आफन्तसँग जोडिने उनको एक मात्र सहारा नै त्यही थियो । हरेक बिहान र बेलुका राजधानीमा रहेका कान्छा छोरा र बेलायतमा रहेका जेठा छोरासँग अनुहार हेरेरै कुरा गर्ने उनको बानी थियो । 

तर, एकाएक मेसेन्जर चल्न छोडेपछि उनी बिलखबन्दमा परेका छन् । “सबै आफन्तसँग जोडिने माध्यम नै मेसेन्जर थियो,” उनी गुनासो गर्छन्, “बन्द भएपछि अहिले त सबैसँग सम्पर्क नै टुट्यो ।” विदेशमा भएको छोरालाई सिमबाट फोन गर्न सम्भव नहुने र यतै भएको छोरासँग पनि हरेक पटक सिमबाटै फोन गर्दा झल्को नमेटिने बताउँदै उनी भन्छन्, “अनुहार हेरेर कुरा गर्ने बानी लागेको, खै के के छुटेको जस्तो लागिरहेको छ ।”

यस्तै समस्यामा बर्दियाकी ४९ वर्षीया जमुना खनाल पनि छिन् । कोरियामा रहेका दुई छोरा र काठमाडौँकी एक छोरीसँग हरेक दिन सम्पर्कमा रहने उनी सामाजिक सञ्जाल निस्क्रियबारे अनभिज्ञ थिइन् । “अस्तिबाट नेट पनि चल्न छोड्यो,” उनी भन्छिन्, “पछि छोरीले कल गरेर भाइबर खोल्नु भनी । कसरी खोल्ने थाहै छैन । अहिले मोबाइल पसलमा आएकी छु ।” 

काठमाडौँको एक इन्टरनेट कम्पनीका एक जना सिनियर कर्मचारीले त झन् सामाजिक सञ्जाल नचलेपछि आमाबुबाबाट गाली नै खानुपरेको अनुभव सुनाए । “काममा व्यस्त भएर सामाजिक सञ्जाल नचल्ने विषयबारे केही जानकारी दिन पाएको थिइनँ,” उनले भने, “दुई दिनपछि सिममा फोन गरेको एक्कासि गाली गर्न थाल्नु भयो । न नम्बर डायल गर्न जान्नु हुन्थ्यो, न त छिमेकमै कोही जान्ने मान्छे थियो ।” त्यसपछि उनले घरभन्दा निकै पर भएका एक भाइलाई भाइबर इन्स्टल गरिदिन पठाए र आमाबुबासँग सम्वादनमा रहन सके ।

सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले पनि आफ्नो यस्तै भोगाइ शेयर गरेका छन्, “सुरुमा म निकै आत्तिएँ । केही समय आफ्ना बुबाआमासँग सम्पर्क गर्न सकिनँ र त्यो साँच्चै डरलाग्दो अनुभव थियो ।” उनका बुबाआमा उमेर ढल्किसकेका र प्रविधिमा खासै सहज नभएका कारण उनलाई भीपीएन कसरी प्रयोग गर्ने भनेर फोन कलमा बुझाउन पनि निकै कठिन भयो । 

“मेरा लागि यो पल निकै गाह्रो थियो । मेरा बुबाआमालाई त एप इन्स्टल गर्न पनि आउँदैन । म घर जाँदा सबै सेटिङ मिलाइदिन्थेँ, अब के गर्ने थाहा छैन,” उनी लेख्छन् । यद्यपि केही समयपछि आफ्ना बुबाआमा भारत-नेपाल सीमा नजिक बस्ने भएकाले उनीहरूले जसोतसो ह्वाट्सएप चलाउन सकेकोमा उनले राहत महसुस भएको कुरा व्यक्त गरेका छन् । उनले डिजिटल संसारसँग भर्खरै जोडिन थालेका वृद्धवृद्धाका लागि प्रार्थना गर्दै चाँडै यी समस्या समाधान होउन् भन्ने कामना पनि गरेका छन् । 

बर्दियाको ठाकुरबाबामा मोबाइल पसल सञ्चालन गर्दै आएका शिव खनाललाई अहिले डीएनएस परिवर्तन गर्न, भरपर्दो भीपीएन इन्स्टल गर्न र भाइबर सेटअप गरिदिन भ्याईनभ्याई छ । बिहीबारदेखि बढ्दै गएको भिड आइतबारसम्म आइपुग्दा निकै बाक्लिँदै गएको उनी सुनाउँछन् । “फेसबुक मेसेन्जरमा फोटो हेरेर कल गर्ने बानी लागेका वृद्धवृद्धा छन्,” स्थानीय आमोद मोबाइल एन्ड इलेक्ट्रोनिक्सका सञ्चालक खनाल भन्छन्, “जानेकालाई त भाइबर इन्स्टल गरिदिएको छु । मेसेन्जर नै प्रयोग गर्नेलाई डीएनएस परिवर्तन गरिदिएको थिएँ । अहिले त्यो पनि बन्द भयो भन्ने कुरा आएको छ ।”

टाढा रहेका आफन्तसँग निरन्तर सम्पर्कमा रहन, बिरामी भएका आफन्तलाई निरन्तर आत्मबल दिन, भरोसा दिन, विदेशमा रहेकाले आफ्ना सन्तान, प्रियतम, आमाबुबासँग संवाद गर्न सामाजिक सञ्जालको प्रयोग निकै हुने गरेको छ । तर, अहिले सामाजिक सञ्जाल प्रतिबन्ध हुँदा यी सबै कुराबाट असङ्ख्य परिवारको सम्वाद-सञ्चार रोकिन पुगेको छ । परिवारबाट टाढा रहेका अर्का प्रयोगकर्ता भन्छन्, “हामी आफैँलाई पनि कहाँ सबैको नम्बर याद हुन्छ र ? प्रोफाइल हेरेर फोन गर्ने बानी परिसकेको थियो । सिमबाट कल गर्ने बानी हटिसकेको छ । सहजताले गर्दा बुढा बाआमाको त सिधै भिडिओ कल गर्ने बानी छ । अब कुन चाहिँ नम्बर डायल गर्ने ?”

यही सन्दर्भमा हालै एक भिडिओ टिकटकमा निकै भाइरल भइरहेको छ । “हे सरकार, मैले छोराछोरीसँग भोलि बोल्न पाएन भनेदेखि सिंहदरबारै आएर काट्दिन्छु म त फेरि छोरछोरीसँग बोल्न पाइनँ, यो फेसबुक बन्द गरिस् भने चाहिँ,” उनले रुँदै आफ्नो आक्रोश पोखेकी छिन्, “हामीले अरुथोक केही भनेको पनि छैन, गरेको पनि छैन । मैले छोराछोरीसँग बोल्न पाएन भने म बौलाउँछु । म आएर सिंहदरबारमा काट्दिने हो ।”

भाइरल भइरहेको त्यस भिडिओमा महिलाले अगाडि भनेकी छिन्, “सरकारको टाउको लिएर नेपालभर घुम्ने हो ।” ती महिला को हुन्, उनको अकाउन्ट के हो भन्ने स्पष्ट छैन । अधिकांशले वाटरमार्क हटाएर भिडिओ राखेकाले आधिकारिक भिडिओ भेटिएको छैन ।  

यस प्रतिबन्धले केवल सम्पर्कका माध्यम मात्र नभई दैनिक जीवनशैलीमै ठुलो प्रभाव पारेको छ । विशेषगरी वृद्धवृद्धा फुर्सदको समय काट्न, आफ्नै ठाउँमा बसेर मोबाइल हेर्न, फेसबुक चलाउन बानी परिसकेको थियो । रेडिटमा अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “मेरी आमासँग उनका साथीहरू वा आफन्त कसैको नम्बर छैन, उनलाई मेसेन्जर र उनीहरूको फोटो मात्र थाहा छ । उनी अहिले निकै अलमलमा छिन् ।” उनले थप जानकारी दिँदै आफ्नो बुबा र सासू फेसबुक बन्द भएपछि ‘निकै क्रोधित’ भएको बताएका छन् ।

मोबाइल व्यवसायी शिव खनाल आफूले देखेको अँध्यारो पाटोबारे भन्छन्, “पहिला पहिला टाइम पास गर्थे बिचरा बुढाबुढीहरू । आफ्नै ठाउँमा बसेर मोबाइल हेर्थे, फेसबुक हेरेरै समय कटाउँथे । अब अहिले त्यो बन्द भएपछि टिभीतिर हेर्न गएका छन् । तर, अहिले युट्युब चलाउने टिभी पनि बन्द भएपछि झन् अर्को समस्या छ ।” उनले थपे, “बुढाबुढी मान्छे बिहान बिहान व्यायाम गर्नलाई युट्युब खोल्थे, त्यसैमा हेरेर व्यायाम गर्थे । पढ्ने मान्छे पढ्थ्यो, आध्यात्मिकले भजन सुन्थे । एजुकेसन, लर्निङ सबै कुरा ठप्पै भयो । बच्चालाई कार्टुन लगाइदिन्थे, ड्रइङ सिकाउँथे । यो त अब हाम्रो जीवनयापनको अभिन्न अङ्ग नै बनिसकेको थियो ।”

ह्वाट्सएप, मेसेन्जर, ईमो लगायतका मेसेजिङ एपमाथि लगाइएको प्रतिबन्धले नियमित प्रयोगकर्तालाई मात्र नभई खासगरी भर्खरै इन्टरनेटको पहुँचमा आएर यसको प्रयोग गर्न सिक्दै गरेका देशभरका लाखौँ सर्वसाधारणलाई निकै ठुलो मार्कामा पारेको छ । कतिपयलाई त बन्द भएका यी माध्यम डीएनएस परिवर्तन गरेर वा भीपीएन जस्ता उपाय प्रयोग गरेर चलाउन सकिन्छ भन्ने पनि जानकारी छैन । केही मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले डीएनएस परिवर्तन गर्दा समेत नचल्ने बनाइसकेका छन् । कतिपय प्रयोगकर्ता भने आफै बुझेर वा खोजेर यसको समाधान निकाल्न सक्ने अवस्थामा पनि छैनन् । यसले गर्दा धेरैको सूचनामा पहुँच टुटेको छ, आपसी सम्पर्क अवरुद्ध छ र दैनिकीमा असहजता थपिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १८:१६