close

युट्युब बन्द हुँदा १-१२ सम्मका विद्यार्थी भर्चुअल कक्षाको पहुँचबाट बञ्चित, सरकारसँग छैन विकल्प

टेकपाना टेकपाना

भदौ २३, २०८२ ६:४०

युट्युब बन्द हुँदा १-१२ सम्मका विद्यार्थी भर्चुअल कक्षाको पहुँचबाट बञ्चित, सरकारसँग छैन विकल्प

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध हुँदा सरकारले विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको भर्चुअल कक्षा नै अवरुद्ध भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘NCED Virtual’ नामक युट्युब च्यानल मार्फत विद्यालय स्तर (कक्षा १ देखि १२ सम्म) को पाठ्यसामग्री उपलब्ध गराउँदै आएको थियो । 

सरकार आफैँले युट्युबमाथि प्रतिबन्ध लगाएपछि ती पाठ्य सामग्री बालबालिकालाई कसरी उपलब्ध गराउने भन्ने अन्योलता सिर्जना भएको हो । केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुलीले युट्युबका सामग्रीमा पहुँच नहुँदा यसको विकल्पमा सोच्नुपर्ने समय आएको बताए । तर, युट्युबको वैकल्पिक उपाय के हुन सक्छ भनेर हालसम्म भेउ पाउन नसकेको उनको भनाइ छ । 

उपमहानिर्देशक पराजुलीले भने, “आज निजामती सेवा दिवसको तयारीमा लागियो । भोलि अन्तर्राष्ट्रिय साक्षरता दिवस छ ।‍ त्यसको तयारीमा लाग्नुपर्ने छ ।” विद्यार्थीहरूलाई अध्ययन सामग्री उपलब्ध गराउनु पर्ने भएकाले विकल्पका बारेमा छिट्टै सोचिने उनले बताए । यसका लागि प्राविधिक  विशेषज्ञहरू सहित छलफल गर्ने कुरा उनले टेकपानालाई सुनाए । 

 

के हो एनसीईडी भर्चुअल कक्षा ?

कक्षाभन्दा बाहिर पनि शैक्षिक सामग्री उपलब्ध गराउन तथा ग्रामिण क्षेत्रका बालबालिकाहरूलाई लक्षित गरेर श्रव्यदृश्यसहितका सामग्री दिन सरकारले नै सुरु गरेको माध्यम हो, एनसीईडी भर्चुअल युट्युब च्यानल । सन् २०१६ देखि सुरु भएको उक्त च्यानलमा सन् २०१७ देखि अपलोड गरिएका ५ हजार ६०० भिडिओ सामग्री छन् । सुरुमा शैक्षिक जनशक्ति विकास केन्द्र (एनसीईडी )ले विशेषगरी एसईईका विद्यार्थीहरूलाई लक्षित गरेर सामग्री उपलब्ध गराउन थालेको थियो । 

६ जेठ २०७५ पछि भने शैक्षिक जनशक्ति विकास केन्द्रसहित शिक्षा विभाग र अनौपचारिक शिक्षा केन्द्रलाई एकीकृत गरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्थापना गरियो । त्यसयता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘सिकाई चौतारी’ कार्यक्रम अन्तर्गत भिडिओ सामग्री तयार पार्दै आएको छ । विशेष गरि कोभिड १९ को महामारीको समयमा उक्त युट्युब च्यानलमा प्रसारण भएका सामग्रीहरू विद्यार्थीका लागि निकै उपयोगी बनेका थिए । 

अहिले पनि विद्यार्थीहरूले कक्षाको कोठा बाहेक थप अध्ययनका लागि केन्द्रको युट्युब च्यानलका भिडिओ हेर्ने गरेका छन् । भिडिओहरूमा शिक्षकहरूले सरल तरिकाले पठाउने भएकाले बुझ्न पनि सहज हुन्छ । 

उक्त युट्युब च्यानलमा कक्षा १ देखि १२ सम्ममा पर्याप्त शैक्षिक सामग्रीहरू राखिएका छन् । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट नै अधिकांश विषयका सामाग्री उपलब्ध गराइएको छ ।  कक्षा ११ र १२ का लागि भने अनिवार्य विषयहरूको अध्ययन सामग्री मात्र समावेश छ । कक्षा ११ को नेपाली र सामाजिक अध्ययन विषय राखिएपनि कक्षा १२ को भने नेपाली विषयको मात्र सामग्री उपलब्ध छ । 

चार लाख ८६ हजार बढी सब्सक्राइबर रहेको उक्त युट्युब च्यानलमा भिडिओ सामग्रीहरू कक्षाअनुसार विषय मिलाएर प्ले लिस्टमा मिलाएर राखिएका छन् । तर, युट्युब नै बन्द भएपछि उक्त सामग्री हेरेर अध्ययन गर्ने विद्यार्थीहरू पढाइबाट वञ्चित हुने चिन्ता थपिएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ ६:४०