सौर्य एयरलाइन्सको वेबसाइट ह्याक, राखियो प्रधानमन्त्रीको रक्ताम्य एआई निर्मित तस्बिर
भदौ २४, २०८२ १२:५०
काठमाडौँ । सौर्य एयरलाइन्सको वेबसाइट ह्याक भएको छ । ‘जेन-जी’ प्रदर्शनलाई समर्थन जनाउँदै सोमबार उक्त वेबसाइट ह्याक गरिएको हो । ह्याकरले ‘एसक्यूएल इन्जेक्सन’ विधि प्रयोग गरी वेबसाइटको सामग्री परिवर्तन गरी दिएका छन् ।
वेबसाइटमा ‘हत्यारा सरकार’, ‘बाआमाले हालेको भोटले आज आफ्नै सन्तान मारियो’ जस्ता नारा लेखिएका ब्यानरका साथै ग्रोक एआईद्वारा निर्मित प्रधानमन्त्री केपी शर्मा ओलीको रक्ताम्य तस्बिर राखिएको छ । यसअघि पनि 'जेन-जी' आन्दोलनका समर्थकहरूले पद्मकन्या क्याम्पसको वेबसाइट ह्याक गरेका थिए ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली लगायतका विषयको विरोध गर्दै जेन-जीले सोमबार आन्दोलन सुरु गरेको छ । हाल यो आन्दोलन देशव्यापी रूपमा चर्किरहेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १२:५०
