close

नकारात्मक भिडिओहरूले सर्वसाधारणको मानसिक स्वास्थ्यमा असर गर्दै, सकेसम्म नहेर्न सुझाव

टेकपाना टेकपाना

भदौ २६, २०८२ २१:९

नकारात्मक भिडिओहरूले सर्वसाधारणको मानसिक स्वास्थ्यमा असर गर्दै, सकेसम्म नहेर्न सुझाव

काठमाडौँ । देशको पछिल्लो विषम गतिविधिले सर्वसाधारणको मानसिक स्वास्थ्यमा असर देखा पर्न थालेको छ । प्रत्यक्ष देखेर वा सामाजिक सञ्जालबाट समाचार र भिडिओहरू हेरेर मानसिक रूपमा दबाब परेको भन्दै विभिन्न व्यक्तिहरू मनोचिकित्सक कहाँ समेत पुग्न थालेका छन् ।

छिटो समयमा अकल्पनीय घटनाक्रम विकसित हुँदा यसलाई स्वीकार्न गाह्रो भएकाले मानसिक रूपमा असर परिरहेको मनोचिकित्सक प्रा.डा. गंगा पाठक बताउँछिन् ।

“राजनीतिक क्रान्ति कसैले सोचेको जस्तो भएन । यति छिट्टै यति ठुलो प्रभाव होला, यति धेरै जनधनको क्षति होला भनेर कसैले पनि सोचेका थिएनन् । २४ घण्टामा धेरै कुरा भए । यस्तो बेलामा हाम्रो मनोविज्ञानमा त नराम्रो असर परेको छ,” उनले भनिन् । उक्त घटनाक्रमपछि धेरै व्यक्तिहरूले सहयोग माग्दै आफूलाई सम्पर्क गरिरहेको उनले बताइन् ।

भावनात्मक (अरूको दु:ख पीडा आफैंलाई भए जसरी महसुस गर्न सक्ने) व्यक्तिहरूलाई बढी मनोवैज्ञानिक रूपमा असर परेको उनले बताइन् । “तपाईँलाई भावनात्मक कुराले कति धेरै असर गरिरहेको छ भनेर तपाईँले महसुस गर्ने कुरा हो । यसलाई बोलेर वा शब्दमा वर्णन गरेर सकिँदैन । व्यक्त गर्न नसक्दा यसले पार्ने असर ठुलो हुन्छ ।” मानिस प्राकृतिक रूपमा कति संवेदनशील छ भन्ने कुराले मानसिक रूपमा बढी र घटि असर पार्ने उनको भनाइ छ ।

आँखा अगाडि एउटै घटनाहरू घुमिरहने, अरू कुनै काम गर्न मन नलाग्ने जस्ता भावनात्मक असरहरू मानिसहरूमा देखिन थालेका छन् । मानसिक रूपमा दबाब परिरहँदा बाहिर पनि असर देखिने उनले बताइन् । “छटपटी हुने, ध्यान केन्द्रित गर्न नसक्ने, टाउको दुख्ने, झर्को लाग्ने, चिडचिडाहट हुने (इम्पल्सिभिटी) लगायतका असरहरू देखिन्छन् । कोही पटक पटक शौचालय गइरहेका हुन्छन् ।”

मोबाइलमा सामाजिक सञ्जालमा के भएको छ भनेर खोजी रहने, मिनेट मिनेटमा स्क्रोल गर्नु पनि मनोवैज्ञानिक रूपमा असर पर्नुको कारण भएको उनले बताइन् । मानसिक रूपमा कुनै घटनाक्रमले असर पार्न थालेपछि उक्त घटनाक्रमका बारेमा गहिरिएर खोज्न थालिन्छ । उनले भनिन्, “त्यति धेरै गहिराइमा पुग्नु भनेको पनि आफैंले आफ्नो मानसिक स्वास्थ्यलाई असर गर्नु हो । अहिलेको समयमा भने पलपलको बारेमा बुझ्न मन लाग्छ । यस्तो बेलामा हामीले नकारात्मक कुराहरू दिमागमा हाल्नु भन्दा व्यस्त गराउन ध्यान दिनुपर्छ ।”

उनले भनिन्, “म लेखेर आफूलाई व्यस्त राख्न रुचाउँछु । कसैलाई खाना बनाउन मन लाग्न सक्छ, कोही पढ्न, कोही गीत सुन्न मन पराउँलान् । आफ्नो रुचि भएको काम गर्दै आफूलाई नकारात्मक कुराहरूबाट टाढा राख्नुपर्छ ।” तर आफ्नो रुचिको काम पनि यस्तो बेलामा गर्न मन नलाग्ने भएपनि बिस्तारै बानी पर्ने उनको अनुभव छ ।

जे भयो त्यसलाई बदल्न सकिँदैन भनेर वास्तविकता स्वीकार गर्ने र सकारात्मक सोच राख्न उनले सुझाव दिन्छिन् । “रोम पनि कुनै समयमा जलेर खरानी भएको थियो । अहिले कति राम्रो भएको छ । एउटा घटनामा धेरै पक्ष हुन्छन् । हामी सकारात्मक र आशावादी हुनुपर्छ ।”

सबैभन्दा पहिला आफ्नो ध्यान राख्न उनी सुझाव दिन्छिन् । आफूले बदल्न नसक्ने कुराहरूको बारेमा कम सोच्नु नै उपयुक्त हुने उनले बताइन् । उनले श्वासप्रश्वासको उदाहरण दिँदै भनिन्, “तपाईँले प्राकृतिक रूपमा श्वासप्रश्वास फेर्दै रहनुभएको हुन्छ । मैले ध्यान गरौँ, लामो श्वास फेर्नुहोस् अनि छाड्नुस् भन्दा तपाईँको ध्यान एक्कासि श्वासप्रश्वासमा जान्छ । तर यसको मतलब तपाईँले पहिला श्वास फेर्नु भएको थिएन भन्ने होइन । त्यसैले तपाईँले कुन कुरामा ध्यान दिनुहुन्छ त्यही कुराले बढी असर पर्छ । यसले दु:ख दिन थाल्छ ।”

द्वन्द्व/प्रदर्शनका घटनाहरू प्रत्यक्ष देख्ने व्यक्तिहरूलाई मानसिक रूपमा बढी असर परेको मनोदर्शन साइकोलोजिकल कन्सर्न का प्रबन्ध निर्देशक तथा मनोचिकित्सक प्रज्वल आचार्य बताउँछन् । “द्वितीय स्रोतमा मोबाइल, टिभीबाट सबै व्यक्तिले नै पछिल्ला घटनाहरू हेर्नुभएको छ । यसले त्रासको माहोल बन्यो । डरको अवस्था सिर्जना भएर सम्पर्क गरेर सहयोग मागिरहन पनि भएको छ ।”

आफूले महसुस गरिरहेको कुराहरू आफ्ना नजिकका व्यक्तिसँग बाँड्न र सकेसम्म एक्लै नबस्न उनी सुझाव दिन्छन् । “आफूलाई लागेको डर, भावनाहरू अरूसँग जति बाँड्यो त्यति सहज हुन्छ । अहिले सबै जना अन्योल अवस्थामा छन् । एक अर्काको कुरा सुन्दा सबैले उस्तै महसुस गरेको रहेछन् भनेर बुझ्दा थप सहज महसुस हुन्छ ।”

सकेसम्म समाचारहरू नहेर्न उनी सुझाउँछन् । अहिले सामाजिक सञ्जालका सबै प्लेटफर्ममा आगलागी, मृत्यु, विभत्स तस्बिरहरूले भरिएका छन् । त्यसैले भिडिओहरू नहेर्नु नै उपयुक्त हुने उनले बताए । “समाचार जान्नु नै पर्ने छ भने अनलाइन समाचारहरू पढ्न सकिन्छ । सकेसम्म भिडिओ चाहिँ नहेरेकै राम्रो ।” विशेष गरी बेलुका भने नकारात्मक समाचारबाट टाढा रहन उनले सुझाव दिए ।

“राति नकारात्मक समाचार हेर्दा निद्रा नलाग्ने, डर लाग्ने, तर्सिएर बिउँझिने हुन सक्छ ।” यदि नकारात्मक विचारहरू बढी आएमा मनोचिकित्सकसँग सहयोग माग्न सकिने उनले बताए ।

विभिन्न अस्पतालले सुसाइड प्रिभेन्सन हेल्पलाइन राखेका हुन्छन् । ट्रान्सकल्चर साइकोलोजिकल अर्गनाइजेसनको हेल्पलाइन १६६००१०२००५ वा त्रिवि शिक्षण अस्पतालको नम्बर ९८४००२१६०० मा सम्पर्क गरेर पनि सहयोग माग्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ २१:२४