close

उग्र प्रदर्शनले एनसेललाई ठुलो क्षति, डेटा सेन्टर जोगिँदा सेवामा भने समस्या आएन

टेकपाना टेकपाना

भदौ २९, २०८२ १२:३

उग्र प्रदर्शनले एनसेललाई ठुलो क्षति, डेटा सेन्टर जोगिँदा सेवामा भने समस्या आएन

काठमाडौँ । २४ भदौमा जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा हिंसा भड्किँदा निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले ठुलो भौतिक क्षति ब्यहोर्नु परेको छ । सामाजिक सञ्जाल प्रतिबन्धको विरोध, भ्रष्टाचार अन्त्यसहितका माग राख्दै २३ भदौमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि आक्रोशित भीडले लैनचौर स्थित एनसेल मुख्यालय र उपत्यका बाहिरका तीनवटा सेन्टरमा पनि क्षति पुर्‍याएको छ । 

एनसेल मुख्यालयमा रहेको दुई तलाको भूमिगत पार्किङसहित पुरै भवनमा क्षति पुगेको छ । पार्किङबाहेक १० तलाको भवनमा आगजनी, तोडफोड गरिनुका साथै महत्त्वपूर्ण कागजातसमेत गायब पारिएको कम्पनीले जनाएको छ ।  एनसेल भवनमा रहेका २३ वटा गाडी अराजक भीडले पार्किङबाट निकाल्दै तोडफोडसहित आगजनी गरेका थिए । 

मुख्यालयमै एउटा एनसेल सेन्टर समेत सञ्चालनमा रहेको थियो । त्यसमा पनि तोडफोड र आगजनी गरिएको छ । यसका साथै काठमाडौँ उपत्यका बाहिर धनगढी, महेन्द्रनगर र पोखरामा रहेका एनसेल सेन्टरमा पनि क्षति पुर्‍याइएको छ । संयोगवश ललितपुरको नख्खुमा रहेको एनसेलको डेटा सेन्टर भने सुरक्षित छ । जसका कारण एनसेलको सेवामा कुनै समस्या आउन पाएन ।  

एनसेलको मुख्यालय र सेन्टरहरू क्षतिग्रस्त भए पनि सेवामा भने कुनै पनि अवरोध नपुगेको कम्पनीले जनाएको छ । दैनिक कामकाज भने प्रभावित भएको छ । गत सोमबार आन्दोलन उग्र बनेर प्रदर्शनकारीको मृत्यु हुन थालेपछि सरकारले कर्फ्यु आदेश जारी गरेको थियो । त्यस लगत्तै एनसेलले कर्मचारीहरूलाई कार्यालय छोड्न र आवश्यकताअनुसार घरबाटै काम गर्न (वर्क फ्रम होम) भनेको थियो । 

गत मङ्गलबार अराजक भीडले एनसेलको मुख्यालयमा तोडफोड र आगजनी गरेपछि मुख्यद्वारमै ठुलो क्षति पुगेको छ । दुई तलासम्म आगो लागेकाले त्यहाँ रहेका सबै सामग्री जलेर नष्ट भएको एनसेलले जनाएको छ । 

क्षति मूल्याङ्कनको काम भइरहेकाले के कति क्षति पुग्यो भन्न सक्ने अवस्था अहिले नै नरहेको कम्पनीले जनाएको छ । भवन प्रवेश गर्ने द्वारबाटै ठुलो क्षति भएकाले तत्कालै कार्यालय सञ्चालनमा आउन सक्ने स्थिति छैन । 

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १२:३