close

आरजू राणाले ‘जेन जी’सँग माफी मागेको भनिएको भिडिओ ४ वर्ष पुरानो

टेकपाना टेकपाना

भदौ २९, २०८२ २२:२३

आरजू राणाले ‘जेन जी’सँग माफी मागेको भनिएको भिडिओ ४ वर्ष पुरानो

काठमाडौँ । निवर्तमान परराष्ट्र मन्त्री आरजू राणा देउवाले ‘जेन जी’सँग माफी मागेको दाबीसहितको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा यो भिडिओ हालको ‘जेन जी’ प्रदर्शनसँग सम्बन्धित नभई ४ वर्ष पुरानो हो ।

भाइरल भिडिओमा राणाले भनेकी छन्, “...समवेदना पनि छ । मैले गर्नसक्ने सानोतिनो जे-जे काम गर्न सक्छु, यहाँ बसेर पनि फोनको भरमा गरिरहेको छु । किनकि म एउटा समाजसेवी हुँ । र, म हमेशा आफ्नो देश, आफ्नो समाज, आफ्नो माटो, आफ्नो मान्छे र आफ्नो नेपालीप्रति समर्पित छु। यसरी खटिरहनुभएका सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। यस्तो काम अगाडि पनि गर्नुस्, मैले गर्ने सहयोग पनि प्रदान गर्ने नै छु भन्दै आफ्ना केही शब्दहरू यहीँ थाँती राख्छु, धन्यवाद। जय नेपाल ।”


यो ३६ सेकेन्डको क्लिपलाई आधार बनाएर आरजूले माफी मागेको भ्रामक दाबी गरिएको छ ।

के हो सत्य ?
यस भिडिओको स्क्रिनशटलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा यसको २ मिनेट २५ सेकेन्ड लामो सक्कली भिडिओ १५ मे २०२१ मा आरजू राणाको आधिकारिक फेसबुक पेजमा अपलोड भएको पाइयो । भिडिओ हेर्दा यो कोभिड महामारीको सन्दर्भमा खिचिएको स्पष्ट हुन्छ । उक्त भिडिओमा आरजूले कोभिड महामारीको समयमा जनताको सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अस्पताल व्यवस्थापक, कर्मचारी, एम्बुलेन्स चालक, स्वयंसेवकलगायतलाई धन्यवाद दिएकी थिइन् । आफू बिरामी भएर तीन महिनापछि अस्पतालबाट निस्किएको र नेपालबाहिर रहेको पनि उनले बताएकी थिइन् । कोभिड महामारीमा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गरिएको सोही पुरानो भिडिओलाई हालको ‘जेन जी’ प्रदर्शनसँग जोडेर गलत अर्थ लाग्ने गरी फैलाइएको पुष्टि हुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ २२:२३