सीसीटिभी फुटेजसहित एनसेलले अराजक समूह विरुद्ध प्रहरीमा दियो तोडफोड, आगजनी र डकैतीको उजुरी
भदौ ३०, २०८२ १५:२४
काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सीसीटिभी फुटेज सहितका प्रमाण जुटाएर कार्यालय तोडफोड, आगजनी र डकैतीमा संलग्न विरुद्ध प्रहरीमा उजुरी दिएको छ । काठमाडौँको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २४ भदौ २०८२ का दिन जेन-जी प्रदर्शन र आन्दोलनका नाममा भएको आपराधिक गतिविधि विरुद्ध एनसेलले उजुरी दिएको हो ।
विभिन्न अपराधी समूहहरूले आन्दोलनको मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैती गरी कम्पनीको सम्पत्तिमा ठुलो क्षति पुगेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौँमा उजुरी दर्ता गरिएको एनसेलले जनाएको छ । उजुरीमा यी घटनाहरूमा संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भनी उल्लेख गरिएको छ ।
आन्दोलनको नाममा अपराधीहरूले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एकै ठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरूलार्ई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको बताइएको छ । भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरेका प्रदर्शनकारीले ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेका थिए ।
त्यसपछि भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेको, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी तथा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।
एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मसिन लगायतका कार्यालयको काममा प्रयोग हुने सम्पूर्ण सामानहरू डकैती गरी लगेको जनाएको छ । कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मनिटर तथा भवनको दोस्रो तलामा रहेको फिटनेसका सामानहरू बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू डकैती गरी झिकेर लगेको उल्लेख छ ।
अराजक समूहले कम्पनीका आफ्नै र तेस्रो पक्षबाट भाडामा लिएका महँगा मोटर गाडीहरू भेहिकल रूपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरी भवनको आँगनमा ल्याई जलाएका थिए । यस क्रममा कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा उल्लेख छ ।
प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सीसीटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्याङ्कनको कार्य भैरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने जानकारी पनि कम्पनीले दिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १५:२४
