प्रदर्शन चर्किरहँँदा एकाएक यसरी फैलियो पर्यटक हाइसमा प्रहरी आइरहेको झुटो खबर, झन्डै भएन क्षति
भदौ ३१, २०८२ १७:४०
काठमाडौँ । २३-२४ भदौको जेनजी प्रदर्शनका क्रममा कैयन् भ्रामक, मिथ्या र अपुष्ट सूचना फैलिए । त्यस क्रममा संसद् भवनमा ३२ जना युवाहरूको शव भेटिएको, मेयरको घरमा भारी मात्रामा सुन भेटिएको, भारतबाट सेना नेपाल प्रवेश गरेको लगायतका अनेक भ्रामक र मिथ्या सूचना मौलाए ।
त्यही सिलसिलामा पर्यटक हाइसमा प्रहरी लुकेर प्रदर्शनकारी भएको ठाउँतिर आइरहेको भन्ने पोस्टले पनि व्यापक चर्चा पायो । फेसबुकमा अनुप बुढाथोकी नाम गरेका प्रयोगकर्ताले प्रदर्शन चर्किएकै दिन अर्थात् २४ भदौ बिहान ९ः२७ बजे आफ्नो फेसबुकमा ‘गोप्य सूचनाका अनुसार tourist number plate used मा प्रहरीहरू आउँदै हुनुहुन्छ कृपया सबैजना सुरक्षित बस्नुहोला।विशाल बजार एरियाबाट’ क्याप्सन राख्दै दुई ओटा फोटो राखे । उक्त हाइसको नम्बर बा १ प १५५५ थियो । त्यसको नौ मिनेटपछि हाइसको नम्बर देखिएको फोटो हटाए । तर, उनको पोस्ट व्यापक रूपमा फैलिसकेको थियो ।
उक्त पोस्टपछि बिहान ९ः३४ बजे ‘सन्दीप्स ब्लग’ नामक पेजले सोही पोस्ट राख्यो ।
त्यस्तै ९ः३७ बजे ‘पीएससी प्रिपरेसन’ नामक पेजले पछाडि ‘यो केपीले परिचालित प्रहरी हुन सक्छ ।” भन्ने शब्द थप्यो ।
उनकै पोस्टलाई आधार मान्दै ‘लेजेन्ड्स अफ जनकपुर’ नामको पेजले अनुपले राखेका फोटो र क्याप्सन पोस्ट गर्यो ।
त्यही समयमा खरिपुर नगरपालिका नामक फेसबुक पेजले पनि उक्त पोस्ट राखेको थियो ।
अनुप बुढाथोकीलाई नै क्रेडिट दिँदै बिहान ९ः४१ बजे ‘रुटिन अफ लोकसेवा बन्द’ नामको पेजले तीन ओटा फोटो सहितको पोस्ट राख्यो ।
यसरी उक्त पोस्ट व्यापक रूपमा फैलियो । सुरुवातमा फोटोको श्रेय अनुप बुढाथोकीलाई दिए पनि अन्य प्रयोगकर्ताले क्रेडिट हटाउँदै गए ।
‘लेजेन्ड्स अफ जनकपुर’ नामक पेजमा विष्णु श्रेष्ठ नामका व्यक्तिले भिडिओ अपलोड भएको ३ दिनपछि कमेन्ट लेखे, “वाहियात सूचना ! नबुझि दिने र न सोचि नबुझि लेख्ने पेजहरुलाई भोलि छानी छानी कारबाही हुनुपर्छ । १९ दिन सम्म फरान्सीको सुटिङ ग्रुप काम गर्ने हामी ३४ ओटा हायसमा ।” उक्त भिडिओमा त्यही बा १ प १५५५ नम्बरको हाइस देखिन्छ ।
उनले पर्यटक बोक्ने हाइसभित्रको अर्को भिडिओ पनि राखेका छन् । त्यस भिडिओमा पर्यटकहरू रमाइरहेका देखिन्छन् ।
यसरी पर्यटक बोकेर आइरहेको हाइसलाई गोप्य स्रोतको हबला दिँदै प्रहरी आइरहेका छन् भन्ने अफवाह फैलियो । धन्न आन्दोलनकारीले हाइस र त्यसमा सवार पर्यटकमाथि त्यस्तो कुनै आक्रमण गरेनन् ।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १७:४०
