युट्युबमा भ्युज घट्नुको कारण एड ब्लकर हुन सक्ने, कम्पनीले दियो यस्तो सङ्केत
असोज १, २०८२ १०:२८
काठमाडौँ । पछिल्लो एक महिनादेखि धेरै युट्युबरहरूले आफ्नो भिडिओको भ्युज सङ्ख्यामा ठुलो गिरावट आएको गुनासो गरिरहेका छन् । अगस्टको मध्यदेखि देखिएको यो गिरावटको कारणबारे विभिन्न अनुमान गरिएका छन्, तर सबैभन्दा बलियो सम्भावना एड ब्लकरको प्रयोगसँग जोडिएको छ । यद्यपि युट्युबले यसलाई सिधै पुष्टि भने गरेको छैन ।
यो विषय पहिलो पटक युट्युबर जोश स्ट्राइफ हेजले बाहिर ल्याएका थिए । उनले आफ्नो एनालिटिक्समा टिभी, फोन र ट्याब्लेटबाट आउने भ्युज स्थिर रहेको तर कम्प्युटरबाट आउने भ्युजमा करिब ५०% ले कमी आएको देखिएको बताएका थिए ।
लिनस टेक टिप्सको च्यानल टेकलिङ्क्डले पनि आफ्नो एनालिटिक्समा यस्तै नतिजा देखिएको पुष्टि गर्यो । यसले के सङ्केत गर्छ भने, एड ब्लकर प्रयोग गर्ने दर्शकहरू (जो प्रायः कम्प्युटरमा हुन्छन्) को भ्युज सही रूपमा गणना भइरहेको छैन । यो एड ब्लकरहरूविरुद्ध युट्युबले चलाइरहेको अभियानको अर्को कदम हुन सक्ने अनुमान गरिएको छ ।
के भन्छ युट्युब ?
भ्युज सङ्ख्यामा आएको कमीलाई स्वीकार गर्दै युट्युबको मूल कम्पनी गुगलले एउटा सम्भावित कारणबारे सङ्केत गरेको छ । गुगलका अनुसार एड ब्लकर र अन्य सामग्री रोक्ने टुलहरूले रिपोर्ट गरिएको भ्युज सङ्ख्याको शुद्धतामा असर पार्न सक्छन् । कम्पनीले अगाडि भनेको छ, "जुन च्यानलका दर्शकहरूले यस्ता टुलहरू बढी प्रयोग गर्छन्, उनीहरूले आफ्नो ट्राफिकमा बढी उतारचढाव देख्न सक्छन् ।"
युट्युबले भ्युज घट्नुको पछाडि आफ्नो नयाँ एआई आधारित उमेर भेरिफिकेसन टुलको कुनै भूमिका नरहेको कुरामा भने प्रस्ट पारेको छ । कम्पनीका अनुसार क्रिएटरहरूलाई असर पार्ने कुनै प्रणालीगत समस्या छैन । युट्युबले 'मौसमी हेर्ने बानी र प्लेटफर्ममा बढेको प्रतिस्पर्धा जस्ता अन्य सम्भावित कारणहरू पनि प्रस्तुत गरेको छ । यद्यपि, एड ब्लकरको विषय सबैभन्दा बलियो देखिन्छ ।
पछिल्लो अध्यावधिक: असोज १, २०८२ १०:२८
