काठमाडौँ । माइक्रोसफ्टले आफ्नो सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम (OS) विन्डोज १० को सपोर्ट बन्द गर्ने मिति घोषणा गरिसकेको छ । १४ अक्टोबर, २०२५ देखि कम्पनीले विन्डोज १० का लागि सबै प्रकारका प्राविधिक सहयोग, नयाँ फिचर र सबैभन्दा महत्त्वपूर्ण मानिने सुरक्षा अपडेटहरू उपलब्ध गराउने छैन ।
यो मितिपछि पनि तपाईँको कम्प्युटरमा विन्डोज १० चल्न त चल्छ, तर त्यो भाइरस, मालवेयर र अन्य साइबर आक्रमणको निकै ठुलो जोखिममा हुनेछ ।कम्पनीको यो घोषणाले विश्वभरका करोडौँ विन्डोज १० प्रयोगकर्ताहरूलाई अब के गर्ने भन्ने प्रश्न खडा गरेको छ ।
विन्डोज १० को सपोर्ट अन्त्य हुने दिन नजिकिँदै गर्दा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता र बजेटअनुसार समयमै सही निर्णय लिनु आवश्यक छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई विन्डोज ११ मा अपग्रेड गर्न वा नयाँ कम्प्युटर किन्न सुझाव दिएको छ । तर, प्रयोगकर्तासँग अन्य विकल्पहरू पनि छन्, जस्तै अतिरिक्त शुल्क तिरेर केही समयका लागि सुरक्षा अपडेटहरू लिने वा लिनक्स जस्ता वैकल्पिक अपरेटिङ सिस्टममा जाने ।
सपोर्ट बन्द भएपछि के हुन्छ ?
माइक्रोसफ्टले सपोर्ट बन्द गरेपछि विन्डोज १० प्रयोगकर्ताहरूले विभिन्न गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ । सबैभन्दा ठुलो चिन्ता सुरक्षाको हो । सुरक्षा अपडेटहरू बन्द भएपछि ह्याकरहरूले अपरेटिङ सिस्टमका नयाँ पत्ता लागेका कमजोरीहरूलाई सजिलै निशाना बनाउन सक्छन् । साइबर आक्रमणहरू निरन्तर विकसित भइरहेकाले पुरानो र असुरक्षित प्रणालीमा तपाईँको डेटा र व्यक्तिगत जानकारी चोरी हुने सम्भावना निकै बढी हुन्छ ।
अक्टोबर २०२५ पछि माइक्रोसफ्टले विन्डोज १० मा देखिने कुनै पनि प्राविधिक समस्याका लागि आधिकारिक रूपमा सहयोग गर्ने छैन । सफ्टवेयरमा आउने बग, कनेक्टिभिटी वा अन्य समस्याहरू समाधान गर्न प्रयोगकर्तालाई कठिनाइ हुनेछ ।
बिस्तारै अन्य कम्पनीहरूले पनि आफ्ना सफ्टवेयर र हार्डवेयरलाई विन्डोज १० मा चल्ने गरी बनाउन छाड्नेछन् । यसले गर्दा नयाँ एप र प्रिन्टर, क्यामेरा जस्ता डिभाइसहरू तपाईँको पुरानो अपरेटिङ सिस्टममा नचल्ने समस्या आउन सक्छ ।
नियमित अपडेट बिना सिस्टमको गति र विश्वसनीयतामा कमी आउन सक्छ । कम्प्युटर ढिलो चल्ने, बारम्बार ह्याङ हुने र डेटा हराउन सक्ने जस्ता समस्याहरू देखिन थाल्छन् ।
अब के गर्ने ?
माइक्रोसफ्टको पहिलो र सबैभन्दा सिफारिस गरिएको समाधान विन्डोज ११ मा अपग्रेड गर्नु हो । यदि तपाईँको कम्प्युटर योग्य छ भने यो अपग्रेड पूर्ण रूपमा निःशुल्क छ । तर विन्डोज ११ का लागि निश्चित हार्डवेयर आवश्यकता भने तपाईँको डिभाइसले पुरा गर्नुपर्ने हुन्छ । जसमा TPM 2.0 (ट्रस्टेड प्लेटफर्म मोड्युल) र निश्चित आधुनिक प्रोसेसरहरू अनिवार्य गरिएका छन् ।
यही कारणले गर्दा धेरै पुराना र कतिपय अवस्थामा केही वर्षअघि किनिएका कम्प्युटरहरू पनि विन्डोज ११ का लागि अयोग्य ठहरिन सक्छन् । एक अनुमान अनुसार यसले गर्दा विश्वभरका करिब ४० करोड पीसीहरू काम लाग्ने अवस्थामा हुँदाहुँदै पनि फ्याँकिने र ई-वेस्ट (e-waste) को ठुलो समस्या सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ ।
तपाईँको पीसी विन्डोज ११ का लागि योग्य छ कि छैन भनेर जाँच्न माइक्रोसफ्टको पीसी हेल्थ चेक (PC Health Check) एप प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईँको कम्प्युटर विन्डोज ११ का लागि योग्य छैन वा तपाईँ तत्काल अपग्रेड गर्न चाहनुहुन्न भने माइक्रोसफ्टले एउटा अस्थायी समाधान पनि ल्याएको छ । कम्पनीले यसका लागि विस्तारित सुरक्षा अपडेट (Extended Security Updates - ESU) कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत सामान्य प्रयोगकर्ताले थप एक वर्ष, अर्थात् अक्टोबर १३, २०२६ सम्मका लागि सुरक्षा अपडेटहरू प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिनका लागि तीनवटा विकल्प छन् ।
जसमा एक वर्षको सुरक्षा अपडेटका लागि सिधै ३० डलर शुल्क तिर्न सकिन्छ । अर्को आफ्नो डेटालाई वनड्राइभ (OneDrive) मार्फत सिङ्क गर्न विन्डोज ब्याकअप प्रयोग गरेर पनि यो सुविधा निःशुल्क लिन सकिन्छ । तर ५ जीबीभन्दा बढी डेटा भएमा अतिरिक्त वनड्राइभ स्टोरेज किन्नुपर्ने हुन सक्छ, जुन अप्रत्यक्ष रूपमा शुल्क तिरे बराबर हो ।
यस बाहेक तेस्रो भनेको माइक्रोसफ्टका सेवाहरू (जस्तै Bing सर्च, Edge ब्राउजर) प्रयोग गरेर कमाएको १,००० रिवार्ड्स पोइन्टहरू रिडिम गरेर पनि यो सुविधा लिन सकिन्छ । यद्यपि यो केवल एक वर्षको अस्थायी समाधान हो, दीर्घकालीन होइन ।
लिनक्स अपरेटिङ सिस्टममा जाने कि ?
आफ्नो पुरानो तर काम लाग्ने कम्प्युटरलाई फ्याँक्नुको सट्टा नयाँ जीवन दिन चाहनेहरूका लागि लिनक्स एक उत्कृष्ट विकल्प हो । ‘End of 10’ नामक एक विश्वव्यापी अभियानले विन्डोज १० प्रयोगकर्ताहरूलाई लिनक्समा जान प्रोत्साहन गरिरहेको छ ।
लिनक्स अपरेटिङ सिस्टमहरू प्रायः निःशुल्क हुन्छन् र यसका लागि नयाँ हार्डवेयर वा लाइसेन्स शुल्क लाग्दैन । विन्डोजको तुलनामा लिनक्समा विज्ञापन र जासुसी गर्ने सफ्टवेयर (spyware) कम हुन्छन्, जसले तपाईँको गोपनीयता सुरक्षित राख्छ ।
पुरानो हार्डवेयरलाई पुन: प्रयोग गर्न मिल्ने हुँदा यसले ई-वेस्ट घटाउन र वातावरण संरक्षणमा पनि मद्दत गर्छ । पहिलेको जस्तो जटिल नभएर लिनक्स मिन्ट, जोरिन ओएस जस्ता आधुनिक लिनक्स वितरणहरू निकै सजिला र विन्डोजजस्तै देखिने इन्टरफेसका साथ आउँछन् ।
अन्तिम विकल्प नयाँ कम्प्युटर किन्ने
यदि तपाईँको हालको कम्प्युटर विन्डोज ११ का लागि उपयुक्त छैन र तपाईँ अन्य विकल्पमा पनि जान चाहनुहुन्न भने अन्तिम विकल्प भनेको विन्डोज ११ इन्स्टल भएको नयाँ कम्प्युटर किन्नु हो । नयाँ डिभाइसहरूले राम्रो प्रदर्शन, बलियो सुरक्षा र पछिल्ला सबै सुविधाहरू प्रदान गर्छन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०८२ ९:४६
