close

पाँच हजार डलर पुरस्कार राशिको पब्जी मोबाइल नेपाल सिरिजको ग्रान्ड फिनालेको आज अन्तिम दिन

टेकपाना टेकपाना

असोज ८, २०८२ ७:५९

पाँच हजार डलर पुरस्कार राशिको पब्जी मोबाइल नेपाल सिरिजको ग्रान्ड फिनालेको आज अन्तिम दिन

काठमाडौँ । नेपालमा लोकप्रिय ई-स्पोर्ट्स गेम पब्जीको बहुप्रतिक्षित प्रतियोगिता ‘२०२५ पब्जी मोबाइल नेपाल सिरिज’ को ग्रान्ड फिनाले आधिकारिक रूपमा सुरु भएको छ । २२ देखि सुरु भएको फिनालेको आज (२४ सेप्टेम्बर) अन्तिम दिन हो ।  

कूल पाँच हजार अमेरिकी डलर पुरस्कार राशि रहेको यो प्रतियोगितामा देशभरबाट ११ हजारभन्दा बढी खेलाडीहरू सहभागिता रहेको आयोजकले जनाएको छ । १० भदौदेखि सुरु भएको ओपन क्वालिफायर चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोली ग्रान्ड फिनालेमा पुगेका छन् । यी टोलीहरूले राष्ट्रिय उपाधिका लागि मात्र नभई डिसेम्बर २०२५ मा हुने ‘पब्जी मोबाइल स्टार च्यालेन्ज’ मा सहभागिता जनाउने अवसरका लागि समेत प्रतिस्पर्धा गर्नेछन् ।

यस पटकको प्रतियोगितामा पहिलो पटक फ्रेन्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ । जसले यसलाई थप आकर्षक बनाएको छ । यो फर्म्याट अन्तर्गत शीर्ष १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नुका साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर पनि पाउनेछन् । 

यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर-केन्द्रित सहभागितासँग जोडेको छ । आयोजकका अनुसार यो प्रतियोगिता नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक उपयोगी प्लेटफर्म बनेको छ ।

यस वर्षको सिरिजले समावेशीताको प्रवर्धनका लागि एक महत्त्वपूर्ण कदम चालेको छ । फाइनलमा नेपालमै पहिलो पटक ‘गर्ल्स अन्ली शो-म्याच’ आयोजना गरिएको छ । जसमा १६ वटा महिला टोलीबिच प्रतिस्पर्धा हुनेछ । 

सहभागी टोलीहरूले कूल २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस कदमले ई-स्पोर्ट्स प्रतिभामा लैङ्गिक विभेद नहुने सन्देश दिँदै नेपालको गेमिङ समुदायमा अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

दर्शकहरूले ग्रान्ड फिनालेका खेलहरू पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।
 

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ ७:५९