close

नागरिक उड्ड्यन प्राधिकरणसँगै अधिकांश विमानस्थलका वेबसाइट ह्याक, के भने ह्याकरले ?

टेकपाना टेकपाना

असोज १०, २०८२ १५:१५

नागरिक उड्ड्यन प्राधिकरणसँगै अधिकांश विमानस्थलका वेबसाइट ह्याक, के भने ह्याकरले ?

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटसँगै यसको सबडोमेनमा सञ्चालित देशभरका अधिकांश विमानस्थलका वेबसाइटहरू ह्याक भएका छन् । आफूलाई 'जेनजी राइजिङ नेपाल-सीटीआर नेपाल' नामले चिनाउने ह्याकर समूहले यी वेबसाइटहरू नियन्त्रणमा लिई नेपाली र अंग्रेजी दुवै भाषामा चेतावनीयुक्त सन्देश राखेको छ ।

ह्याकर समूहले राजनीतिक दलका कार्यकर्ताहरूलाई 'झोले' को संज्ञा दिँदै उनीहरूका गतिविधि सह्य नहुने भन्दै कडा चेतावनी दिएको छ । ह्याक गरिएका वेबसाइटहरूमा डिस्प्ले गरिएको सन्देशमा भनिएको छ, "सबै झोलेहरूलाई कडा चेतावनी! हामी कुनै पनि राजनीतिक दलका अन्ध समर्थक होइनौं, न त कसैको तलुवा चाट्ने काम गर्छौं । हामी सत्य बोल्छौं, तथ्य देखाउँछौं - चाहे त्यो तपाईंको नेताले मन पराओस् या नपराओस् ।"

सन्देशमा थप भनिएको छ, “पछिल्लो पोस्टमा देखिएको झोलेहरूको बग्रेल्ती उपस्थितिलाई हामीले ध्यानपूर्वक हेरेका छौं । अबदेखि तपाईंहरूको हरेक कमेन्ट, हरेक आइडी र हरेक गतिविधि ट्र्याक गरिन्छ । आफ्नो ठाउँ नछिचोस् - नत्र नाम, आइडी र प्रमाणसहित सबै खुलासा गरिनेछ ।”

ह्याकर समूहले सामाजिक सञ्जालमा गालीगलौज, धम्की वा झूटो प्रचार नगर्नसमेत चेतावनी दिएको छ ।

ह्याक गरिएका वेबसाइटहरूमा airports.caannepal.gov.np, biratnagar.caannepal.gov.np, simara.caannepal.gov.np, nepalgunj.caannepal.gov.np, gbia.caannepal.gov.np लगायतका रहेका छन् । यी सबै वेबसाइटमा एउटै चेतावनीयुक्त सन्देश पोस्ट गरिएको छ ।

वेबसाइट ह्याक भएसँगै प्राधिकरणले आफ्नो सुरक्षा कमजोरी लुकाउन ‘नियमित मर्मतसम्भार भइरहेको’ सूचना डिस्प्ले गरेको छ । प्राधिकरणले वेबसाइटमा भएका सबै डेटा सुरक्षित रहेको दाबी गर्दै वेबसाइट छिट्टै अनलाइन हुने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १५:१७