२० गतेसम्म भारी वर्षाको सम्भावना, यसरी लिनुहोस् बाढी, पहिरो र सडकको आधिकारिक जानकारी
असोज १७, २०८२ ११:३९
काठमाडौँ । २० असोजसम्म नेपालका विभिन्न ठाउँमा ठुलो वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । ठुलो वर्षाको कारण ठाउँ-ठाउँमा बाढी पहिरोको जोखिम रहेको र सडकहरू पनि जोखिममा रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउन भनिएको छ । यस्तो अवस्थामा आफू आसपास वा यात्रा गर्न लागेको ठाउँबारे जानकारी लिनु उचित हुन्छ । त्यसको लागि विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ ।
बाढीबारेका सूचना प्राप्त गर्ने सबैभन्दा भरपर्दो माध्यम जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको नेपाल बाढी सूचनाका हरेक सूचना पछ्याउनु र उक्त निकायमा फोन गर्नु नै हो ।
सूचना लिनको लागि पैसा नलाग्ने हटलाइन नम्बर ११५५ मा डायल गर्नुहोस् । त्यसपछि २ डायल गर्नुहोस् र तपाईको क्षेत्रमा बग्ने खोला वा नदीमा बाढी आउने सम्भावना के कस्तो छ थाहा पाउनुहोस् ।

११५५ मा फोन गर्न सम्भव नभएमा तपाईँ नजिकैको नदी वा खोलामा बाढी आउन लागेको बारे थाहा पाउने अरू पनि उपाय छन्। नदी वा खोलाको माथिल्लो क्षेत्रमा वर्षा मापन केन्द्र र बाढी मापन केन्द्र राखिएका हुन सक्छन् । यहाँ काम गर्ने मौसम अवलोकनकर्ता र बाढी नाप्ने गेज रिडरहरुको नम्बर सेभ गरेर राख्नुहोस् र उनीहरूलाई फोन गर्नुहोस् । उनीहरू उपलब्ध नभएमा माथिल्लो क्षेत्रका आफन्त र साथीभाइहरूलाई सोध्दा राम्रो हुन्छ।
आफ्नो पालिकाको विपद् सम्पर्क व्यक्तिसँग पनि जानकारी लिन सक्नुहुन्छ । उनीहरूको नम्बर पालिकाको वेबसाइटमा उपलब्ध हुन्छ ।
तपाईंले स्थानीय प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको नम्बरमा फोन गरेर पनि बाढीबारे जानकारी लिन सक्नुहुन्छ । त्यसैगरी स्थानीय रेडक्रस, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूबाट पनि जानकारी लिन सक्नुहुन्छ ।

बाढी आउन सक्ने क्षेत्रमा बाढी सूचनाले ११५५ बाट एसएमएस पनि पठाउँछ । त्यसलाई पनि पढ्न सकिन्छ ।
तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने जल तथा मौसम विज्ञान विभागको वेबसाइट हेर्नुहोस् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको फेसबुक पेजबाट पनि वर्षा र बाढीबारे सूचना प्रवाह भइरहेका हुन्छन । फेसबुक पेज यहाँ रहेको छ । बाढीबारे जानकारीको लागि नेपाल बाढी सूचनाको फेसबुक पेज हेर्नुहोस् ।
बाढी पहिरोसँगै सडकको अवस्थाबारे पनि जानकारी लिएर यात्रा गर्न सरकारले सुझाव दिएको छ । सडकको अवस्थाबारे जानकारी लिनको लागि सबैभन्दा सजिलो उपाय भनेको नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई फोन गर्नु हो । १०० नम्बरमा नेपाल प्रहरी र १०३ नम्बरमा ट्राफिक प्रहरीलाई फोन गर्न सकिन्छ । नेपाल प्रहरीको टोल फ्री नम्बर १६६००१४१५१६ मा फोन गरेर पनि जानकारी लिन सकिन्छ । सकभर प्रहरी र ट्राफिक प्रहरीले नै सडकबारे जानकारी दिन्छन्, उनीहरूले जानकारी दिन नसकेमा जानकारी दिने व्यक्तिको नम्बर तपाईंलाई उपलब्ध गराउँछन् ।
साथै हरेक जसो सडक डिभिजनले अहिले सामाजिक सञ्जालबाट सूचना दिइरहेका हुन्छन् । सडक डिभिजनका सामाजिक सञ्जाललाई फलो गरेर पनि सडकको अवस्थाबारे जानकारी लिन सकिन्छ । उदाहरणको लागि मुग्लिन-नारायणगढ सडकबारेको सम्पूर्ण जानकारीको लागि सडक डिभिजन भरतपुरको फेसबुक पेज फलो गर्नुहोस् । सामाजिक सञ्जालमा सम्पर्क व्यक्तिको नम्बर समेत उपलब्ध छ ।
त्यस्तै नेपाल प्रहरीको फेसबुक पेजमा पनि सडकको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।
उपयोगी नम्बरहरू
नेपाल प्रहरी: १००
ट्राफिक प्रहरी:१०३
सशस्त्र प्रहरी बल : १११४
प्रहरी आपतकालीन नम्बर: ०१-४२२८४३५
प्रहरी हटलाइन: ९८५१२८३८३५
एम्बुलेन्स: १०२
महानगरीय परिसर, काठमाडौं: ४२६१९४५ /४२६१७९०
महानगरीय परिसर, ललितपुर: ५५२१२०७
महानगरीय परिसर, भक्तपुर: ६६१४८२१
काठमाडौं महानगरपालिकाको हटलाइन: १६६००१०५५११, ११८०
काठमाडौं महानगर प्रहरी बलको हटलाइन: ९८५१३५६५०९
बाढीको अवस्थाबारे जानकारी लिन: ११५५
विपद् सम्बन्धी सूचना र जानकारी लिन: ११४९
नेपाल रेडक्रस ब्लड बैंक, भृकुटीमण्डप: ०१४२२९३४४ / ०१४४२५३४४
पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १०:४४
