close

आफ्नो फोटो राख्दै ‘उज्यालो नेपाल पार्टी’को प्रचार भएपछि कुलमानले भने- मेरो कुनै संलग्नता छैन

टेकपाना टेकपाना

असोज १७, २०८२ १८:२७

आफ्नो फोटो राख्दै ‘उज्यालो नेपाल पार्टी’को प्रचार भएपछि कुलमानले भने- मेरो कुनै संलग्नता छैन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल पार्टी’ र त्यसका अध्यक्षसँग आफूलाई जोडेर विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका सूचना तथा समाचार गलत भएको बताएका छन् । घिसिङले उक्त पार्टीमा आफ्नो कुनै संलग्नता नरहेको, आवद्धताका बारेमा कुनै छलफल नभएको र प्रचार गरिएजस्तो कुनै जुम मिटिङमा पनि आफ्नो सहभागिता नरहेको स्पष्ट पारेका हुन् ।

फेसबुकमा एक पोस्ट राख्दै उनले आफूसँग कुनै छलफल वा सल्लाह नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको बताएका छन् ।

ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको ‘उज्यालो नेपाल पार्टी’ ले कुलमान घिसिङसँग वार्तामा रहेको र उनी पनि पार्टीमा संलग्न हुने दाबी गर्दै  प्रचार गरेको पाइएको छ । पार्टीको नाम घिसिङको ‘उज्यालो नेपाल अभियान’ सँग मिल्दोजुल्दो भएकाले पनि यो हल्ला फैलिएको थियो ।

तामाङको समूहले घिसिङको तस्बिर प्रयोग गरी प्रचार सामग्री बनाउनुका साथै भर्चुअल बैठकमा घिसिङ सहभागी हुने आशयका सूचना प्रसार गरिएको थियो ।

हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री घिसिङले आफू कुनै राजनीतिक दलसँग संवादमा नरहेको र आफूलाई नसोधी फोटो राखेर प्रचार गरिएकोमा आपत्ति जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८२ १८:३६