तपाईंको युट्युब च्यानल ह्याक भयो ? नआत्तिनुहोस्, यसरी सजिलै ल्याउन सकिन्छ फिर्ता
असोज १८, २०८२ १६:८
काठमाडौँ । एक कन्टेन्ट क्रिएटरले आफ्नो च्यानल र कन्टेन्टमा धेरै समय र मेहनत लगाएको हुन्छ । यस्तोमा यदि च्यानल ह्याक भयो भने वर्षौंदेखिको मेहनत खेर जान्छ र पूरै करिअर नै धरापमा पर्न सक्छ । तर चिन्ता नलिनुहोस् यदि तपाईंलाई आफ्नो युट्युब च्यानल ह्याक भएको शंका छ वा कसैको एक्सेसमा गइसकेको छ भने केही महत्त्वपूर्ण कदम चालेर यसलाई फिर्ता पाउन सक्नुहुन्छ । ‘युट्युब’को सपोर्ट पेजमा दिएको तरिकालाई आधार बनाएर यस लेखमा च्यानल ह्याक हुँदा अपनाउनुपर्ने उपायको बारेमा विस्तृत चर्चा गरिएको छ:
सबैभन्दा पहिले च्यानल ह्याक भएको कसरी थाहा पाउने ?
तपाईंको च्यानलमा कसैले एक्सेस पाएको छ कि छैन भनेर थाहा पाउने विभिन्न तरिका छन् । यदि तपाईंले तल दिइएका कुनै पनि परिवर्तन देख्नुभयो भने तपाईंको च्यानल ह्याक भएको हुन सक्छ:
-
प्रोफाइलमा अनावश्यक परिवर्तन: तपाईं वा तपाईंको च्यानलमा एक्सेस भएका अन्य व्यक्तिले नगरेका परिवर्तन जस्तै: प्रोफाइल फोटो, च्यानलको नाम, डिस्क्रिप्सन वा ईमेल सेटिङ्स परिवर्तन भएको छ भने च्यानल ह्याक भएको हुन सक्छ ।
-
अपलोड गरिएका भिडिओ: तपाईंको च्यानलमा तपाईंले अपलोड नगरेका नयाँ भिडिओ देखिएका छन् भने पनि च्यानलमा कसैले अनाधिकृत पहुँच पाएको हुनसक्छ ।
-
असामान्य मेसेज: तपाईंको ईमेल अकाउन्टबाट तपाईंले नपठाएका अनौठा मेसेज पठाइएका छन् भने पनि च्यानल ह्याक भएको आशंका गर्न सकिन्छ ।
-
एडसेन्स अकाउन्टमा परिवर्तन: तपाईंको युट्युबको एडसेन्स अकाउन्टमा कुनै पनि किसिमको अनपेक्षित परिवर्तन देखिएको छ भने पनि कसैले तपाईंको च्यानलमा अनाधिकृत एक्सेस पाएको हुनसक्छ ।
हरेक युट्युब च्यानल एउटा गुगल अकाउन्टसँग लिङ्क हुन्छ । यदि तपाईंको च्यानल ह्याक भएको छ भने तपाईंको ईमेल अकाउन्ट पनि ह्याक भएको हुन्छ ।
ह्याक भएको च्यानल फिर्ता ल्याउने तरिकाः
आफ्नो च्यानल फिर्ता पाउनका लागि तल दिइएका प्रक्रिया अपनाउनुहोस् ।
-
सबैभन्दा पहिले आफ्नो गुगल अकाउन्ट फिर्ता ल्याउने प्रयास गर्नुहोस् । यदि तपाईंले गुगल अकाउन्टमा साइन-इन गर्न सक्नुभयो भने पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् । त्यसपछि एउटा नयाँ र बलियो पासवर्ड राख्नुहोस् जुन तपाईंले पहिले कहिल्यै प्रयोग नभएको होस् ।
-
त्यसपछि सेक्युरिटी सेटिङ्स जाँच गर्नुहोस् । त्यसका लागि myaccount.google.com/security मा जानुहोस् । अनि डिभाइसको सेक्सनमा गएर तपाईंले नचिनेका कुनै पनि डिभाइस छन् भने तुरुन्त हटाउनुहोस् ।
-
यति गरेपछि ‘टु-स्टेप भेरिफिकेसन’, ‘पासकी’ र ‘रिकभरी सेटिङ्स’ जाँच गर्नुहोस् र ह्याकरले कुनै परिवर्तन गरेको छ कि छैन भनेर निश्चित गर्नुहोस् । यदि छ भने हटाउनुहोस् ।
यदि तपाईंले गुगल अकाउन्टमा साइन-इन गर्न सक्नुभएन भने अकाउन्ट रिकभर गर्नुहोस् । त्यसका लागि ‘g.co/recover’ मा जानुहोस् र आफ्नो च्यानलसँग सम्बन्धित ईमेल एड्रेस टाइप गर्नुहोस् ।
अकाउन्ट फिर्ता पाउने सम्भावना बढाउन तपाईंले प्रायः प्रयोग गर्ने कम्प्युटर, फोन वा ट्याब्लेटबाट उही ब्राउजर र स्थान (जस्तै: घर वा अफिस) बाट प्रयास गर्नुहोस् । यति गरेपछि तपाईंलाई आफ्नो पहिचान प्रमाणित गर्न केही प्रश्न जस्तै: तपाईंको अन्तिम पासवर्ड वा रिकभरी जानकारी सोधिन्छ । कुनै पनि प्रश्न नछोड्नुहोस् । बरु अनुमानित उत्तर दिंदा नै राम्रो हुन्छ । तपाईंले अनुमान लगाएको उत्तर गलत भयो भने पनि युट्युबले तपाईंलाई च्यानल फिर्ता ल्याउने प्रक्रियाबाट बाहिर निकाल्दैन । यसरी तपाईंले सबै प्रक्रिया पूरा गर्नुभयो भने अकाउन्ट फिर्ता आउनेछ ।
अकाउन्ट फिर्ता पाएपछि युट्युबले तपाईंलाई पासवर्ड रिसेट गर्न भन्नेछ । साथै ‘पासकी’ पनि एक्टिभ गर्न सक्नुहुन्छ । यदि तपाईंको च्यानल मेनेज गर्ने अन्य व्यक्ति (जस्तै: म्यानेजर, एडिटर) छन् भने उनीहरूलाई पनि आफ्नो गुगल अकाउन्ट सुरक्षित गर्न यही प्रक्रिया अपनाउन भन्नुहोस् । उनीहरूको अकाउन्ट सुरक्षित नभएसम्म उनीहरूको एक्सेस हटाउन सक्नुहुन्छ । यदि तपाईंले आफ्नो युट्युब च्यानलको एक्सेस दिएको व्यक्तिको अकाउन्ट सुरक्षित छैन भने तपाईंको च्यानल जोखिममा पार्न सक्छ ।
आफ्नो गुगल अकाउन्ट सुरक्षित गरिसकेपछि अब आफ्नो युट्युब च्यानलमा ह्याकरले गरेका परिवर्तनलाई सच्याउनुहोस् । त्यसका लागि ‘युट्युब स्टुडियो’ (YouTube Studio) मा जानुहोस् । त्यसपछि सेटिङ्स (Settings) मा जानुहोस् । र, पर्मिसन (Permissions) मा गएर तपाईंको च्यानलमा कस-कसको एक्सेस छ भनेर हेर्नुहोस् । तपाईंले नचिनेका वा एक्सेस आवश्यक नभएका कुनै पनि व्यक्तिलाई हटाउनुहोस् ।
च्यानल फिर्ता ल्याइसकेपछि ह्याकरले अपलोड गरेका सबै भिडिओ तुरुन्तै डिलिट गर्नुहोस् । यसले तपाईंको च्यानललाई सम्भावित ‘कपिराइट गाइडलाइन स्ट्राइक’ (Community Guideline Strike) वा ‘कपिराइट स्ट्राइक’ (Copyright Strike) बाट बचाउँछ । ह्याकरले तपाईंको कुनै पनि प्राइभेट वा अनलिस्टेड भिडिओलाई पब्लिक बनाएको छ कि छैन भनेर जाँच गर्नुहोस् । आफ्नो च्यानलको नाम, ब्यानर, प्रोफाइल फोटो, विवरण र लिङ्कहरू जाँच गरी ह्याकरले गरेका सबै परिवर्तनलाई पुरानै अवस्थामा फर्काउनुहोस् ।
च्यानल ‘टर्मिनेट’ (डिटिल) भएको छ भने के गर्ने ?
यदि ह्याकरको गतिविधिको कारण तपाईंको च्यानल टर्मिनेट भएको छ भने नआत्तिनुहोस् । तपाईंले आफ्नो गुगल अकाउन्ट फिर्ता पाएपछि आफ्नो ईमेल जाँच गर्नुहोस् । तपाईंले युट्युबबाट एउटा नोटिफिकेसन पाउनुहुनेछ जसमा तपाईंको च्यानल ह्याक भएको र टर्मिनेट विरुद्ध कसरी अपील गर्ने भन्नेबारे जानकारी दिइएको हुन्छ ।
भविष्यमा ह्याक हुनबाट कसरी बच्ने ?
एकपटक आफ्नो च्यानल फिर्ता पाएपछि भविष्यमा यस्तो घटना दोहोरिन नदिन निम्न सुरक्षा उपाय अपनाउन सक्नुहुन्छ ।
-
मालवेयर स्क्यान गर्नुहोस्: एन्टिभाइरस सफ्टवेयर वा गुगल क्रोमको ‘Enhanced Safe Browsing’ प्रयोग गरेर आफ्नो डिभाइस स्क्यान गर्नुहोस् ।
-
बलियो पासवर्ड र टु-स्टेप भेरिफिकेसन: तपाईं र तपाईंको च्यानलमा एक्सेस भएका सबैले बलियो पासवर्ड प्रयोग गरेको र ‘टु-स्टेप भेरिफिकेसन’ एक्टिभ गरेको सुनिश्चित गर्नुहोस् ।
-
रिकभरी विकल्प थप्नुहोस्: अकाउन्ट रिकभरीका लागि रिकभरी ईमेल वा फोन नम्बर जस्ता विकल्प थप्नुहोस् ।
-
च्यानलको निगरानी: आफ्नो च्यानलको पर्मिसनको नियमित रिभ्यु गर्नुहोस् र अब एक्सेस आवश्यक नभएका व्यक्तिलाई हटाउनुहोस् ।
यदि युट्युबको सपोर्ट सेन्टरमै गएर च्यानल रिकभर गराउने सोच्युभयो भने यहाँ क्लिक गरेर सपोर्ट सेन्टरमा कुरा गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १६:११
