close

नेपालमा बाढी पूर्वानुमानको प्रविधि, कसरी भइरहेको छ काम ?

टेकपाना टेकपाना

असोज १८, २०८२ १७:३०

नेपालमा बाढी पूर्वानुमानको प्रविधि, कसरी भइरहेको छ काम ?

काठमाडौँ । बंगालको खाडीबाट प्रवेश गरेको मौसमी प्रणालीले नेपालका अधिकांश ठाउँमा अविरल वर्षा निम्त्याएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा तराई क्षेत्रमा मध्यमदेखि निकै भारी वर्षाको पूर्वानुमान गरेको छ । यो वर्षा शनिबारदेखि सोमबारसम्म जारी रहने भएकाले बाढी, भूस्खलन र सडक अवरुद्ध हुने जोखिम बढेको छ । 

अविरल वर्षा र बाढीको जोखिम बढिरहेको अवस्थामा नेपाल सरकारले प्रविधि प्रयोगमार्फत बाढी पूर्वानुमान र सतर्कता प्रणालीलाई थप मजबुत बनाउँदै आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले मनसुन अवधिभर वर्षा र नदीको सतह वास्तविक-समय (रियल-टाइम) मा अनुगमन गरी जनसाधारणलाई समयमै जानकारी पुर्‍याउने व्यवस्था गरेको हो ।

शाखाका अनुसार अहिले देशभरका २०० बढी नदीमा स्वचालित जल तथा मौसम मापन प्रणाली जडान गरिएको छ । यसबाट प्रत्येक १०-१५ मिनेटमा पानीको सतह र वर्षाको विवरण पठाउँछन् । खतराको स्तर नजिकिँदै जाँदा डेटा पठाउने दर अझ बढाइन्छ । यससँगै Windy.com लगायतका अन्तर्राष्ट्रिय स्रोत र विभागकै मोडेल प्रयोग गरी आगामी १२ देखि ७२ घण्टासम्मको वर्षाको पूर्वानुमान गरिन्छ । बादलको चाल र विकास बुझ्न भू-उपग्रह तस्बिरहरू पनि नियमित प्रयोगमा छन् ।

सर्वसाधारणलाई जानकारी पुर्‍याउन विभागले मनसुन अवधिमा दैनिक बुलेटिन विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित गरिरहेको छ । जोखिममा रहेका क्षेत्रमा निःशुल्क एसएमएस अलर्ट पठाउने व्यवस्था गरिएको छ ।

११५५ टोल-फ्री नम्बरमा फोन गरेर राति-दिनभर बाढीबारे जानकारी लिन सकिन्छ । साथै, जिल्ला प्रशासन, पालिका र विपद् व्यवस्थापन निकायलाई प्रत्यक्ष सम्पर्क गरिन्छ । 

तर, पूर्वानुमानमा केही चुनौती कायम छन् । जटिल भौगोलिक बनावटका कारण वर्षाको मात्रा र बहाव सटीक अनुमान गर्न कठिन हुन्छ । हिमाली क्षेत्रमा डेटाको कमीले मोडेललाई अझ सशक्त बनाउन अवरोध पुर्‍याएको विभागको भनाइ छ । खराब मौसममा मोबाइल नेटवर्क कमजोर हुँदा सूचना वितरणमा समस्या आउँछ भने कतिपय स्थानमा जडान गरिएका उपकरण चोरी वा तोडफोड हुने गरेका खबर बेलाबेला आइरहने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १७:४४