close

फ्याक्टचेकः ‘चोभारको अवस्था’ भन्दै भाइरल भिडिओ दुई वर्ष पुरानो

हिक्मत आचार्य हिक्मत आचार्य

असोज १८, २०८२ १८:०

फ्याक्टचेकः ‘चोभारको अवस्था’ भन्दै भाइरल भिडिओ दुई वर्ष पुरानो

काठमाडौँ । शनिबार दिउँसोदेखि चोभारको अवस्था भन्दै एक भिडिओ भाइरल भइरहेको छ । भिडिओमा बागमती खोलामा बाढी आएर उर्लिएको देखिएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्य-जाँचबाट उक्त भिडिओ दुई वर्ष पुरानो भएको खुलेको छ । हालको बाढीलाई जोडेर उक्त भिडिओ भाइरल गराएको पाइएको हो । 

दाबी

‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजले शनिबार दिउँसो ४ बजे ‘चोभारको अबस्था’ भन्दै १३ सेकेन्डको एक भिडिओ अपलोड गरेको छ । उक्त भिडिओमा बागमती खोला उर्लिएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट । 


अनुसन्धान

टीयू स्टुडेन्स्ट नामक पेजले राखेको भिडिओ व्यापक रूपमा फैलिएको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले फेसबुकमा ‘चोभारको अबस्था’, ‘चोभारको अवस्था’ जस्ता कीवर्ड राखेर फेसबुकमा खोज्यो । त्यस क्रममा मिडिया डबली नामक फेसबुक पेजले पनि ‘चोभार-गल्छीको अबस्था’ भन्दै सोही भिडिओ राखेको देखियो । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट । 

फेसबुकमा ‘भट्टराई इन्द्र राज’ नामका प्रयोगकर्ताले ‘काठमाडौं उपत्यकाका सबै नदिहरूको निकास चोभार गल्छीको ताजा अबस्था ।’ भन्दै सोही भिडिओ राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । 

‘सन्दीप्स ब्लग’ नामक फेसबुक पेजले पनि उही भिडिओ राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

यस भिडिओको वास्तविकता पत्ता लगाउन हामीले कीफ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरी हेर्‍यौं । त्यस क्रममा ८ अगस्ट २०२३ मा ‘द नेवार्स’ नामक इन्स्टाग्राम ह्यान्डलबाट सोही भिडिओ अपलोड भएको पाइयो । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

त्यस्तै अमृत चिमरीया नामका युट्युब प्रयोगकर्ताले पनि ८ अगस्ट २०२३ मा सोही भिडिओ राख्दै ‘चोभारमा बाग्मती डरलाग्दो रुपमा उर्लेपछि !’ टाइटल राखेको भेटियो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

यी दुई भिडिओको आधारमा ‘चोभारको अवस्था’ भन्दै भाइरल भिडिओ दुई वर्ष पुरानो भएको पुष्टि हुन्छ । 

शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले चोभार र गल्छी क्षेत्रको अवस्था निरीक्षण गरेको समाचार आइरहेका छन् । ती समाचारमा बागमती नदीको सतह बढेको देखिन्छ । तर, चोभारको वर्तमान अवस्था भन्दै भाइरल भएको भिडिओ भने दुई वर्ष पुरानो हो । 

दाबी

शनिबारदेखि चोभारमा बागमती नदी उर्लिएर खतरनाक अवस्थामा पुगेको भनी देखाइएको भाइरल भिडिओ हालकै हो ।

दाबीकर्ता

‘टीयू स्टुडेन्ट्स’, ‘मिडिया डबली’,‘भट्टराई इन्द्र राज’, ‘सन्दीप्स ब्लग’ नामक फेसबुक पेज तथा प्रयोगकर्ता । 

तथ्य

टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानमा उक्त भिडिओ हालको नभएर पुरानो भएको पाइयो । रिभर्स इमेज सर्च गर्दा यो भिडिओ ८ अगस्ट २०२३ मा नै ‘द नेवार्स’ नामक इन्स्टाग्राम ह्यान्डल र ‘अमृत चिमरीया’ नामक युट्युब च्यानलमा अपलोड भइसकेको भेटिएको छ । हाल बागमती नदीको सतह बढेको साँचो भए तापनि भाइरल गराइएको भिडिओ भने वर्तमान अवस्थाको होइन ।

निष्कर्ष

‘चोभारको अवस्था’ भन्दै हालको बाढीसँग जोडेर भाइरल गराइएको भिडिओ दुई वर्ष पुरानो भएकाले वर्तमान अवस्था भन्दै भाइरल भइरहेका पोस्ट भ्रामक हुन् ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १८:३९