पूर्व प्रम ओली र पूर्व गृहमन्त्री लेखक विरुद्धको जाहेरी प्रहरीमा, जाँचबुझ आयोगमा पठाइँदै
असोज २१, २०८२ १७:५८
काठमाडौँ । जेन-जी प्रदर्शनका क्रममा राज्य पक्षबाट भएको नरसंहार विरुद्धको जाहेरी काठमाडौँ जिल्ला प्रहरी परिसरले सङ्कलन गरेको छ । आन्दोलनका क्रममा मृत्यु भएका सहिद परिवार मङ्गलबार परिसरमा जाहेरी दर्ता गर्न पुगेका थिए । परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले २३ र २४ भदौमा भएको घटना छानबिनको विषय सरकारबाट ५ असोजमा गठित जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने बताए ।
"आयोगको कार्यक्षेत्रमा पर्ने विषय भएकाले हामीले उक्त उजुरी दर्ता गरेर कारबाही अगाडि बढाउन मिल्दैन," उनले टेकपानालाई भने, "त्यसैले उहाँहरूले ल्याउनु भएको उजुरी आयोगलाई नै रिफर गर्दैछौँ ।"
तर सोमबार उक्त उजुरी दिन आएका मृतकका परिवारलाई जाहेरी नै नलिई फिर्ता पठाएको कुरा सही नभएको उनको भनाइ थियो । "हिजो राति भइसकेको थियो । त्यसैले हेर्न सक्ने अवस्था थिएन । उहाँहरू आज आइसकेपछि हामीहरूले काम कारबाही नगर्ने विषय भएकाले २३ र २४ गते भएको मानवीय र भौतिक क्षति सम्बन्धी उजुरी आयोगलाई पठाउँदैछौँ ।"
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अगुवा सुधन गुरुङ विरुद्ध एमाले निकट विद्यार्थी सङ्गठन अखिलको तर्फबाट आएको उजुरीको विषयमा भने बुझ्ने कार्य भइरहेको भट्टराईले बताए ।
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १७:५८
