बीवाईडीका सयौँ ईभी सशस्त्र प्रहरीको नियन्त्रणमा, भन्सार छलीको आशंकामा छानबिन सुरु
जेठ २२, २०८३ २०:३७
काठमाडौं । चीनतर्फको नाका हुँदै नेपाल भित्रिएका बीवाईडीका सयाैँ विद्युतीय गाडीलाई सशस्त्र प्रहरी बलले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएपछि अटोमोबाइल बजार तरङ्गित भएको छ । सशस्त्र प्रहरी बलले जेठ २० गते राति मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७५ वटा गाडीहरूलाई कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानबाट रोकेर नियन्त्रणमा लिएको थियो । यसमध्ये अधिकांश बीवाईडी ब्राण्डका छन् ।
बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले जेठ १२ र १३ गते कोरला नाकाबाट ६४९ युनिट र जेठ ४ देखि १३ गतेसम्म रसुवा नाकाबाट ४७२ युनिट गरी कुल १,१२१ वटा गाडी नेपाल भित्र्याएको थियो । थप २२६ वटा गाडी चीनतर्फको भन्सार प्रक्रियामा छन् ।
बजेट सार्वजनिक हुनुअघि कर दर परिवर्तनको सूचना चुहावट भएर साइमेक्स इंकले ठुलो मात्रामा गाडी भित्र्याई अर्बौं रुपैयाँ बराबरको भन्सार छली गरेको आरोप लागेको छ । ‘पेपर क्लियर’ मार्फत अनियमितता भएको आशंकामा गाडीहरू बिना नम्बर प्लेट जिल्लातिर लगिँदै गरेको अवस्थामा पर्वत, कास्की लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
साइमेक्सको स्पष्टीकरण - ‘आरोप पूर्णतः निराधार, पूर्व बुकिङ पूरा गर्न आयात गरेका हाैँ’
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका बीवाईडी ईभीबारे विवाद सिर्जना भएपछि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले स्पष्टीकरण दिएको छ । कम्पनीले सबै आयात प्रक्रिया नेपालको प्रचलित कानुन, भन्सार नियमावली तथा नियामकीय व्यवस्थाअनुसार पूर्ण रूपमा पारदर्शी र कानुनसम्मत आयात र जाँचपास गरिएको उसको भनाइ छ ।
कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत भन्सार प्रक्रियाबाट लाभ नलिएको जिकिर गर्दै कम्पनीले ग्राहकहरूको पूर्व-बुकिङ पूरा गर्न गाडीहरू आयात गरिएको उल्लेख गरेको छ ।
‘‘विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन् । साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ। ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन् ।”
सबै आयात बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरुलाई ध्यानमा राखेर गरिएकाे पनि साइमेक्सले दाबी गरेको छ ।
साइमेक्सकाे चिफ मार्केटिङ अफिसर समीर श्रेष्ठले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेरै गाडीहरू आयात गरिएको बताए । ‘‘हामीले सबै प्रक्रिया पूरा गरेर गाडी ल्याएका थियाैँ । तर प्रहरीले विभिन्न आशंकामा गाडी नाकामै राेकेर राखेकाे छ,” उनले टेकपानासँग भने ।
अर्थमन्त्रीमाथि व्यक्तिगत लाभ लिएको आरोप
बीवाईडीको भन्सार छली प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको समेत संलग्नता रहेको आरोप लागेको छ । बजेट आउनुपूर्व अर्थमन्त्रीले करकाे दर परिवर्तन हुने सूचना चुहाएर राजश्व छलीमा सघाएकाे र व्यक्तिगत लाभ लिएको आरोप लगाइएको छ ।
तर, अर्थ मन्त्रालयका प्रवक्ता लम्सालले यस घटनामा अर्थमन्त्रीको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । ‘‘अर्थमन्त्री संलग्न भएका समाचारहरू त आइरहेका छन् । उहाँहरूले कुन आधारमा समाचार बनाउनु भएकाे हाे भन्ने थाहा भएन । यो आरोप आधारहीन हो । अर्थमन्त्रीकाे कुनै संलग्नता छैन,” उनले भने ।
अनुसन्धान गर्न समिति गठन
यसैबिच विद्युतीय गाडीहरूको भन्सार अनियमितता तथा सम्भावित कर छली प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन भएको हो । समितिले मुस्ताङको कोरला नाका केन्द्रित रहेर अनुसन्धान थालिसकेको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन् ।
समितिले चिनियाँ नाकाबाट भित्रिएका एक हजार १२१ वटा बीवाईडी गाडीको भन्सार जाँचपास प्रक्रिया, पेपर क्लियरमार्फत भौतिक गाडी नाका पुग्नुअघि नै भन्सार पास गरेको आशंका, बजेट सार्वजनिक हुनुअघि विद्युतीय सवारीमा कर दर बढ्ने सूचना चुहावट भएको आरोप, साइमेक्स इंकले अनुचित लाभ लिएको वा सरकारी निकायसँग मिलेमतो गरेको आरोप, बीवाईडीको थप २२६ वटा गाडीको भन्सार जाँचपास लगायतका विषयमा अध्ययन गर्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १२:०
