बजारमा आउँदै नेपाललाई दक्षिण एसियाको ‘ग्रिन हाइड्रोजन हब’ बनाउने ब्लुप्रिन्टसहितको पुस्तक
असोज २२, २०८२ १२:२४
काठमाडौँ । नेपाललाई हरित ऊर्जा क्रान्तिमा अगाडि बढाउने महत्त्वाकाङ्क्षी योजनासहितको एक अध्याय समावेश भएको अन्तर्राष्ट्रिय पुस्तक छिट्टै सार्वजनिक हुने भएको छ । टेलर एण्ड फ्रान्सिस द्वारा प्रकाशोन्मुख ‘टेक्नोलोजी, इनर्जी एन्ड वारफेर इन इभल्भिङ जिओपोलिटिक्स’ नामक सो पुस्तकमा नेपालको ऊर्जा सङ्क्रमण र विकासमा केन्द्रित महत्त्वपूर्ण सामग्री समावेश छ ।
यस पुस्तकभित्र ‘डेभलपिङ नेपाल एज अ हाइड्रोजन हब फर कन्ट्रिब्युटिङ टु द इनर्जी ट्रान्जिसन एन्ड ग्रिन ग्रोथ इन साउथ एसिया’ शीर्षकको एक अध्याय समावेश छ । जसका लेखकहरू विराजसिँह थापा र विष्णु पाण्डे रहेका छन् ।
लेखक विराजसिँह थापाले केवल एक पुस्तक अध्याय मात्र नभई यसले देशमा हरित ऊर्जा क्रान्तिको लागि एक ब्लुप्रिन्टको रूपमा काम गर्ने र यसको प्रभाव दक्षिण एसिया स्तरमा समेत फैलने विश्वास व्यक्त गरेका छन् ।
प्रविधि र ऊर्जामा रुचि राख्नेहरूका लागि यो अध्याय विशेष रुचिको विषय हुन सक्छ, किनभने यसले नेपालको ऊर्जा क्षेत्रमा देखिएका गम्भीर चुनौतीहरूलाई उजागर गर्ने प्रयास गरेको छ ।
नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान जस्ता दक्षिण एसियाली राष्ट्रहरू ऊर्जाका लागि जीवाश्म इन्धनहरूमा अत्यधिक निर्भर भएका कारण वायु प्रदूषकहरूको उच्च जोखिममा छन् । यस किसिमको निर्भरताले अर्थतन्त्रलाई कार्बन मुक्त बनाउन सोही अनुरूपका हस्तक्षेप अपनाउनुपर्ने दबाब र चुनौती थपेको छ ।
परम्परागत इन्धनमाथिको निर्भरताका कारण विश्वसनीयता, गुणस्तर र लचिलोपन सम्बन्धी चुनौतीहरूबाट नवीकरणीय ऊर्जामा यी क्षेत्रहरूलाई सङ्क्रमण गराउनु चुनौतीपूर्ण रहेको छ । यस अध्यायले नेपाललाई दक्षिण एसियामा ऊर्जा सङ्क्रमण र हरित विकासमा योगदान पुर्याउन हाइड्रोजन हबको रूपमा विकास गर्ने अवधारणालाई अगाडि सारेको छ ।
यो पुस्तकले भूराजनीतिमा विकसित हुँदै गरेको परिदृश्यलाई प्रविधि, ऊर्जा र युद्धको अन्तरसम्बन्धित पक्षहरूबाट विश्लेषण गरेको छ । यसले विश्वव्यापी सुरक्षा सुनिश्चित गर्ने समस्या, ऊर्जा र भूराजनीतिबिचको अन्तरक्रिया तथा चलिरहेको ऊर्जा सङ्क्रमण जस्ता विषयहरूलाई समेटेको छ ।
यसमा एआई, साइबर युद्ध, हाइब्रिड युद्धका साथै उदीयमान नवीकरणीय ऊर्जा केन्द्रहरू र विश्वव्यापी ऊर्जा बजारमा हुने संरचनात्मक परिवर्तन जस्ता अत्याधुनिक विकासमाथि चर्चा गरिएको छ । नेपालसँग सम्बन्धित अध्यायले विशेष गरी ऊर्जा सङ्क्रमण र हरित विकासको पाटोलाई समेटेर नेपाललाई अन्तर्राष्ट्रिय भूराजनीतिक विमर्शमा ल्याएको छ ।
रूथलेजका अनुसार ‘टेक्नोलोजी, इनर्जी एन्ड वारफेर इन इभोल्भिङ जियोपोलिटिक्स’ नामक यो पुस्तक २० अक्टोबर, २०२५ मा प्रि-अर्डरका लागि उपलब्ध हुनेछ । १० नोभेम्बर, २०२५ पछि यसको डेलिभरी दिइनेछ ।
यो पुस्तक अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा र गुप्तचर अध्ययनका साथै नीति निर्माताहरू र दूतावासहरूमा काम गर्ने पेसाकर्मीहरूका लागि विशेष रुचिको विषय हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १२:२४
