काठमाडौँ । विश्व हुलाक दिवसको अवसर पारेर हुलाक सेवा विभागले नेपालका क्रिकेट खेलाडीसहितको हुलाक टिकट सार्वजनिक गरेको छ । उक्त टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टाँचा (छाप) लगाउँदै सार्वजनिक गरे ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार सार्वजनिक हुलाक टिकटमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरूको तस्बिर समावेश छन् । गत चैतमा नै खेलाडीहरूको तस्बिरसहितको हुलाक टिकट छाप्ने निर्णयअनुसार विश्व हुलाक दिवसको अवसर पारेर सार्वजनिक गरिएको उनले जानकारी दिइन् ।
सार्वजनिक टिकटमध्ये आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगिता खेलेको महिला क्रिकेट टिमको रु १० को पाँच लाख थान र पुरुष विश्वकप प्रतियोगिता खेलेको टिमको रु १० को पाँच लाख थान छन् । महोत्तरी जिल्लामा रहेको ३५० वर्ष पुरानो मटिहानी मन्दिर, मुस्ताङको सिन्जामा रहेको जोङ्ग गुफा र मगर समुदायको पीएचडी गर्ने पहिलो व्यक्ति डा. मीन श्रीसमगरको तस्बिरसहितका हुलाक टिकट पनि छापिएको उनले बताइन् ।
बिहीबार सञ्चारमन्त्रीबाट टाँचा (छाप) लागेसँगै उक्त हुलाक टिकटहरूले पूर्णता पाएको महानिर्देशक भट्टराईले बताइन् । भोलिदेखि नै सो हुलाक टिकटहरू बिक्री वितरण सुरु हुनेछन् । अब टिकट सार्वजनिक भएको जानकारी र यसको आधिकारिकताको सूचना अन्तर्राष्ट्रिय हुलाक संघमा पठाउने समेत तयारी गरिएको छ । सोसँगै कानुनी रूपमा विश्वव्यापी मान्यता उक्त हुलाक टिकटहरूले पाउने उनले जानकारी दिइन् ।
उनले भनिन्, “यो टिकट आफैँमा एउटा इतिहास पनि हो । अब क्रिकेट खेल्ने खेलाडीहरूको इतिहास अमर रहनेछ । खेलाडीको प्रदर्शनलाई भविष्यको पुस्तासम्मले देख्न पाउने छन् ।”

पछिल्लो अध्यावधिक: असोज २३, २०८२ १६:२५
