close

च्याटजीपीटीको सस्तो योजना ‘गो’ को सब्सक्रिप्सन नेपालमा पनि, केके छन् सुविधा ?

टेकपाना टेकपाना

असोज २४, २०८२ १७:५४

च्याटजीपीटीको सस्तो योजना ‘गो’ को सब्सक्रिप्सन नेपालमा पनि, केके छन् सुविधा ?

काठमाडौँ । च्याटजीपीटीको सस्तो सब्सक्रिप्सन योजना नेपालमा पनि सुरु भएको छ । ओपनएआईले बिहीबार नेपालसहित एसियाका १६ देशमा आफ्नो सबैभन्दा सस्तो सब्सक्रिप्सन योजना ‘च्याटजीपीटी गो’ विस्तार गरेको हो ।

यससँगै अब कुल १८ एसियाली राष्ट्रका प्रयोगकर्ताहरूले कम शुल्कमा एआईका एड्भान्स सुविधाहरू प्रयोग गर्न पाउने भएका छन् । च्याटजीपीटी गो योजना यसअघि अगस्टदेखि भारत र सेप्टेम्बरदेखि इन्डोनेसियामा सुरु गरिएको थियो ।

नयाँ रोलआउटमा समावेश भएका देशहरूमा नेपालसँगै अफगानिस्तान, बङ्गलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, लाओस, मलेसिया, माल्दिभ्स, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्यान्ड, पूर्वी टिमोर र भियतनाम छन्।

ओपनएआईले दिएको जानकारी अनुसार कम्बोडिया, लाओस र नेपालका प्रयोगकर्ताहरूका लागि च्याटजीपीटी गो योजना वेब र एन्ड्रोइड सब्सक्रिप्सन उपलब्ध भइसकेको छ । तर यो सुविधा अहिलेसम्म आईओएस एपमा भने उपलब्ध छैन ।

मूल्य र विशेषता

च्याटजीपीटी गो योजना कम्पनीका अन्य व्यक्तिगत योजनाहरू जस्तै च्याटजीपीटी प्लस (२० डलर प्रति महिना) र च्याटजीपीटी प्रो (२०० डलर प्रति महिना) को तुलनामा धेरै सस्तो छ ।

यो योजना भारतमा मासिक ३९९ भारु (लगभग ४.५० डलर) र इन्डोनेसियामा लगभग ४.५३ डलरमा सुरु गरिएको थियो । जुन अन्य योजनाहरूको तुलनामा नाम मात्रको मूल्य हो ।

मलेसिया, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स र पाकिस्तान जस्ता केही देशहरूमा स्थानीय मुद्रामा भुक्तानी गर्न सकिने भए तापनि नेपालमा स्थानीय करका आधारमा अन्तिम लागत फरक पर्न सक्ने गरी ५ अमेरिकी डलर (७०० रुपैयाँभन्दा बढी) भुक्तानी गर्नुपर्ने हुन्छ ।

के-के पाइन्छ सुविधा ?

यो किफायती योजनाको मुख्य उद्देश्य कम्पनीको सबैभन्दा पछिल्लो एआई मोडल जीपीटी-५ को पहुँच बढाउनु हो । च्याटजीपीटी गोमा निःशुल्क भर्सनका सबै सुविधाहरूका साथै इमेज जेनेरेसन (तस्बिर सिर्जना), फाइल अपलोड, एड्भान्स डेटा एनालाइसिस आदि जस्ता विस्तारित पहुँच समावेश छन् ।

यसमा मुख्य च्याट र डिभाइसहरूका लागि निःशुल्क योजनाभन्दा उच्च उपयोग सीमा (higher usage limits) हुन्छ । गो योजनाले निःशुल्क योजनाभन्दा दुई गुणा बढी मेमोरी प्रदान गर्दछ, जसले गर्दा थप व्यक्तिगत प्रतिक्रियाहरू पाउन सकिन्छ ।

यो विस्तार ओपनएआईको लागि महत्त्वपूर्ण मोडमा आएको छ । कम्पनीले हालै आफ्नो डेभडे (DevDay 2025) सम्मेलनमा च्याटजीपीटीले विश्वव्यापी रूपमा ८० करोड साप्ताहिक सक्रिय प्रयोगकर्ताहरू (अगस्टमा ७० करोडबाट बढेर) पुगेको घोषणा गरेको थियो ।

ओपनएआईले जनाएअनुसार सन् २०२५ को मे महिनासम्ममा सबैभन्दा कम आय भएका देशहरूमा एआई च्याटबट प्रयोग गर्ने दर सबैभन्दा धेरै आय भएका देशहरूको तुलनामा चार गुणाभन्दा बढी थियो । यो तथ्याङ्कले एसियाली बजारहरूको महत्व दर्शाउँँछ ।

यो विस्तार गुगलसँगको सिधा प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ । गुगलले पनि हालसालै नेपालसहितका देशहरूलाई लक्षित गर्दै समान मूल्यको गुगल एआई प्लस योजना सुरु गरेको छ । जसले जेमिनी २.५ प्रो र क्रियटिभ टुलहरूमा पहुँच दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८२ १८:२२