close

चाँडै नै जेमिनाई एपभित्रै उपलब्ध हुनेछ क्यापकटको भिडिओ एडिटिङ टुल

टेकपाना टेकपाना

जेठ १६, २०८३ १८:२५

चाँडै नै जेमिनाई एपभित्रै उपलब्ध हुनेछ क्यापकटको भिडिओ एडिटिङ टुल

काठमाडौँ । अबको केही समयमा गुगलको एआई एप ‘जेमिनाई’बाटै क्यापकट जस्तै भिडिओ एडिट गर्न सकिने भएको छ । क्यापकट र जेमिनाई एपबिच हालै मात्र भएको सम्झौतापछि यस्तो फिचर आउने भएको हो । 

यस अन्तर्गत क्यापकटका केही एडिटिङ टुल जेमिनाई एपभित्रै उपलब्ध हुनेछन् । क्यापकटले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारी अनुसार प्रयोगकर्ताले छिट्टै जेमिनाई एपको माध्यमबाट क्यापकटका टुल्स प्रयोग गरी फोटो र भिडिओ एडिट गर्न सक्नेछन् । 

यद्यपि, कुन स्तरका टुल कति हदसम्म उपलब्ध गराइनेछन् र यसका लागि कुनै शुल्क तिर्नुपर्ने छ वा छैन वा सब्स्क्रिप्सन मोडेल कस्तो हुन्छ भन्ने विषयमा दुवै कम्पनीले स्पष्ट पारेका छैनन् । 

यो फिचर जेमिनाई एपमा कहिले उपलब्ध हुन्छ भन्ने विषयमा निश्चित मिति अझै तोकिएको छैन । क्यापकटले यस साझेदारीको औपचारिक घोषणा गरेको भए पनि यी फिचर ‘छिट्टै’ प्रयोगकर्ताका लागि उपलब्ध गराइने मात्र उल्लेख गरेको छ ।

क्यापकटले पछिल्लो समय एआई डिजाइन र इमेज जेनेरेसन लगायतका आफ्नै मोडेल प्रयोग गरी एआई एडिटिङको क्षेत्रमा काम गरिरहेको छ । यस बजारमा क्यापकटको प्रतिस्पर्धा हालै सार्वजनिक भएको इन्स्टाग्रामको नयाँ ‘एडिट्स’ एपसँग भइरहेको छ ।

गुगल र क्यापकटबिच साझेदारी भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०२५ को अन्त्यतिर गुगल फोटोजको ‘रिक्याप’ फिचरमा प्रयोगकर्ताका लागि ‘एडिट विथ क्यापकट’ सर्टकट उपलब्ध गराइएको थियो । यसले गर्दा फोटोज एपका फोटोलाई विशेष टेम्पलेटसहित सिधै क्यापकट एपमा एक्सपोर्ट गरेर एडिट गर्न सकिन्थ्यो ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १८:२५