एआई र सामाजिक सञ्जालले लोकतन्त्रलाई ह्याक गर्ने खतरा बढेको छ- पूर्वप्रधानमन्त्री डा. भट्टराई
फागुन ३०, २०८२ २२:५
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सामाजिक सञ्जालका अल्गोरिदमहरूले विश्वभर लोकतन्त्रलाई ‘ह्याक’ गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ दिल्लीमा आयोजित ‘एनएक्सटी २०२६ ग्लोबल समिट’लाई शनिबार सम्बोधन गर्दै डा. भट्टराईले प्रविधिको शक्तिको केन्द्रीकरण र सूचनाको व्यक्तिगतीकरणले लोकतान्त्रिक संस्थाहरूलाई जोखिममा पारेको धारणा राखे ।
एआई लोकतन्त्रको शत्रु नभएको, तर यसको केन्द्रीकृत शक्ति र व्यापारिक दुरुपयोग घातक हुने उनको चेतावनी छ ।
डा. भट्टराईले आफ्नो युवावस्थाको रेडियो युग र आजको एआई युगबिचको तुलना गर्दै सूचनाको ‘साझा भण्डार’ भत्किएको उल्लेख गरे । “हाम्रो पालामा रेडियोले एउटै साझा आवाज र साझा यथार्थ निर्माण गर्थ्यो,” उनले भने, “तर आजका युवाहरू अल्गोरिदमद्वारा निर्देशित अरबौँ व्यक्तिगत आवाजहरू सुन्छन् । जसले आक्रोश, ध्रुवीकरण र अतिवादी सामग्रीलाई मात्र बढावा दिइरहेको छ ।”
उनले सामाजिक सञ्जाल प्लेटफर्महरू सार्वजनिक विमर्शका ‘अदृश्य सम्पादक’ बनेको र यसले मानिसहरूलाई अल्गोरिदमद्वारा निर्मित ‘इको चेम्बर’ भित्र कैद गरेको दाबी गरे ।
नेपालको हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रसङ्ग जोड्दै डा. भट्टराईले चुनावी अभियान सडकबाट स्क्रिनतर्फ सरेको र यसले नयाँ चुनौतीहरू थपेको बताए । निर्वाचनका क्रममा सामाजिक सञ्जालमा डिपफेक र तोडमोड गरिएका सामग्रीहरू व्यापक फैलिएको बताउँदै उनले यसले मतदातालाई भ्रमित पारेको तर्क गरे ।
“जब डिपफेक व्यापक हुन्छ, गलत कामको वास्तविक प्रमाणलाई समेत 'एआईले बनाएको नक्कली भिडियो' भनेर खारेज गर्न सकिन्छ,” उनले भने, “जब तथ्यहरू नै अस्वीकार गर्न मिल्ने बन्छन्, लोकतन्त्र भत्किन थाल्छ ।”
अर्थतन्त्रमा एआईको प्रभावबारे बोल्दै डा. भट्टराईले अटोमेसनले मानव श्रमलाई मात्रै प्रतिस्थापन गर्दा असमानता झन् गहिरिने चेतावनी दिए । नोबेल विजेता अर्थशास्त्री ड्यारोन एसेमोग्लु र इतिहासकार युभल नोआ हरारीलाई उद्धृत गर्दै उनले प्रविधिको गलत प्रयोगले समाजमा आर्थिक रूपमा अनावश्यक भइसकेको ‘अनुपयोगी वर्ग’ (Useless Class) को उदय हुन सक्ने जोखिम औँल्याए ।
उनले विकासशील देशहरू आफ्नै प्राविधिक सार्वभौमसत्ता विकास नगरी अन्यत्रको एआई प्रणालीमा निर्भर हुँदा ‘डेटा उपनिवेशवाद’को सिकार हुने खतरा रहेको समेत बताए ।
दक्षिण एसियामा विश्वकै सबैभन्दा ठुलो युवा जनसंख्या रहेको उल्लेख गर्दै उनले युवाहरूलाई प्रविधिको निष्क्रिय उपभोक्ता मात्र नभई निर्माता बन्न आग्रह गरे । उनले युवाहरूलाई डिजिटल साक्षरता बढाउन, अल्गोरिदमको कार्यशैली बुझ्न र डिपफेक पहिचान गर्न सक्षम बन्न सल्लाह दिए ।
“एआईको भविष्य पूर्व–निर्धारित छैन । यो हाम्रा राजनीतिक र आर्थिक छनोटहरूमा निर्भर हुन्छ,” उनले भने, “वास्तविक प्रश्न एआईले हाम्रो भविष्यलाई आकार दिन्छ कि दिँदैन भन्ने होइन, प्रश्न हामी एआईलाई कसरी आकार दिन्छौँ भन्ने हो ।”
पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ २२:१६
