close

जेन-जी पुस्ताका प्रयोगकर्ता किन रुचाउँदैनन्, ‘थम्ब्स अप’ इमोजी ?

टेकपाना टेकपाना

असोज २५, २०८२ २०:१४

जेन-जी पुस्ताका प्रयोगकर्ता किन रुचाउँदैनन्, ‘थम्ब्स अप’ इमोजी ?

काठमाडौँ । कसैलाई टेक्स्ट पठाउँदा तपाईँ थम्ब्स-अप इमोजी कत्तिको प्रयोग गर्नुहुन्छ ? अनि फेसबुकमा आएका पोस्टमा कत्तिको थम्ब्सअप गर्नुहुन्छ ? यदि तपाईँ पुरानो पुस्ताको हुनुहुन्छ भने थम्ब्स-अप इमोजी पक्कै पनि प्रयोग गर्नुहुन्छ होला । कुरा सुरु गर्न, कुनै विषयमा सहमति वा विमति जनाउन, कुराको अन्त्य गर्न, यो एउटै इमोजी पर्याप्त हुन्छ ।

तर, इन्टरनेटको नयाँ पुस्ता अर्थात् अधिकांश जेन-जीलाई थम्ब्सअप इमोजी मनै पर्दैन । तपाईँले यस्तो इमोजी प्रयोग गर्दा उनीहरू रिसाउँछन् वा च्याट गर्नबाट तर्किन्छन् । कतिपयले त तपाईँको थम्ब्सअप गर्ने बानीबाट आजित भएर ब्लक गर्न पनि पछि पर्दैनन् । आखिर किन त ? किन नयाँ पुस्तालाई थम्ब्सअप इमोजी मन नपरेको होला ?

जेन-जी अर्थात् इन्टरनेटसँगै हुर्किएको नयाँ पुस्ताले ‘थम्ब्सअप’ इमोजीलाई अस्वीकार्य वा नकारात्मक अर्थमा बुझ्ने गरेको छ । सकारात्मक वा उत्साहजनक देखिनुको सट्टा यो इमोजी उनीहरूलाई छिटो, कामचलाउ, पट्यारलाग्दो र अभिव्यक्ति विहीन प्रतिक्रिया जस्तो लाग्छ । 

उदाहरणका लागि:

कसैले मेसेजमा भन्यो, “मैले तपाईँलाई डिटेल पठाएको छु, कृपया आफ्नो विचार राख्नुहोला ।” त्यसको जवाफमा तपाईँले 👍(थम्ब्सअप इमोजी) पठाउनु भयो भने त्यसले उक्त विषयमा तपाईँको चासो छैन भन्ने सङ्केत दिन सक्छ । 

तर, तपाईँले ‘हुन्छ’ भन्न खोज्नु भएको पनि हुन सक्छ । पछि जवाफ दिन्छु भन्न खोज्नु भएको पनि हुन सक्छ । तर, बुझ्नेलाई तपाईँमा त्यस विषयमा कुनै चासो नै छैन रहेछ भन्ने देखाउँछ । यदि त्यसको सट्टामा लभ, वाउ, स्याड, एन्ग्री रियाक्ट पठाउनु भयो भने त्यही इमोजीले नै तपाईँको स्पष्ट भाव बोक्छ ।  

पुरानो पुस्ताले बढी प्रयोग गर्ने इमोजी

यो इमोजी पुराना पुस्ता (मिलेनियल्स, जेन एक्स र बुमर्स) ले व्यक्तिगत र व्यावसायिक दुवै अवस्थामा अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ । जेन-जी भने आफूलाई ‘पुरानो’ वा ‘क्रिन्जी’ मानिने कुनै पनि कुराबाट टाढा राख्न खोज्छ । उनीहरूलाई यो इमोजीलाई आफ्ना अभिभावकले पठाएको जस्तो मान्छन् । 

त्यसैले आफ्नै उमेर समूह वा आफूभन्दा अघिल्ला पुस्ताका व्यक्तिले यस्तो इमोजी पठाउँदा उनीहरू त्यसलाई नराम्रो रूपमा लिन्छन् । फेसबुक पोस्टमा थम्ब्सअप गर्नका लागि एक ट्याप वा क्लिक गरे पुग्छ । तर, अन्य रियाक्सन गर्दा दुई पटक ट्याप गर्नुपर्ने हुन्छ । 

यसले गर्दा पनि थम्ब्सअप रियाक्टभन्दा अन्य इमोजी रियाक्ट गर्दा नयाँ पुस्ताले त्यसलाई विशेष ठान्छन् । ‘थम्ब्स अप’ इमोजी नहुने इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालका प्लेटफर्म जेन-जी पुस्ताको रोजाइमा पर्नुको पछाडि यो पनि एउटा कारण हो । 

विशेष भावनालाई प्राथमिकता

जेन-जीले स्पष्ट भावना, प्रतिक्रिया वा हास्य झल्काउने इमोजी मन पराउँछन् । उदाहरणका लागि (👍) थम्ब्सअप इमोजीको सट्टा उनीहरूले यस्तो इमोजी प्रयोग गर्छन्:

  • 💀 (म हाँसेर मरेँ)

  • 😂 (हास्दा आँसु आयो)

  • 🤝 (सहमत)

उनीहरूका लागि (👍) थम्ब्सअप इमोजीले न त भावनात्मक गहिराइ झल्काउँछ, न त रचनात्मकता । त्यसैले यसलाई उनीहरू नराम्रो रूपमा लिन्छन् । 

संवाद टुङ्गिएको सङ्केत

थम्ब्सअपले जेन-जीलाई ‘अब कुरा सकियो’ वा ‘म थप कुरा गर्न चाहन्न’ भन्ने कुराको सङ्केत दिन सक्छ । जेन-जीलाई यो इमोजी प्रयोग गर्दा संवादमैत्री र न्यानोपनको अभाव महसुस हुन्छ । 

इमोजी कुराकानीलाई प्रायः रमाइलो, हल्का वा सहानुभूतिपूर्ण बनाइराख्न प्रयोग गरिन्छ । तर थम्ब्सअप इमोजी (👍) त्यस किसिमको आवश्यकता पूरा गर्न असफल हुन्छ ।

बदलिँदो वर्क कल्चर

व्यावसायिक क्षेत्रमा जहाँ जेन-जीको सहभागिता बढ्दो छ, त्यहाँ व्यवस्थापक वा सहकर्मीबाट ‘थम्ब्सअप’ इमोजी पाउँदा उनीहरूलाई कठोर र टाढाको बनाएको जस्तो लाग्छ । यसरी उनीहरूको काममा पनि यस्ता इमोजीले प्रभावित पारिरहेको हुन्छ । 

सुरुवाति समयमा फेसबुकमा अन्य इमोजी रियाक्सनको विकल्प थिएन । त्यस्तोमा मानिसहरू थम्ब्सअप इमोजी नै पठाउँथे । तर, समयसँगै सामाजिक सञ्जालका माध्यमले नयाँ नयाँ इमोजी प्रयोग गर्न थाले । नयाँ पुस्तालाई यसैले प्रभाव पार्‍यो । र, थम्ब्सअप इमोजी पुरानो भएको आभास हुन थाल्यो । 

सबै जेन-जीले थम्ब्सअप इमोजीलाई मन पराउँदैनन् भन्ने पनि छैन । केहीले विद्रोहका रूपमा पनि थम्ब्सअप इमोजी नै प्रयोग गरिरहेका हुन्छन् । केही आफूलाई परिपक्व देखाउन थम्ब्सअप इमोजी प्रयोग गर्छन् । नेपालमा यसैको विद्रोहका लागि सन् २०२१ तिर विभिन्न फेसबुक ग्रुप खुलेका थिए, जहाँ थम्ब्सअप गर्नुपर्ने पोस्ट मात्र शेयर गरिन्थ्यो । 

त्यस्ता ग्रुपमा हुने अन्य सदस्यले शेयर गरेका लिङ्कमा गएर हरेक पोस्टमा थम्ब्सअप गर्ने प्रवृत्ति थियो । त्यसै मध्येका एक ग्रुपका एड्मिन लक्ष्मण न्यौपाने विगत सम्झिँदै भने, “त्यो बेला एउटा अचम्मको प्रवृत्ति थियो । कसैले ग्रुपमा कुनै मिम वा पोस्ट हाल्दा त्यसमा ‘हाहा’, ‘लभ’, ‘केयर’ रियाक्ट नै गर्नुपर्छ भन्ने मान्यता थियो । यदि कसैले झुक्किएर ‘थम्ब्सअप’ गर्‍यो भने ‘किन थम्ब्सअप गरेको ? हाहा रियाक्ट गर’ भन्दै कमेन्ट र व्यक्तिगत मेसेजमा गाली आउँथ्यो ।”

उनी थप्छन्, “त्यसको बदलामा हामी ‘हाहा रियाक्ट गर’ भनेर गाली गर्ने मान्छेकै पोस्ट खोजेर त्यसको लिङ्क ग्रुपमा राख्थ्यौँ । अनि ग्रुपका सबै सदस्य मिलेर उसको पोस्टमा ‘थम्ब्सअप’ गरिदिन्थ्यौँ । हाम्रो काम नै यस्तै थियो । यो देखेपछि ऊ झनै चिढिन्थ्यो ।”

लक्ष्मण हाँस्दै अगाडि सुनाउँछन्, “त्यो समयमा यो चलन खुबै चलेको थियो । पछि त्यो ग्रुप नै बन्द भयो ।” हुन त नयाँ पुस्ताले थम्ब्सअप इमोजी किन मन पराउँदैन भन्ने विषय अझै पनि विवादित छ । सैद्धान्तिक रूपमा यही कारणले जेन-जीलाई थम्ब्सअप इमोजी मन पर्दैन भन्ने कुरा चाहिँ स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८२ २०:१४