close

अन्य सामाजिक सञ्जालबाट हटेको प्रतिबन्ध टेलिग्राममा कायमै, आईएसपीले खोलेपछि कारबाहीको चेतावनी

टेकपाना टेकपाना

असोज २७, २०८२ २०:९

अन्य सामाजिक सञ्जालबाट हटेको प्रतिबन्ध टेलिग्राममा कायमै, आईएसपीले खोलेपछि कारबाहीको चेतावनी

काठमाडौँ । अनलाइन ठगी, सट्‍टेबाजी र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा प्रयोग भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको मेसेजिङ एप टेलिग्राम इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूको नेटवर्कमा निर्बाध सञ्चालनमा रहेको पाइएको छ । मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले प्रतिबन्ध कार्यान्वयन गरेको भए पनि अधिकांश आईएसपीले सरकारी निर्देशनको बेवास्ता गरेको पाइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले २ साउन २०८२ मा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टेलिग्राम बन्द गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले १ साउनमा पत्राचार गरेपछि सरकार टेलिग्रामप्रति आक्रामक बनेको थियो । 

समितिले टेलिग्राममार्फत ठगी, लागुऔषध कारोबार, हुन्डी र अन्य आपराधिक गतिविधि बढेको तथा नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे-लिस्ट’ बाट बाहिर निकाल्न यसमाथि कठोर कदम चाल्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यस लगत्तै सञ्चार मन्त्रालयले आधिकारिक प्रतिनिधि फेला पार्न नसकेपछि प्राधिकरणलाई पहुँच रोक्न निर्देशन दिएको थियो ।

तर, सरकारी निर्देशनको विपरीत अधिकांश आईएसपीहरूले टेलिग्राममाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम खोल्नेबारे कुनै औपचारिक निर्णय नभएको र प्रतिबन्ध कायमै रहेको स्पष्ट पारेको छ । “तत्कालीन सरकारले सम्पत्ति शुद्धीकरण, अनलाइन ठगी जस्ता गम्भीर प्रकृतिका विषयलाई जोडेर टेलिग्रामलाई बन्द गर्न निर्देशन दिएपछि प्राधिकरणले सोहीअनुसार मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो," प्राधिकरणका निर्देशक एवं प्रवक्ता मीनप्रसाद अर्यालले भने,, "त्यसयता टेलिग्राममाथिको प्रतिबन्ध खोल्ने कुनै निर्णय भएको छैन । यदि अनुगमनका क्रममा खोलिएको पाइए हामी कानुनअनुसार कारबाही गर्छौँ ।”

यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ । मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले आईएसपीले अन्य सामाजिक सञ्जाल खुल्दा टेलिग्राम पनि आफैँले खोलेको हुन सक्ने बताए । उनले टेलिग्राम खोल्नेबारे कुनै नीतिगत निर्णय नभएको स्वीकार गरे । 

उनका अनुसार टेलिग्रामले मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिएको छ । तर प्रक्रिया अगाडि बढाउन अन्य सम्बन्धित निकायबाट जवाफ आएको छैन । पौड्यालले भने, “अरू सामाजिक सञ्जाल खोल्ने निर्णय हुँदा टेलिग्रामको कुरा आएकै थिएन । अहिले आईएसपीले खोलेको बारे हामीलाई पनि औपचारिक जानकारी छैन । सायद सबै खुलेपछि उनीहरूले आफ्नै विवेकले खोले होलान् । यसबारे मन्त्रालयमा जानकारी गराउनेछु ।”

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा त्यसको व्यापक विरोध भएको थियो । उक्त प्रतिबन्धपछि ‘जेन-जी विद्रोह’ भयो । जसको दबाबमा सरकारले प्रतिबन्धित सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको थियो । 

तर, ती २६ सञ्जालको सूचीमा टेलिग्रामको नाम भने थिएन । किनभने यसमाथि सूचीकरणको कारणले नभई गम्भीर वित्तीय अपराधको कारण देखाएर पहिले नै प्रतिबन्ध लगाइएको थियो । आईएसपीले भने अन्य सामाजिक सञ्जाल खोल्ने क्रममा सरकारी निर्देशनबिना नै टेलिग्राममाथिको प्रतिबन्ध समेत हटाइ दिएको देखिन्छ । एक आईएसपीका सञ्चालकले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णयका क्रममा टेलिग्राम समेत समेटिएको बुझाइका आधारमा खुलाइएको सुनाए । 

 

पछिल्लो अध्यावधिक: असोज २७, २०८२ २०:९