close

आजदेखि विन्डोज १० बन्द, विन्डोज ११ अपग्रेड गर्न पनि नमिल्ने पीसीको सङ्ख्या २० करोडभन्दा बढी

टेकपाना टेकपाना

असोज २८, २०८२ ११:३८

आजदेखि विन्डोज १० बन्द, विन्डोज ११ अपग्रेड गर्न पनि नमिल्ने पीसीको सङ्ख्या २० करोडभन्दा बढी

काठमाडौँ । माइक्रोसफ्टले आजदेखि विन्डोज १० लाई समाप्त गर्दैछ । लामो समयदेखि पर्खिएको अन्तिम-मिति १४ अक्टोबर, आज नै हो ।

अब उपरान्त विन्डोज १० चलाउने कम्प्युटरहरूलाई माइक्रोसफ्टले कुनै पनि प्राविधिक सहयोग, फिचर अपडेटहरू वा सुरक्षा अपडेटहरू उपलब्ध गराउने छैन ।

यदि तपाईँ अझै पनि आफ्नो पीसीमा विन्डोज १० चलाइरहनु भएको छ भने आजको दिनबाट तपाईँ नयाँ परिस्थितिमा प्रवेश गर्नु पर्नेछ । जसमा तपाईँको पीसी योग्य छ र तपाईँले पहिले नै अपग्रेड गर्नुभएको छैन भने तपाईँ विन्डोज ११ मा अपग्रेड गर्न सक्नुहुन्छ ।

यदि तपाईँको पीसीले विन्डोज ११ को लागि न्यूनतम सिस्टम रिक्वायरमेन्ट (आवश्यकताहरू) पूरा गर्छ र सिधै विन्डोज ११ मा अपग्रेड गर्न योग्य छ भने पक्कै पनि तपाईँले पहिले नै अपग्रेडको सूचना प्राप्त गरिसक्नुभएको हुन सक्छ । विन्डोज १० संस्करण 22H2 चलाइरहेका र न्यूनतम हार्डवेयर स्पेसिफिकेसन पूरा गर्ने पीसीहरू मात्र नि:शुल्क अपग्रेड गर्न सक्षम हुनेछन् । तपाईँले कम्प्युटरमा Start > Settings > Update & Security > Windows Update मा गएर Check for updates चयन गरेपछि आफ्नो पीसी नि:शुल्क अपग्रेडको लागि योग्य छ कि छैन भनी जाँच गर्न सक्नु हुनेछ । 

अर्को भनेको तपाईँले यदि पहिले नै गर्नुभएको छैन भने, विन्डोज १० सुरक्षा अपडेटका लागि निःशुल्क ईएसयू (एक्स्टेन्डेड सेक्युरिटी अपडेट्स) मा रजिस्टर हुन सक्नुहुन्छ । जसले तपाईँको डिभाइसलाई अबको एक वर्षसम्म सुरक्षा दिन सक्छ । 

यदि यी दुई विकल्प अपनाउनु हुन्न भने तपाईँ विन्डोज सपोर्टबाट बाहिरिएपछि जोखिममा परेको पीसी चलाउनेमा पर्नु हुनेछ । अर्को विकल्पको रूपमा तपाईँ क्रोम ओएसमा जाने विषयमा पनि सोच्न सक्नु हुनेछ । 

आजबाट के बन्द भयो ?

१४ अक्टोबरपछि विन्डोज १० चलाउने कम्प्युटरहरूले काम गर्न जारी राख्नेछन् । तर माइक्रोसफ्टले कुनै पनि समस्याको लागि प्राविधिक सपोर्ट दिने छैन, सफ्टवेयर तथा सेक्युरिटी अपडेट वा त्रुटिका लागि फिक्सेस आउने छैन ।

निरन्तर सफ्टवेयर र सुरक्षा अपडेट नआउँदा तपाईँको पीसी भाइरस र मालवेयरका लागि उच्च जोखिममा हुनेछ । माइक्रोसफ्टको ग्राहक सेवा अब विन्डोज १० का लागि प्राविधिक सहयोग प्रदान गर्ने छैन ।

विन्डोज १० को सपोर्ट समाप्त भएसँगै विन्डोज १० मा माइक्रोसफ्ट ३६५ एपको सपोर्ट पनि समाप्त हुनेछ । यस बाहेक अफिस २०१६ र अफिस २०१९ को सपोर्ट पनि प्राप्त हुने छैन । अफिस २०२४ र अफिस २०२१ विन्डोज १० मा चल्ने पनि पनि तिनीहरूलाई कम्पनीले अब उपरान्त सपोर्ट दिने छैन । अफिस २०२१ र अफिस एलटीएससी २०२१ को सपोर्ट एक वर्ष पछि अक्टोबर, २०२६ मा समाप्त हुनेछ ।

यसबाट कम्तीमा २० करोड पीसीहरू माइक्रोसफ्टको हार्डवेयर आवश्यकता तथा मापदण्डका कारणले गर्दा विन्डोज ११ मा अपग्रेड गर्न नसक्ने अवस्थामा रहेको अनुमान छ । माइक्रोसफ्टको पहिलो सल्लाह भनेको आफ्नो पुरानो पीसीलाई रिसाइकल गर्नु र नयाँ पीसीमा अपग्रेड गर्नु नै हो । 

डेटा जोगाउन सल्लाह

तपाईँले माथिका कुनै पनि विकल्प रोज्नु भए पनि आफ्नो पीसीको सबै डेटाको बाह्य ब्याकअप (external backup) बनाउनु बुद्धिमानी हुनेछ । सफ्टवेयर वा पीसी आफैँ अपग्रेड गर्दा पनि डेटा गुम्ने जोखिम सधैँ रहन्छ ।

यदि तपाईँसँग समय वा डिस्क स्पेस छैन भने कम्तीमा आफ्ना फाइलहरूको ब्याकअप गर्नुहोस् र तपाईँका मुख्य प्लेटफर्म, एपहरू र सेवाहरू क्लाउडमा सिंक (sync) भएको सुनिश्चित गर्नुहोस् ।

यदि तपाईँ आफ्नो डिभाइस नै दान दिने वा बिक्री गर्ने बाटो रोज्नुहुन्छ भने, ब्याकअप मात्र होइन, आफ्नो डेटा उपकरणसँगै नजाओस् भनेर विन्डोज १० को आफ्नै डिस्क इरेज विकल्प (disk erase option) प्रयोग गर्नुपर्छ ।

माइक्रोसफ्टले १४ अक्टोबर अगाडि गरेका कयौँ चेतावनीहरूमा साइबर जोखिमहरू प्रमुख रूपमा प्रस्तुत गरिएका छन् र ती जोखिमहरू धेरै हदसम्म वास्तविक पनि छन् ।

यदि आजदेखि लाखौँ पीसीहरू साँच्चै सपोर्टबाट बाहिरिए भने यो ह्याकरहरूका लागि रातो अक्षरको दिन हुनेछ । यस अवस्थामा तपाईँले यो चेतावनीलाई गम्भीर रूपमा लिन आवश्यक छ ।

 

पछिल्लो अध्यावधिक: असोज २८, २०८२ ११:३८