अब एकै ट्यापमा एआईले कुनै पनि वेबपेजकफो सारांश तयार पारिदिने, यस्तो छ प्रयोग गर्ने तरिका
असोज २८, २०८२ १३:२८
काठमाडौँ । अब एआईले एकै ट्यापमा कुनै पनि वेबपेजको सारांश तयार पारिदिने भएको छ । गुगलले आफ्नो लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल जेमनाईको सहयोगमा यस्तो सुविधा ल्याएको हो ।
यसका लागि जेमनाईको डेडिकेटेड एपमा जानु नपर्ने गरी सिधै क्रोम ब्राउजरभित्र कुनै पनि वेबपेजको सारांश तत्काल उपलब्ध गराउन सक्ने सुविधा ल्याइएको छ । यो सुविधालाई 'एकै ट्यापमा' पहुँच गर्न सकिने गरी रोल आउट गरिएको छ ।
नयाँ सुविधाको प्रयोग कसरी गर्ने ?
यो नयाँ शर्टकट सुविधाले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई जेमनाईको सारांश निकाल्ने फिचरलाई पहिलेको भन्दा धेरै छिटो पहुँच गर्न सघाउनेछ ।
यसका लागि कुनै पनि वेबपेजमा रहेको बेला 'हे गुगल' भनेर जेमनाईलाई बोलाउँदा वा पावर बटनलाई केही बेर थिच्नुपर्ने हुन्छ । त्यसपछि जेमनाई ओभरले खुल्छ र त्यसमा रहेको 'Summarize page' नामक विकल्पमा ट्याप गर्नुहोस् ।
यति गरेपछि स्क्रिनमा रातो, पहेँलो, हरियो र निलो रङ्गका तरङ्गहरू देखिनेछन्, र त्यसपछि सारांश तयार हुनेछ । सारांश एउटा फ्लोटिङ विन्डोमा देखिनेछ, जसलाई विस्तार गरेर प्रयोगकर्ताले थप प्रश्नहरू पनि सोध्न सक्छन् ।
यसअघि कुनै पेजको सारांश पाउनको लागि प्रयोगकर्ताले यूआरएल कपी गरेर जेमनाई एपमा गएर पेस्ट गर्नुपर्थ्यो । यो नयाँ सुविधाका कारण त्यो कष्ट र झन्झट अब हटेको छ ।
परीक्षणपछि यो सुविधा इन्टरनेटमा प्रायः सबै वेबसाइटहरूमा देखा परेको छ । जुन एन्ड्रोइड डिभाइसमा मात्र नभएर आईओएस डिभाइसमा पनि उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १३:२८
