close

जेन-जी आन्दोलनमा नष्ट भएपछि ईभी सहित ८५ थान नयाँ सवारीसाधन खरिद गर्दै प्रहरी

टेकपाना टेकपाना

असोज ३०, २०८२ ११:१२

जेन-जी आन्दोलनमा नष्ट भएपछि ईभी सहित ८५ थान नयाँ सवारीसाधन खरिद गर्दै प्रहरी

काठमाडौँ । २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा सयौँ सवारीसाधन नष्ट भएपछि नेपाल प्रहरीले नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । प्रहरीले विद्युतीयसँगै पेट्रोलबाट चल्ने पिकअप गाडी खरिद प्रक्रिया अघि बढाएको हो । 

प्रहरीले कूल ८५ थान सवारीसाधन खरिदका लागि बिहीबार ठेक्का आह्वान गरेको छ । जसमध्ये ७५ थान पेट्रोलबाट चल्ने पिकअप र बाँकी १० थान विद्युतीय इस्कर्ट पिकअप भेहिकल छन् । 

१४ कात्तिक भित्र इच्छुक सवारीसाधन विक्रेताले प्रस्ताव पेस गर्नुपर्नेछ । जेन-जी आन्दोलनको पहिलो दिन प्रहरीको गोली लागेर १९ जना युवा विद्यार्थीको मृत्यु भएपछि आक्रोशित भीडको मुख्य तारो प्रहरी चौकी र सवारीसाधन बनेका थिए । 

आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिसकेको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सुरक्षा अवस्थालाई चुस्त बनाउन प्रहरीसँग सवारीसाधन अपुग हुने भएपछि खरिद प्रक्रिया अघि बढाइएको हो । 

निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन गर्न प्रहरीका लागि छिटोभन्दा छिटो आवश्यक सामग्री खरिदका लागि बजेट विनियोजन गरिदिन आग्रह गर्दै आएको छ । 

निर्वाचनलाई नै लक्षित गर्दै प्रहरीले 'विशेष परिस्थिति' भन्दै सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ ।   

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ ११:१२